म्याग्दीमा ‘एक वडा, एक हेलिप्याड’ निर्माण अभियान

 पुस १३, २०७५ शुक्रबार ८:०:१९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – भौगोलिक विकटता रहेको उच्च पहाडी जिल्ला म्याग्दीमा ‘एक वडा, एक हेलिप्याड’ निर्माण अभियान सञ्चालन भएको छ । भू–क्षय, बाढीपहिरो, नदी कटान, आगलागी जस्ता प्राकृतिक तथा दैवी प्रकोपका घटना भए तत्कालै उद्धार गर्नका लागि जिल्लामा हेलिप्याड अभियान सञ्चालन गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको अगुवाइमा ‘एक वडा, एक हेलिप्याड’ निर्माणको अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । पहाडी हिसाबले अत्यन्तै विकट जिल्ला र सडक सञ्जालको अवस्था पनि खासै राम्रो नभएको हुँदा जिल्लाभरी हेलिप्याड निर्माणको अभियान अगाडि सारिएको बताइएको छ । जिल्लामा विपद् व्यवस्थापन र आपत्कालीन उद्धारको कामलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माणको कार्यलाई अगाडि बढाइएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विपद् व्यवस्थापनमा खोज, उद्धार र राहत वितरणको कामलाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ‘एक वडा, एक हेलिप्याड’ निर्माणको अवधारणा अगाडि सारिएको बताउनुभएको छ । हेलिप्याड निर्माण गर्ने जग्गा खोजी गर्न स्थानीय तहहरु र सम्बन्धित वडाका वडा अध्यक्षहरुले आवश्यक सहयोग गरेको बताउँदै जिल्लामा रहेका नेपाली सेना र सशस्त्र प्रहरी बलले प्राविधिक सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । 

अहिलेसम्म जिल्लाको पाँच ठाउँमा पाँचवटा हेलिप्याडहरु बनाइसकिएको छ । रघुगंगा गाउँपालिकाको पाखापानी, मंगला गाउँपालिकाको कुहुँ र हिदी तथा मालिका गाउँपालिकाको रुम र देवीस्थानमा हेलिप्याड बनाइएको छ । रुममा निर्माण गरिएको हेलिप्याडबाहेक अन्य सबै ठाउँमा एमआई सेभेन्टिन (ठूलो साइज)को हेलिकप्टर बस्न मिल्ने हेलिप्याडहरु निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीको बताउनुहुन्छ । सकभर एमआई सेभेन्टिन हेलिकप्टर बस्न मिल्ने ठाउँको खोजी भैरहेको छ । आगामी तीन वर्षभित्र जिल्लाको ४५ ओटै वडामा एउटा–एउटा हेलिप्याड बनाउने गरी अभियान थालिएको अधिकारीले बताउनुभयो । 

भूगोलका हिसाबले एउटै तर ठूला वडा र गाउँमा दुईतीन वटासम्म पनि हेलिप्याडहरु बनाउने तयारी रहेको छ । स्थानीय तह अन्तर्गत रहेका वडामा भूगोल, जनघनत्व र दूरीको आँकलन गरी आवश्यकता अनुसार हेलिप्याड बनाइनेछ । विपद् व्यवस्थापनमा एक मिनेटको पनि महत्व धेरै रहने भएकाले जिल्लाको सबै वडामा हेलिप्याड बनाउने तयारी अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

अन्नपूर्ण गाउँपालिका–५, शिखमा पनि स्थानीयले हेलिप्याड निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । एमआई सेभिन्टिन हेलिकप्टर बस्नका लागि कम्तीमा पनि ३० मिटर लम्बाई र ३० मिटरको चौडाई भएको जग्गाको आवश्यकता पर्दछ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्ला नदी कटान, बाढीपहिरो, भू–क्षय, आगलागी, हिमपहिरो, सडक दुर्घटनाका हिसाबले जोखिमपूर्ण मानिन्छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया