रातभरमा खरानी भयो बस्ती

 पुस १०, २०७५ मंगलबार १४:३६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

कालिकोट – ‘आगो लाग्यो, घर जल्यो, लौन बचाउ ।’ आवाज चर्किन थाल्यो । म सुतिरहेकै थिएँ । हतार–हतार बाहिर निस्किएँ । आगो तीनओटा घरमा सल्किसकेको थियो । गाउँका सबैलाई बोलाएँ । ‘आगो लाग्यो सबै बाहिर भाग ।’

घरहरु एकअर्कासँग जोडिएका थिए । बाक्लो बस्ती थियो । सबै घरका मानिसहरु बाहिर निस्किए । यहाँका केही घरका मानिसहरु पहाड र तराई दुबै ठाउँ बस्ने गर्छन् । एक दुई घरका मान्छे यहाँ थिएनन् । वर्षामा उब्जाउ हुने अन्न धनमाल भाडा कुँडा सबै घरमै छोडेर तराइ गएका थिए । त्यो सबै जल्यो । 

आगो राती २ बजे नवीन न्यौपानेको घरको माथिल्लो पाखाबाट सुरु भएको रहेछ । भागो भान्साबाट फैलिएको देखिँदैन । आगो कसरी लाग्यो ? भन्ने हामी अहिलेसम्म पनि अन्यौलमा छौँ । यो गाउँमा जाँड रक्सी बनाउन र खान बन्द छ । राति कसैले लुकेर जाँड रक्सी खाएर हिँड्दा जलाएको चुरोटको ठुटो फालेर आगो लागेको अनुमान गरेका छौँ । 

घर जल्न थालेपछि सबै मान्छे बाहिर आएपछि हामीले घरमा भएको खानेपानी ल्याउँदै आगो निभाउने प्रयास गर्यौँ । यो गाउँका पर्याप्त मात्रामा पानी छैन । हामीले आगो नियन्त्रणमा लिन सकेनौँ । नजिकै रहेका लार्फ, भाटगाउँ, मिजुवाडा, बान्जाडा समूदायका मानिसहरु पनि पानीको पाइप लिएर आगो निभाउन आइपुगे । हामी सबै भएर आगो निभाउन प्रयत्न गर्यौँ । 

मैले सबैभन्दा पहिले मुख्य मन्त्रीलाई फोन गरेको थिएँ । फोन लागेन । त्यसपछि प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावतको फोन लाग्यो मैले आगलागी भएको खबर सुनाएँ । पचाल झरनाको जारकोटमा रहेको प्रहरीलाई फोन लाग्यो त्यहाँ पनि भनेँ । सबैतिर खबर गर्दा १० घर भन्दा बढी जलि सकेका थिए । तर हामीले आगो नियन्त्रणमा लिन सकेका थिएनौँ । 

बिहान ५ बजे तिर प्रहरीको टोली आइपुगे । त्यसपछि नेपाली सेनाको टोली पनि आयो । त्यसको केहीबेरमा पलाँता विकास निर्माण कार्यदल पुग्यो । धेरै ठूलो संख्यामा उद्दारकर्ता थपिएपछि हामीले बिहान १० बजे आगो नियन्त्रणमा लियौँ । पर्याप्तमात्रामा पानी भएको भएको भए राती नै आगो नियन्त्रण गर्न सकिन्थ्यो होला ।

यो बस्तीमा यसअघि पनि दुईपटक आगलागी भैसकेको छ । हामीले आगो नियन्त्रणमा लिँदासम्म ८७ घर जलिसकेका थिए । मानवीय क्षती भने भएन । अन्य भाँडा, धनमाल सबै नष्ट भयो । मैले वडा नम्बर १ कातर्फबाट मुख्य मन्त्रीलाई खरको छानामुक्त गाउँ बनाइदिन अनुरोध गरेको छु । वडा समितिले तत्काल १ लाख राहत प्रदान गर्ने भएको छ । खाडा बस्ती आगलागीपछि राहत र पुनःनिर्माणका कार्य गर्नु पर्ने देखिन्छ । 

तत्काल अस्थायी शौचालय, स्कुले बिद्यार्थीका लागि पोशाक कापी, किताब, खानेबस्नेस्थान लगायतका कार्य गर्नु पर्ने देखिन्छ । सबैबाट सहयोग भयो भने यहाँका सबै छाना जस्तापाताले छाउने सोच राखेका छौँ । यो भयो भने आउँदा दिनहरुमा धेरै ठूलो क्षती हुँदैन कि भन्ने हाम्रो अपेक्षा छ । 

आइतबार बेलुका २ बजे आगलागी भयो । सोमबार दिउँसो २ बजे कर्णाली प्रदेश मुख्य मन्त्री महेन्द्रबहादुर शाही राहत सामाग्री ल्याएर खाडा बस्ती पुग्नुभाये । मन्त्रीले बस्ती पुनः निर्माण गर्ने कुरा गाउँलेलाई सुनाउनुभएको छ । प्रति घरधुरी २० हजारका दर तत्काल राहत उपलब्ध गराउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चामल, लगाउने कपडा, त्रिपाल, ओड्ने ओछ्याउने कपडा स्थानीय सरकार र प्रदेश सरकारबाट आएको छ । 

थप विभिन्न संघ संस्थाबाट राहत जुट्दै छ । हामी ब्यवस्थित तवरले सबैलाई पुग्ने गरी राहत वितरण गर्ने तयारीमा छौँ । यो सबै पहल गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गर्नु भएको छ । सबैभन्दा छिटो सरकारको उपस्थिति देखियो यो पहिलो घटना हो । यहाँ १ सय ६९ घरधुरी छन् । पाखो बारी र भिरालो सिंचाई नहुने जमिन भएकाले यहाँ हिउँदे बाली राम्रो हुँदैन ।

धाराबाट खानेपानी ल्याउन एकघण्टा लाग्छ । यहाँका लागि सदरमुकाम तथा बाहिरबाट आउने राहत सामाग्री ढुवानीमा धेरै खर्च हुने देखिन्छ । यो पलाँताको विकट बस्ती हो । गाडी आउने ठाउँबाट ५ घण्टा उकालो हिँडेपछि यहाँ पुगिन्छ । 

– कालिकोटको पलाँता गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर भण्डारीसँगगको कुराकानीमा आधारित

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया