सीपले निशालाई आत्मनिर्भर बनायाे, श्रीमानलाई विदेशबाट घर फर्कायो

 बैशाख २६, २०७५ बुधबार १२:४२:३ | सन्जिता देवकोटा
unn.prixa.net

सन्जिता देवकोटा/उज्यालो । 

काठमाडौं, वैशाख १५ – सर्लाहीको लालबन्दीकी निशा श्रेष्ठको हातमा लुगा सिलाउने सीप थियो । हातको सीपको निशाना चाहिँ सही ठाउँमा लागेको थिएन । श्रीमान् मलेसियामा थिए । घर व्यवहार र आर्थिक अवस्था सुधार्ने सपनाको भर भने मलेसियाकै कमाइमा थियो ।

‘खेतबारीमा भएपनि काम खासै गरिँदैन थियो, घरमा लुगा सिलाउने मेसिन थियो, त्यसमा पनि खासै ध्यान थिएन, बुढोले कमाइहाल्छन् भन्ने लाग्थ्यो,’ निशाले सुनाउनुभयो । 

तर जब निशाले यो सोचलाई परिवर्तन गर्ने मौका पाउनुभयो, उहाँको जीवन शैली नै परिवर्तन भयो । 

दुई वर्ष अघिको कुरा हो । निशाको गाउँमा विदेश जानेका परिवारलाई पढाउने एउटा कक्षा हुने भयो । विदेश जानेका परिवारका लागि फाइदा हुने कक्षा भनेपछि निशा पनि बस्नुभयो ।

‘कक्षामा बस्न थालेपछि मलाई त हातमा सीप हुँदा पनि केही नजाने झैं गरी समय बिताएँछु जस्तो लाग्यो,’ निशाले सुनाउनुभयो । कक्षामा बसेपछि फेरिएको सोचले निशाको व्यवहार र जीवन नै फेरिदियो । 

जेठी छोरी जन्मिएकी थिइन निशाले सिलाई सिक्दा । गाउँका अरु महिलाले सिलाउने काम सिकाै भनेर उकासेपछि उहाँले सिलाइ सिक्नुभएको थियो । लहैलहैमा ११ वर्ष अघि सिकेको सीपको निशाना दुई वर्षअघि मात्रै सहि ठाउँमा लाग्यो । 

विदेशमा भएकाका परिवारलाई पढाउने कक्षा भनेको सुरक्षित आप्रवासन सामीको सहयोगमा नेफ्स्कूनले सञ्चालन गरेको वित्तिय साक्षरताको कक्षा हो । 

यो कक्षामा बसेपछि निशाले आम्दानी कसरी गर्ने, पैसालाई कसरी प्रयोग गर्ने, के के काममा प्रयोग गर्ने, के काममा प्रयोग गर्दा त्यो पैसाले आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने कुरा सिक्नुभयो । त्यसपछि त उहाँले आम्दानीका बाटा त घरभित्र मात्रै होइन घर वरिपरी र खेतबारीमा पनि देख्न थाल्नुभयो । 

त्यति मात्रै हैन उहाँले आफ्नै हातमा भएको सीपलाई कसरी प्रयोग गर्ने भन्नेबारे पनि थाहा पाउनुभयो । ‘त्यतिकै बस्नु भन्दा बारीमा तरकारी मात्रै लगाउँदा पनि धेरै हुँदो रहेछ, त्यो कक्षामा बसेपछि मैले श्रीमानले कमाइहाल्छन् भन्ने सोच त्यागें,’ निशाले भन्नुभयो । 

सिकाइपछि फेरिएको आफ्नो जीवन शैलीका बारेमा सुनाउन थालेपछि निशाको बोली रोकिएन । श्रीमानको कमाइमा मात्र भर पर्नुहुन्न भन्ने सोच त्यागेपछि उहाँका पनि पाइला रोकिएनन् । ‘बारीमा तरकारी लगाउन थालें, घरको मेसिनमा सकेसम्म लुगा पनि धेरै सिलाउन थालें,’ निशाले सुरुवाती दिन सुनाउनुभयो । 

कक्षामा बसेपछि फेरिएको निशाको परिवारको आनिबानी पनि सुन्न लायक नै छ । कक्षामा बस्नुअघि निशाको परिवारले बजारबाटै तरकारी किनेर खान्थ्यो ।  तर अवस्था अहिले उल्टो छ । अब बारीमा बेच्न पनि पुग्ने गरी तरकारी फल्न थालेको छ ।  करेसाबारी बाह्रैमास हराबरा हुन थाल्यो । 

खेतबारी हराबरा भएपछि निशाको खल्तीमा कहिल्यै पनि खडेरी लागेन । आफूसँग भएका स्रोत साधनको प्रयोग गर्दा भएको आम्दानीले दङ्ग परेकी निशाले व्यवसायिक रुपमै तरकारी खेतीगर्न थाल्नुभयो । लुगा सिलाउने काम पनि छँदै थियो । 

श्रीमानले कमाएको बच्न थाल्यो 

निशाका श्रीमानले विदेशमा पसिना बगाएको ८ वर्ष भइसकेको थियो । साउदीमा झण्डै पाँच वर्ष बिताएर मलेसिया गएका थिए निशाका श्रीमान् । विदेशको एक जनाको कमाइले परिवार त चलेको थियो ।

तर विदेशमा कमाएर सुखले बाच्ने सपनाको रथ भने अघि बढेकै थिएन । निशाले आम्दानीको बाटो समातेपछि उनीहरुको जीवनको रथ पनि बिस्तारै गुड्न थाल्यो ।

निशाले तरकारी खेती र सिलाईको कामबाट आम्दानी गर्न थालेपछि श्रीमानको कमाइ चोखै बच्न थाल्यो । उहाँले तरकारी खेती, बाख्रा पालन र सिलाइको कामलाई पनि सँगसँगै अघि बढाउनुभयो । घर खर्च घरकै आम्दानीले धानेपछि एक जनाले कमाएको बच्नु नै साचेका सपना पूरा हुनु बराबर लाग्यो निशालाई । 

‘आफ्नै हातमा भएको सीप र तरकारी बारीबाट आम्दानी हुन थालेपछि त, बुझ्ने भएर पनि अबुझ भएको रहेछु भनेर पछुतो लाग्यो, कस्तो अलमलमा समय खेर फलिएछ भन्ने लाग्छ अहिलेपनि,’ निशा सुनाउनुहुन्छ । 

श्रीमानसँग वर्षौं टाढा बस्नु पर्दाको पीडा सम्झँदा निशालाई  १० वर्ष स्कूल पढेर पनि यति बुझ्निछु भन्ने सम्झेर दिक्क लाग्थ्यो । ‘यस्तो जानेको भए त किन बुढोलाई विदेश पठाउथें र जस्तो लाग्थ्यो नि,’ निशा सम्झनुहुन्छ । 

आफैंले कमाउँदाको फरक

निशालाई हिजोआज विदेशमा भन्दा स्वदेशमा नै कमाइ धेरै हुन्छ भन्ने लाग्छ । ‘परिवार छाडेर लाख कमाउनु र परिवारको साथमा हजार, त्यसलेनै जित्ने रहेछ,’ निशा भन्नुहुन्छ ।  विदेशको कमाइले नफेरेको निशाको जीवनको चोली आफैंले इलम गर्न थालेपछि फेरियो ।

‘आफूले कमाउने भएपछि अरुको भर पर्नु पनि नपर्ने, आफ्नै कमाइले समस्याको समाधान गर्न सकिने, यो भन्दा के चाहियो र,’ निशाले आफैं कमाउँदाको फरक सुनाउनुभयो ।

आफैं कमाउने हुँदाको आत्मविश्वास नै निशालाई आफ्नो ठूलो कमाइ हो जस्तो लाग्छ । निशा आफ्नो लागि आवश्यक खर्च आफैं गर्नुहुन्छ । दुई छोरीको पढाइ खर्च पनि पुर्‍याउनुहुन्छ र घरखर्च पनि । भन्नुहुन्छ, ‘अरुको कमाइमा भर परेर त्यत्रो समय बिताएँ अब यो भन्दा बढी के चाहियो र ।’

हातको सीपले श्रीमानलाई विदेशबाट फर्कायो 

निशाले आम्दानीको बाटो पहिल्याएपछि निशाका श्रीमान पनि मलेसियाबाट फर्किनुभएको छ । श्रीमान् घर फर्किएपछि निशाले व्यवसायिक रुपमा टेलर्स् सुरुवात गर्नुभएको छ । झण्डै ६ मनिाअघि सुरु गरेको टेलर्समा निशाले ५० हजार रुपैयाँ लगानी गर्नुभएको छ । 

टेलर्समा उहाँले दुईजनालाई रोजगारी पनि दिनुभएको छ । ‘घरमा नै मेसिन राखेर लुगा सिलाउँदा चारदेखि पाँच सय रुपैयाँसम्म आम्दानी हुन्थ्यो अहिले यहाँ राखेपछि त दिनको एक हजारसम्म कमाउछु,’ निशाले सुनाउनुभयो । 

विदेशबाट फर्किएर निशाका श्रीमान पनि एउटा सरकारी कार्यालयमा करारमा काम गर्नुहुन्छ । बिहान र बेलुकाको खाली समयमा निशालाई नै सघाउनुहुन्छ । 

हिजोआज निशा सहकारीहरुमा मासिक र दैनिक रुपमा पनि बचत गर्नुहुन्छ । भन्नुहुन्छ, ‘भविष्यमा परिआउने समस्याका लागि बचत छँदैछ, श्रीमान् पनि साथमै छन्, अब त के को चिन्ता ।’

अन्तिम अपडेट: असोज १६, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया