शेयर बजारमा उच्च अङ्कको वृद्धि

 पुस ११, २०७५ बुधबार १६:३०:५७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ बिन्दुले बढेर एक हजार २१६ दशमलव २७ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत बुधबार ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा बुधबार बजार २ दशमलव ५५ बिन्दुले बढेको छ । 

सरकारले गठन गरेको पूँजीबजार सम्बन्धी कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया शुरु भएका कारण शेयर बजारमा समेत उच्च अङ्कको वृद्धि भएको अनुमान गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदल गठन गर्नुभएको थियो । 

सो कार्यदलले केही दिन पहिले मात्रै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनको प्रक्रिया नेपाल राष्ट्र बैंकले अगाडि बढाएको छ । प्रतिवेदन कार्यान्वय प्रक्रिया शुरु भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव परेको बताइन्छ ।

स्टककाअनुसार आज कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर रु ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोवार भएका सबै उपसमूहको शेयर वृद्धि भएको छ ।

त्यसमा बैंकिङ १८ दशमलव ५४, व्यापार १३ दशमलव ६९, होटल ६५ दशमलव ६२, विकास बैंक २० दशमलव ६९, जलविद्युत् १९ दशमलव ३४, वित्त ८ दशमलव १२, निर्जीवन बीमा २४५ दशमलव शून्य ६, उत्पादन १९ दशमलव दुई, अन्य १५ दशमलव ८७, माइक्रोफाइनान्स ५० दशमलव २१, र जीवन बीमा ४४३ दशमलव ५ बिन्दुले उकालो लागेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया