वडा कार्यालयबाटै स्वास्थ्य सेवा

 पुस ११, २०७५ बुधबार १२:३७:२७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सरकारको उपस्थिति घरदैलोमै देखाउन जनप्रतिनिधिहरु असफल रहेको गुनासो बढिरहेको बेला रुकुमका जनप्रतिनिधिहरु घरदैलो सेवामा सक्रिय भएका छन् ।

नेपाल सरकारले अघि सारेको एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पहिलो पटक वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ ।

नगरपालिकाको वडा नम्बर १० मा वडा स्वास्थ्य चौकी स्थापना गरिएको हो । ग्रामीण बस्तीमा पनि सजिलै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले वडा वडामा स्वास्थ्य चौकी स्थापना गर्न थालिएको नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो । उहाँका अनुसार अब नागरिकले वडा कार्यालयबाट स्वास्थ्य सेवा पनि उपलब्ध गराइने छ ।

सामान्य रुघा खोकी र ज्वरो आउँदा समेत सदरमुकाम खलंगाजानुपर्ने बाध्यतालाई हटाउन वडाबाट स्वास्थ्य सेवा दिन थालिएको वडा अध्यक्ष गोप्यश्वर केसीले बताउनुभयो । अहिलेलाई उक्त स्वास्थ्य चौकीमा अहेब, अनमीको व्यवस्था गरिएको वडाअध्यक्ष केसीले जनाउनुभयो ।

अहिले वडा कार्यालयकै भवनमा स्वास्थ्य चौकी सञ्चालन गरिएको र यसैवर्ष नगरपालिकाबाट विनियोजित रकमबाट स्वास्थ्य चौकीको भवन बनाइने वडा नम्बर १० का सदस्य बसन्त खड्काले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाबाट छुट्याइएको बजेटबाटै औषधि तथा जनशक्ति व्यवस्थापन हुनेछ । स्वास्थ्य औजार, फर्निचर तथा व्यवस्थापन वडा कार्यालयबाटै हुने बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया