सुदूरपश्चिम विश्वविद्यालय आन्दोलनः प्राध्यापकद्वारा कालो पट्टी बाँधेर पठनपाठन

 पुस ९, २०७५ सोमबार ११:३९:४८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कर्मचारी भर्ना विषयमा भएको असन्तुष्टि बढ्दै गएको छ । क्याम्पस प्रमुखले मनोमानी तरिकाले कर्मचारी राखेको भन्दै विद्यार्थीले सुरु गरेको आन्दोलनमा अभिभावक, प्राध्यापकलगायत सबैले समर्थन गरेका छन् ।

प्रक्रिया मिचेर गरिएको कर्मचारी भर्नाविरुद्ध एकत्रित भएका सुदूरपश्चिम विश्वविद्यालयका आन्दोलनरत प्रााध्यापकले विरोध स्वरुप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले विरोध स्वरुप दोस्रो दिन सोमबार हातमा कालो पट्टी बाँधेर पठनपाठन गरेका छन् । 

आन्दोलनको कार्यक्रम अन्तर्गत प्राध्यापकहरुले सोमबार हातमा कालो पट्टी बाधेर पठनपाठन गर्ने, सोमबार दिउँसो पत्रकार सम्मलेन गर्ने, मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउने सार्थ कुलपति र उपकुलपतिलाई समेत ज्ञापन पत्र पठाउने जनाएका छन् । यस्तै, बिहिबार जिल्लास्थित सभासद्, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधी, बुद्धिजीवि, अभिभावक लगायतको उपस्थितिमा खुला बहस तथा अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरेका छन् । 

क्याम्पस प्रमुखले प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेकाले त्यस्तो निणर्य बदर नभएसम्म आफूहरुले दवाबमूलक आन्दोलन जारी राख्ने प्राध्यापक संघका सचिव देवसिंह नाथले बताउनुभयो ।

उहाँले पठनपाठन नै बन्द गरेर आन्दोलन गर्दा विद्यार्थीलाई मर्का पर्ने भएकाले आफूहरु शान्तिपूर्ण तरिकाले विरोधमा उत्रिएको बताउनुभयो । ‘विद्यार्थी, अभिभावक, बुद्धिजीविको यो आन्दोलनमा हाम्रो पनि समर्थन छ’, उहाँले भन्नुभयो ‘प्राध्यापकका नाताले हामीले पनि विकृति र विसंगतिका विरुद्ध आवाज उठाउनै पर्छ ।’

उहाँले आफूहरुको माग तत्काललाई पुरानो निर्णय खारेज गरे नयाँ आवदेन खोल्नु पर्ने रहेको बताउनुभयो । ‘यो क्याम्पसमा लाखौ विद्यार्थी अध्ययनरत छन् । उनीहरुले पनि सहभागी हुने मौका पाउनुपर्छ’, उहाँले प्रश्न गर्दै भन्नुभयो ‘यसरी आफू खुशी कर्मचारी राख्ने हो भने यि विद्यार्थीले कसरी मौका पाउछन् ?’ 
क्याम्पसमा भइरहेको विकृति विसंगतिकाविरुद्ध आमनागरिक र विद्यार्थीले उठाएको विरोधमा आफूहरुको पनि समर्थन रहेको प्राध्यापकहरुको भनाई छ । यता, कर्मचारी भर्नाकै विषयमा असन्तुष्टि जनाउँदै चार विद्यार्थी संगठन र इन्टीग्रेटी फोरमको आन्दोलन पनि जारी छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया