जापानमा काम गर्न चाहने नेपालीलाई बाटो खुल्यो

 पुस ११, २०७५ बुधबार ७:४७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - जापानमा गएर काम गर्न चाहने नेपालीका लागि बाटो खुला भएको छ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएपछि जापानको श्रम बजारमा नेपालीलाई अवसर मिल्ने भएको हो ।

केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । 

जापानको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विदेशी कामदारसम्बन्धी एक सय २६ बुँदे नीति पारित गर्दै नेपालीसहित ११ देशबाट कामदार लैजाने निर्णय गरेको हो ।

नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने जापानी अखवार द जापान टाइम्सले जनाएको छ । 

कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपाली, चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने समाचारमा उल्लेख छ । 

जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार एक सय ५० कामदारलाई जापान लैजाने नीति छ । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिने भन्ने टुंगो लागेको छैन ।

अर्को महिना जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली कामदारलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अघि बढ्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले जनाएको छ । त्यही बैठकले संख्याको समेत टुंगो लगाउनेछ । 

जापान सरकारको नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ ।

सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ । 

जापानको नयाँ नीतिअनुसार १८ वर्षभन्दा माथिका कामदारहरू रोजगारीका लागि योग्य हुने छन् । अब उच्चदक्षता भएकाहरू परिवारसहित जान पाउनेछन् र उनीहरूको भिसा थपिरहन मिल्नेछ।

अहिलेसम्म नेपाली कामदारले जापानमा प्रशिक्षणका हैसियतमा मात्र काम गर्दै आएका छन् । कतिपय विद्यार्थी र पर्यटक भिसामा पुगेकाहरुले पनि काम गरिरहेका छन् । अरु गन्तव्य देशको तुलनामा जापानमा पारिश्रमिक राम्रो छ । 

नेपाल र जापानबीच यसअघि नै श्रम सम्झौता भैसकेको छ । अहिले नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब ८७ प्रतिशत खाडी र मलेसियामा छन् । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया