श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

 पुस ९, २०७५ सोमबार १५:३१:४३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – दुई हप्ताअघि अर्घाखाँचीको डिभर्नामा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको  आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक जनालाई पक्राउ गरेको छ ।

सन्धिखर्क ११, डिभर्ना अमिलेकी मिना सेजवाललाई श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटपछि टाउकोमा रगत जमेर ज्यान गएको भन्दै मृतक मिनाकी दिदी कमला भुसालले किटानी जाहेरी दिएपछि प्रहरीले कृष्णबहादुरलाई पक्राउ गरेको हो । मृतक मिनाको गएको मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो ।

कमलाले दिएको जाहेरीको आधारमा आरोपित कृष्णबहादुर सेजवाललाई गएराति नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । दिदीलाई वर्षैदेखि  कुटपिट गर्दै आएको र कुटपिटबाटै दिदीको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन । दोषीलाई कानुनी कारबाही हुनु पर्ने माइतीपक्षले माग छ ।

दुई जनाबीच पहिलेदेखि नै पटक–पटक झगडा हुँदै आएको र गाउँलेहरु बसेर मेलमिलाप गराउने गरेको स्थानीयवासीले बताएका छन । शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेपछि अन्तिम दाह संस्कार पनि गरिसकिएको छ ।

घटनामा वडा अध्यक्षको संलग्नता रहेको भन्दै  स्टाटस लेख्ने  एक युवा पक्राउ

घटनाका दोषीलाई राजनीतिक दल तथा वडा अध्यक्ष धु्रब आचार्यको संरक्षण रहेकोे भनेर सामाजिक सञ्जालमा लेखेको भन्दै अर्घाखाँचीका एक युवा काठमाडौंबाट पक्राउ परेका छन् ।

वडा अध्यक्ष धुर्ब आचार्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आफू त्यो घटनाको विषयमा अनभिज्ञ भएको तर आफ्नो नाम र पद समेत जोडेर सचिन पाण्डेले सामाजिक संजालमा राजनीति संरक्षण र वडा अध्यक्षबाट आरोपितलाई संरक्षण गरेको भन्दै प्रसारण गरेकोले आफ्नो मानहानी भएको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो ।

वडा अध्यक्ष आचार्यले दिएको जाहेरीको  आधारमा अर्घाखाँची जिल्ला छत्रदेव ८ अर्घातोषका सचिन पाण्डेलाई  काठमाडौंबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताउनुभयो ।

डिभर्नामा शिक्षकको कुटपिटबाट श्रीमतीको मृत्यु, राजनीतिक दलदेखि वडा अध्यक्षले खुलेरै बचाउ गरेको भन्ने समाचार तथा स्टाटसहरु पाण्डेले आफ्नो फेसबुकमा राखेको तथा शेयर गरेको वडा अध्यक्ष आचार्यको आरोप छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया