बुटवल उपमहानगरपालिकाले तयार पार्‍याे विपद् तथा जलवायु उत्थानशील योजना

 पुस ११, २०७५ बुधबार १३:२१:३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – बुटवल उपमहानगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार गरेको छ ।

योजनामा विपद् जोखिम न्यूनिकरण तथा पूर्व तयारी , रोकथाम , अल्पिकरण र अनुकुलनका योजनाहरु समावेश गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, नागरिक समुदाय तथा प्रकोपको जोखिममा रहेका समुदायसँग ६ महिनासम्म प्रत्यक्ष र अप्रत्यक्ष छलफल तथा अन्र्तकृया गरी सम्भवत नेपाल मै पहिलो स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार पारिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी र संयुक्त राष्टसंघीय जनसंख्या कोष यूएनएफपीएको सहकार्यमा बुटवल उपमहानगरपालीकाले योजना तयार गरेको हो । योजना अनुसार बुटवलको विपद् व्यवस्थापनका लागि ४५ करोड ७८ लाख रुपैयाँ बराबरको बजेट अनुमान गरिएको उपमहानगरपालीकाले बताएको छ ।

उक्त रकम जनचेतना तथा क्षमता अभिबृद्धि , जोखिम न्यूनिकरण र आपतकालीन पूर्व तयारीको क्षेत्रमा खर्च गरिनेछ । स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण भएको र यसको सफल कार्यन्वयले मात्र लक्षित बर्गलाई सहयोग पुग्ने आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताउनुभयो ।

स्थानीय तहमा विपद् व्यवस्थापन योजना बन्नु सकारात्मक भएको भन्दै विपद् जोखिम न्यूनिकरण बिज्ञ बिष्णुप्रसाद खरेलले प्रकोपको आधारमा जोखिमको बर्गिकरण गरी योजना कार्यन्वयन गर्न सके अपेक्षित उपलब्धि प्राप्त हुने बताउनुभयो ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ ले तीन तहकै सरकारलाई विपद् जोखिम न्यूनिकरण गर्नका लागि आवश्यक भूमिकाको व्यवस्था गरेको छ । साथै ऐन, नीति तथा कार्यनीतिले विकासका विभिन्न क्षेत्रमा बिपद जोखिम न्यूनिकरणका सवाललाई एकीकृत रुपमा सम्बोधन गर्न कार्यादेश गरेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया