दिनरात बुढाबुढी साथ : मेलो सार्न कुखुरासँग बात !

 पुस १२, २०७५ बिहिबार ८:५७:५८ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाडाैं  – लुगलुग कँपाउने पुसको ठण्डी । राम्ररी घाम नलाग्दा दिउँसै पनि जाडो । पुसको महिना त्यसै पनि फासफुस, घाम हेर्न नपाउँदै रात पर्छ । रात पर्न थालेपछि अलिअलि भएको राप पनि सेलाउँछ ।

टाउकोदेखि पैतालासम्म न्यानो कपडा लगाएर बस्दा त मुटु काँप्छ भने एकसरो पातलो लुगामा दिनरात हिलै माटो खेलाइरहँदा कस्तो होला ? सम्झँदै जाडो लागे पनि ढोसरे तामाङ र उहाँकी श्रीमती ठूलीमाया राई भने दिनरात यसैगरी चिसो र हिलो माटो खेलाउनुहुन्छ । जति धेरै माटो डल्ला पारेर काँचो ईंटा बनाउन सक्यो, उति नै सिक्का थपिन्छ । त्यही सिक्का जम्मा पारेर लाख कमाउने आँटले जाडोको पनि त्यति वास्ता हुँदैन ।

काभ्रे पनौती घर भएका ६० वर्षीय ढोसरे र ५५ वर्षीया ठूलीमाया महिना दिनअघि घरमा ताला लगाएर काठमाडौं आएका हुन् । अहिले उनीहरुको बास चन्द्रागिरि नगरपालिकाको उमा ईंटा भट्टा नजिकको खेतमा छ । काँचो ईंटा चाङ लगाएर टिनले छाएको छाप्रोले शीत र चिसो छेक्न सक्दैन । तर पनि ढोसरेलाई जाडो भने लाग्दैन रे ।

‘एक्लै भएको भए जाडो हुन्थ्यो होला, साथमा बुढी पनि छ के को जाडो’ ढोसरले ठट्टा गर्दा छेउमै रहेकी ठूलीमायाले मुख छोप्नुभयो । तर बुढाबुढी साथमा भए पनि बोलचाल चाहिँ त्यति नहुँदो रहेछ । 

‘अब बुढाबुढीमा बोल्ने कुरा कति नै हुन्छ र, खाने बेला उसले भात थपिदिउँ भनेर सोध्छे, मैले अलिकति थपिदेउ भन्छु, अनि दिनभर आफ्नो सुरमा ईंटा बनाइन्छ, राती सुतिन्छ, गफ गर्ने कुरै के हुन्छ र’ ईंटाको हार मिलाउँदै ढोसरले अर्को रमाइलो कुरा थप्नुभयो, ‘त्यसैले कुखुराको चल्लासित बात गर्ने गर्छौं ।’

कुखुराको चल्लासँग बात ? भन्ने प्रश्न भुईंमा खस्न नपाउँदै उहाँले भुईंमा चरिरहेको कुखुराका चल्ला देखाउँदै भन्नुभयो, ‘कुखुराको चल्ला परतिर गयो भने आ आ भनेर बोलाउनुपर्यो, नजिकै आयो भने हा हा भनेर धपाउनुपर्यो, अनि खै कुखुराको चल्ला कता गएछ भनेर सोधीखोजी गर्नुपर्यो, बात गर्ने मेलो भएन त ? अनि कुखुरासँग बोल्ने निहुँमा कामको मेलो पनि सर्ने भयो ।’

ढोसरेले रमाइलो तर्क र ठट्टा गरिरहँदा उहाँकी श्रीमती ठूलीमैया भने हाँस्नु मात्रै भयो । बोल्नुभएन । ‘उ त्यति बोल्दिन, मलाई नै हो धेरै बोल्नुपर्ने’ ढोसरेले श्रीमतीको बचाउ र आफ्नै बखान गर्नुभयो । 

पहिले बोलेर सकिंदैनथियो, अहिले बोल्ने कुरा नै सकिए

बोल्ने मेलो थाल्न कुखुराको भर पर्नुपर्ने यो जोडीको विगत अर्कै थियो । गाउँ एउटै । पानी पँधेरो गर्ने धारो र घाँस दाउरा गर्ने जंगल एउटै । दिनहुँ भेट हुन्थ्यो, कहिले धारामा कहिले जंगलमा ।

भेट भएको बेला कुरा गरेर समय गएको पत्तो हुँदैनथियो । कुरा नसकिंदै छुट्टिने बेला हुन्थ्यो । आआफ्नो घर पुगेर बात मार्न अहिलेजस्तो मोबाइल फोन र फेसबुकको म्यासेन्जर थिएन । भोलिपल्ट घाँस काट्न वन गएपछि मात्र भेट हुन्थ्यो । मनको कुरा नसकिंदै फेरि वनबाट घर पुग्न अबेला भैसक्थ्यो । फेरि भेटौं र धित मर्नेगरी बात मारौं भन्ने हुटहुटीले हरेक दिन सताइरहन्थ्यो ।

यो त दुई ज्यान र दुई मन दुईतिर हुँदाको कुरा । दुईतिर भैरहने ज्यान र मन एक भएको पनि चार दशकभन्दा बढी भैसक्यो । दुई ज्यान एक भएपछिका एक, दुई वर्षसम्म दिन रमाइलैसँग बिते । छोराछोरी जन्मिए, हुर्किए अनि आआफ्नो सुरमा कमाउनतिर लागे । त्यसपछि जिन्दगीका रमाइला र आशाका क्षण पनि मलिन हुन थाले ।

‘घाँस दाउरा गर्दागर्दै माया बस्यो, अनि १५÷१६ वर्षको उमेरमै बिहे भयो’ ढोसरेले बिगत सम्झनुभयो, ‘त्यतिबेला कुरा गरेर थाकिंदैनथियो, दिनरात रमाइलो हुन्थ्यो । अब त बुढेसकालसँगै कुरा पनि पुराना भए, रमाइलो क्षण पनि हराए ।’

कमाउन परदेश हैन, आफ्नै देश

जवानीमा ढोसरेलाई पनि लाहुरे हुने रहर नलागेको होइन । तर बाबुबाजेले गाउँमै खनीखोस्री गरेर गुजारा चलाए भने म चाहिँ किन लाहुरे हुन जानु पर्यो भन्ने मनले जित्यो । त्यसमाथि घाँसदाउरा गर्दागर्दै माया बसेर बिहे भएकी ठूलीमायालाई चटक्क छोडेर हिँड्न पनि सकिएन । गाउँमै बसेर खेतीपातीमा रमाउन थाल्नुभयो । ठूलीमायाले पनि साथ दिनुभयो ।

गाउँमा अहिले पनि खेती गरेर खान पुग्ने जग्गा छ । तीनजना छोराहरु पनि आफ्नै खुट्टामा उभिने भैसके । उनीहरु आआफ्नै सुरले कमाएर बसेका छन् । ‘तीनै भाइ काठमाडौंतिरै ज्यामी काम गर्छन्, उनीहरुले आफ्नो सुर गरेर कमाएका छन्, हामी बुढाबुढी आफ्नै सुरले कमाउँछौं’ ढोसरेले भन्नुभयो ।

चाडपर्वमा छोराहरु घरमा जम्मा हुन्छन्, त्यसपछि लाखापाखा लाग्छन् । जता गए पनि बुढाबुढी मात्रै हुने भएपछि घरमा मात्र कति बस्नु जस्तो लागेर उहाँहरु ईंटा बनाउने काम खोज्दै काठमाडौं आउनुभएको हो ।

‘अहिले खेतीपातीको काम हुँदैन, घरमा त्यतिकै के बस्नु भनेर बुढाबुढी कमाउन आएको’ ढोसरेले भन्नुभयो, ‘अब चार महिनापछि मकै छर्ने बेला हुन्छ, बल्ल गाउँ फर्किने हो ।’

ज्यानले सक्दासम्म काम गर्नुपर्छ भन्ने ढोसरेलाई लाग्छ । ‘घरमै बसेको भए पनि खान त पुग्थ्यो, तर अहिले खेतीपातीको काम हुँदैन, केही त गर्नुपर्छ भनेर ईंटा बनाउन आएको हो’ उहाँले भन्नुभयो ।

गाउँ फर्किंदा डेढ दुई लाख रुपैयाँ कमाएर लैजाने उहाँको योजना छ । एकहजार वटा ईंटा बनाउँदा ११ सय रुपैयाँ कमाई हुन्छ । एक दिनमा बुढाबुढी मिलेर कम्तिमा १५ सय ईंटा बनाउनुहुन्छ । यही हिसाबले पनि ५ महिनामा दुईलाख रुपैयाँभन्दा बढी हुन्छ । मंसिरदेखि चैतसम्म दुःख गर्दा खाने खर्च कटाएर झण्डै दुईलाख रुपैयाँ जोगाउन सक्ने ढोसरेले आश गर्नुभएको छ ।

‘म त पहिलोपटक ईंटा बनाउन आएको हो, यसअघि ईंटा बनाउन आउनेले ५ महिना बस्दा दुई, तीन लाख रुपैयाँ नै कमाएर लगेका छन्’ ढोसरेले भन्नुभयो, ‘जाडोमा काम गर्न त धेरै दुःख छ, तर खट्न सकेमा विदेशमा जत्तिकै कमाई गर्न सकिन्छ ।’

अन्तिम अपडेट: असोज २१, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया