रवि ओडकाे जीवनमा यस्ताे बज्रपात: खुशीको आँसु पुछ्न नपाउँदै पीडाको आँसुमा डुब्नुपर्‍याे

 पुस ११, २०७५ बुधबार १८:४८:५५ | निर्मला खडायत
unn.prixa.net

पुस ६ गतेको दिन रवि ओडको परिवारको लागि निकै खुशीको दिन थियो । वर्षौंदेखि गरिबी र बाध्यताले विदेसिएका रविका बुवा स्वदेश फर्किने योजना बुन्दै हुनुहुन्थ्यो । 

आधा जीवन झुपडीमा बिताउनुभएकी रविकी आमा विष्णा निकै खुशी हुँदै भनिरहुनु भएको थियो, ‘रविले आइडल जित्यो । अब नयाँ घरमा बस्न पाइन्छ । अब हाम्रा खुशीका दिनहरु सुरु भए ।’

तर खुशीको दिन देख्न नपाउँदै विष्णाले सधैंका लागि आँखा चिम्लनुपर्यो । ८ वर्षको उमेरमा जन्म दिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले कर्म दिने आमालाई पनि गुमाउनु पर्यो ।

नेपाल आइडल जित्दै गर्दा खुशीका आँसु खसाएका रविका आँखा आज पीडामा रसाएका छन् ।

२०५४ साल चैत महिनामा कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडकोे कोखबाट जन्मेका रविले ८ वर्षको उमेरमै आमालाई गुमाउनु परेको थियो । 

विष्णा रविको जीवनमा दोस्रो आमाको रुपमा आउनु भएको थियो । तर विष्णाले आज यो संसार छोडेर जानु भएको छ । रविलाई मातृशोक परेको छ । 

धेरैले भन्छन,् कर्म दिने आमाले जन्म दिने आमाको स्थान लिन सक्दिनन् । दोस्री आमाले सन्तानको खुसी हेर्न चाहँदिनन् । तर रवि ओड, जो सामान्य कार्यक्रममा गीत गाउँथे, उनलाई आइडलसम्म पुर्याउनुमा दोस्री आमा विष्णाको ठूलो भूमिका थियो । 

रविले आइडल जितेलगत्तै भनेका थिए, ‘मेरी आमाको सपना थियो । मलाई ठूलो गायक बनेको हेर्ने । उहाँ आज यो दुनियाँमा हुनुहुन्न । तर, मलाई कर्म दिने आमा पनि मेरो यो खुशीको,सफलताको भागिदार हुनुहुन्छ ।’

सधैंका लागि आमाको बिदाई

रवि मंगलबार बिहान आमासँग बिदा मागेर कञ्चनपुरको कृष्णपुर, झलारी हुँदै महेन्द्रनगरको कार्यक्रमका लागि निस्केका थिए । 

रविका भाइ राज बिसीले भने, ‘मंगलबार सम्मान कार्यक्रमका लागि निस्कनुभन्दा अघि आमाले रवि दादालाई आरती उतार्दै सफलताको शुभकामना दिनुभएको थियो । तर आज बिहान रवि दादा घर नपुग्दै आमाले सबैलाई छोडेर जानुभयो ।’

मंगलबार महेन्द्रनगरमै बसेका रविले बिहान पनि विभिन्न बधाई तथा सम्मान कार्यक्रममा सहभागी भएर घर पुगेर त्यसपछि काठमाडांै फर्कर्ने कार्यतालिका थियो । 

रवि मंगलबार महेन्द्रनगरको कार्यक्रममा अबेर भएपछि अत्तरिया बसेका थिए । बुधबार बिहान आमालाई करेन्ट लागेर सेती अञ्चल अस्पताल लगिरहेको खबर सुन्नासाथ रवि धनगढीका लागि हिँडे । 

जाँदै गर्दा रविले सेती अञ्चल अस्पतालका इमेर्जेन्सी इन्चार्ज कृष्ण बोहरालाई फोनबाटै भनिरहेका थिए, ‘डाक्टर साहेब प्रयास गर्नुस्, जसरी पनि मेरी आमालाई बचाइदिनुस् ।’ 

‘रवि निकै आत्तिएका थिए, उनले हामीलाई अनुरोध गर्दै आमालाई बचाइदिन अनुरोध गरिरहेका थिए, इमर्जेन्सी इन्चार्ज बोहराले भन्नुभयो, ‘अस्पताल पुग्नु अगावै रविकी आमाले बिदा लिइसक्नु भएको थियो ।’ 

बुधबार बिहान ७ बजे छिमेकीको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णादेवीलाई अत्तरियामा उपचार हुन नसकेपछि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याइएको थियो । सेती अञ्चल अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

नेपाल आइडल सिजन २ का विजेता रवि मातृशोकमा परेको कुरा बाहिर आएपछि सेती अञ्चल अस्पतालमा निकै भिड लाग्यो । सञ्चारकर्मी, सर्वसाधारण, रबिका फ्यानहरु अस्पतालमै पुगेका थिए । 

रविका आँखाभरी आँसु  थियो । नेपाल आइडल जितेको खुशी साट्नै नपाई  उनीमाथि ठूलो पीडा आइलाग्यो । 

गोदावरीघाटमा आमाको चितामा आगो लगाएर रविले सदाका लागि आमालाई बिदा गरेर घर फर्किए । २५ वर्षदेखि भारतको गुजरातमा ‘चौकीदार’ को काम गर्दै आउनु भएका रविका बुवा श्रीमतीको मृत्युको खबर सुनेपछि नेपालका लागि हिँड्नु भएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया