फनबोर्ड खारेजीपछि कर्मचारीले तलब पाएनन्

 पुस ११, २०७५ बुधबार १७:५०:५ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुंगा– सरकारले खानेपानी तथा सरसफाई कोष विकास समिति (फनबोर्ड) खारेज गरेपछि फन बोर्डको आर्थिक सहयोगमा सञ्चालित ओखलढुंगाका चार आयोजनाका कर्मचारीले तलब पाएका छैनन् ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालित आयोजनामा कार्यरत प्राविधिक र अन्य गरी १२ जना कर्मचारीले तलब नपाएका हुन् । फन बोर्डको आर्थिक सहयोग र स्रोत व्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमरेक) को व्यवस्थापनमा ओखलढुंगामा चार आयोजना सञ्चालन भएका थिए ।

आयोजना तर्फको रकम खर्च भइ आयोजनाको काम सम्पन्न भए पनि कर्मचारीको दुई महिनाको तलब नआएको फन बोर्डका वास अधिकृत उत्तम गिरीले बताउनुभयो । गिरिले आयोजनाको मुख्य काम सकिएको र उपभोक्ताका घरमा लगिने खानेपानीका लाइन जडान तथा धारा निर्माणमा प्राविधिक सहयोगको केही काम बाँकी रहेको जानकारी दिनुभयो ।

फन बोर्डको सहयोगमा मोलुङ गाउँपालिका वडा नं. ४ को हर्कपुर, सुनकोशी गाउँपालिकाको वडा नम्बर १० स्थित कटुञ्जे, मोलुङकै वडा नम्बर २ स्थित ढुस्के र चिसंखुगढीको वडा नं. २ स्थित पोखरेमा एक÷एक गरी चार खानेपानी आयोजना संचालनमा थिए ।

ती आयोजनाबाट  ७ सय उपभोक्ता लाभान्वित भएका थिए । आयोजना बनेर ट्यांकीसम्म पानी आए पनि बोर्ड खारेज भएपछि व्यवस्थित रुपमा घरधुरी सम्म वितरण भने हुन सकेको छैन । २० प्रतिशत उपभोक्ताको लगानीमा घरघरै धारा पुर्याउने ती आयोजनाको लक्ष्य थियो । आयोजना ०७५ भदौमा सक्ने सम्झौता भए पनि खानेपानी मन्त्रालय र बोर्डका पदाधिकारीकाबीच विवाद भएपछि मन्त्रालयले ०७५ असार २० गते नै  बोर्ड खारेज गर्ने निर्णय गरेको थियो ।

खारेजीपछि ओखलढुंगाका १२ जना कर्मचारीले तलब पाएका छैनन् भने देशभरका ५७ जिल्लामा सयौं आयोजना अलपत्र परेका छन् । ती आयोजनाका कर्मचारीले समेत तलब नपाएपछि आन्दोलन गर्दै आएका छन् ।

आयोजना अलपत्र परेको र कर्मचारीले तलब नपाएको विषयमा फन बोर्डमा कार्यरत एक जना अधिकृत रोशन श्रेष्ठले बोर्ड नै खारेजी भएकाले केही हुन नसक्ने बताउनुभयो । बोर्ड पुनःस्थापना नभएसम्म आयोजना र कर्मचारीको भूक्तानी नहुने उहाँको भनाइ छ ।  


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया