खेल आर्थिक विकासको आधार हो: मुख्यमन्त्री शाही

 पुस १०, २०७५ मंगलबार १८:५९:३८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलकुद स्वास्थ्य, मनोञ्जन र प्रतिस्पर्धाका लागि मात्र नभई आर्थिक विकासको समेत आधार रहेको बताउनुभएको छ । 

खेललाई आर्थिक विकासका लागि प्रयोग गर्नुपर्नेमा जोड दिदै उहाँले निजि क्षेत्रबाट हुने खेलकुदका कार्यक्रममा सहकार्य गर्न सरकार तयार रहेको समेत बताउनु भएको छ । 

जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको खेलकुद विकासका लागि प्रदेश सरकारले वातावरण बनाइरहेको जनाउनुभयो । 

कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पु¥याउने र जिल्लालाई क्रिकेटका माध्यमबाट चिनाउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता पुस १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा कर्णाली प्रदेशका ७ जिल्लाको सहभागिता रहेको जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक रुकुमसहित, सुर्खेत, जाजरकोट, सल्यान, जुम्ला र कालिकोटको सहभागिता जनाएका छन् । 

सहभागी जिल्लालाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ । समूह ए मा आयोजक रुकुम सहित डोल्पा, सल्यान र कालिकोट रहेका छन् भने समुह बी मा जाजरकोट, सुर्खेत र जुम्ला रहेका छन् ।

दुई समूहका विजेता र उपविजेता सेमिफाइनलामा पुग्नेछन् । यो सेवा सुविधा र पुरस्कार राशिका हिसाबले कर्णाली प्रदेशमा आयोजना हुने ठूला प्रतियोगितामध्यकै भएको जिल्ला क्रिकेट संघले जनाएको छ । 

प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले नगद ६० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । 

यसका साथै खेलका म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान, इमर्जिङ प्लेयर र लोकल इमर्जिङ प्लेयरको उपाधि पनि दिइने बताइएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया