२० लाख पयर्टक कसरी पुर्‍याउने ? शिवरात्रीमा आउने जोगीसमेत गन्ने हो ?

 पुस ९, २०७५ सोमबार १०:४९:१६ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

कास्की – सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष (भिजिट नेपाल २०२०) का रुपमा मनाउने तयारी गरेको छ । 

सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सन् २०१८ को ११ महिनामा मात्रै १० लाखभन्दा बढी पर्यटक भित्रिएपछि सरकार पनि हौसिएको छ । पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । तर गम्भीर कुराचाहिँ नेपाल आउने पर्यटकले कति खर्च गर्छन् भन्ने कुरा पनि रहेको छ । नेपाल आउने पर्यटकले सरदर ४२ अमेरिकी डलर प्रतिदिन खर्च गर्ने गरेको तथ्यांक रहेको छ । त्यसलाई ६२ डलरसम्म पुर्‍याउने सरकारको योजना रहेको छ । त्यसका लागि पूर्वाधार निर्माणका काम गर्नुपर्ने देखिन्छ । 

शनिबारदेखि पोखरामा सुरु भएको सातौँ नेपाल साहित्य महोत्सवका अवसरमा आइतबार ‘भिजिट नेपाल २०२०’ मा केन्द्रित भएर ‘किन घुम्ने नेपाल ?’ सत्रको आयोजना भएको थियो । जसमा सहभागी हुनुहुन्थ्यो, संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य र पर्यटन व्यवसायी आङछिरिङ शेर्पा । सत्रलाई संयोजन गर्नुभएको थियो पत्रकार सुजित महतले । 

छलफलका क्रममा नेपालमा कसरी २० लाख पर्यटक भित्र्याउने भन्नेबारेलगायत पयर्टकलाई आकर्षित गर्न आवश्यक पूर्वाधार निर्माणका बारेमा पनि छलफल भएको थियो । छलफलमा मन्त्री अधिकारीले आफूले विश्वका २६, २७ वटा देश घुमेको बताउँदै नेपाल हरेक किसिमले सुन्दर रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा भएको प्राकृतिक सौन्दर्यता विश्वका अन्य देशमा विरलै पाइन्छ ।  विदेशमा पर्यटकीय क्षेत्र भनेर प्रवद्र्धन गरिएका कतिपय ठाउँ हेर्दा यस्तो पनि घुम्ने ठाउँ हुन्छ भन्ने जस्तो लाग्छ ।  नेपालमा त ‘लाइफटाइम एक्सपेरियन्स’ गर्ने थुप्रै ठाउँहरु छन् । साहसिक पर्यटनका लागि नेपाल विश्वमै उदाहरणीय छ ।’

काठमाडौं सहरमा मात्रै विश्व सम्पदा सूचीमा परेका ७ वटा ठाउँ रहेको भन्दै नेपाल साँच्चिकै घुम्नलायक देश रहेको मन्त्री अधिकारीले बताउनुभयो ।

भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यले नेपालको प्राकृतिक सुन्दरता र यहाँका मानिस नै पर्यटन आगमनको पहिलो कारक तत्व भएको बताउनुभयो । पोखराको लेकसाइडमा भएको महोत्सवस्थलको उदाहरण दिँदै वैद्यले भन्नुभयो, ‘सिंगापुरले यस्तै ठाउँ बनाउन चाहने हो भने पनि अग्ला अग्ला भवन बनाउनुपर्छ । हाम्रोमा त यसै यति धेरै सुन्दर ठाउँ रहेका छन् ।’

त्यस्तै पयर्टन व्यवसायी आङछिरिङ शेर्पाले नयाँ नयाँ ठाउँको खोजीमा रहेका पर्यटकका लागि नेपाल विश्वमै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले चाँदीजस्तै टल्किने सेता हाम्रा हिमशृङ्खला र सांस्कृतिक सम्पदा नै पयर्टकको आकर्षणको केन्द्र भएको बताउनुभयो । उहाँले पर्यटकलाई आकर्षण गर्न नेपालमा अझै प्रशस्त पूर्वाधार नभएको गुनासो गर्नुभयो । घुम्न जाने ठाउँमा सेवा सुविधा कस्तो छ भन्ने कुराले पनि पर्यटनलाई प्रभाव पार्ने बताउँदै शेर्पाले नेपालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण पहिलो आवश्यकता रहेको बताउनुभयो ।

शेर्पाले नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सको विकास नगरेसम्म नेपालमा पर्यटन भित्र्याउन कठिन हुने बताउनुभयो । त्यस्तै देशको पर्यटन नीति पर्यटकमैत्री, पर्यटन व्यवसायीमैत्री र श्रमिकमैत्री हुनुपर्नेमा शेर्पाले जोड दिनुभयो ।

पर्यटन मन्त्री अधिकारीले नेपालमा नयाँ नयाँ पयर्टकीय गन्तव्यको विकास भैरहेको बताउनुभयो ।

शिवरात्रीमा जोगी भित्र्याएर हो २० लाख पर्यटक पुग्ने ?

पत्रकार सुजित महतले सोधेको पूर्वाधारबिना कसरी २० लाख पर्यटक भित्र्याउने भन्ने प्रश्नमा भ्रमण वर्षका संयोजक सुरज वैद्यले संख्याको समस्या रहँदै नरहेको बताउनुभयो ।  के शिवरात्रीमा आएका जोगीसमेत जोडेर हो २० लाख पर्यटक पुग्ने भन्ने प्रश्नमा वैद्यले भन्नुभयो, ‘जबसम्म हामीले हाम्रो देशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदैनौँ । तबसम्म केही परिवर्तन हुँदैन । 

नेपालमा सबैथोक छ भन्ने कुराको आभाष जबसम्म हामीमा हुँदैन तबसम्म केही हुँदैन । अफगानिस्तान, पाकिस्तानभन्दा नेपाल धेरै अगाडि छ । चाहे जोगी आए पनि, फाइभस्टार होटलमा बस्ने पर्यटक आए पनि पर्यटक पर्यटक नै हुन् ।’ वैद्यले २०२० मा २० लाखभन्दा बढी पर्यटक आउने ठोकुवासमेत गर्नुभयो । उहाँले अब २० लाख पर्यटक आइसके भन्ने सोचेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

फेक रेस्क्युदेखि विमान खरिदको अनियमिततासम्म

साहित्य महोत्सवमा पछिल्लो समय नेपालमा भएको नक्कली उद्धारदेखि वाइडबडी जहाजमा भएको अनियमिततासम्मको चर्चासमेत भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नक्कली उद्धार गरेर नेपालको पर्यटन क्षेत्रलाई बदनाम बनाउनेहरु कारबाहीको दायरामा आइसकेको बताउनुभयो । अन्तर्राष्ट्रिय समुदायले समेत नेपाल सरकारले त्यस्ता व्यवसायीलाई कारबाही गरिसकेको थाहा पाएको बताउँदै मन्त्री अधिकारीले कारबाही हुने डरले व्यवसाय नै परिवर्तन गरेर बसेकालाई समेत नछाडिने बताउनुभयो । 

त्यस्तै वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भए कोही पनि नछुट्ने बताउनुभयो । उहाँले  पूर्ववर्ती सरकारकै पालामा जहाज खरिद प्रक्रियाको डिल भएको बताउँदै सम्बन्धित निकायले यसमाथि छानबिन गरिरहेको बताउनुभयो । मन्त्री अधिकारीले कुनै न कुनै बहानामा नेपाल एयरलाइन्सलाई रोक्नु भनेको नेपालको पर्यटन र नेपालकै विकासलाई रोक्ने काम भएको दावी गर्नुभयो । आफूहरुले चाँडै नै ६ वटा जहाज ल्याउन लागेको बताउँदै छिट्टै युरोपमा समेत उडान गर्ने तयारी गरेको मन्त्री अधिकारीले बताउनुभयो । चाँडै नै चीन र जापानमा नेपालका जहाज उड्ने बताउँदै त्यसले नेपाल भित्रिने पर्यटकको संख्यामा समेत वृद्धि गराउने मन्त्री अधिकारीले बताउनुभयो । संसारका धेरै देशमा नेपालको ध्वजावाहक जहाज उड्ने दिनसमेत आउने मन्त्री अधिकारीले दावी गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया