लोकगायक बुद्धिकृष्ण लामिछानेको चिता जलिरह्यो, सबैको आँखा रसाइरह्यो

 पुस १३, २०७५ शुक्रबार १८:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – 

पिँढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुदिहुन मलाई सम्झेर
परदेशी छोरा नआउँदा
चिठीपत्र नपाउँदा
मनमा विरह चल्दो हो आँसुले धोती भिज्दो हो ।

आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर आम नागरिकको मन जित्न सफल चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेले आज आफ्नै आँगनमा देह त्याग गर्दा परिवारको मात्रै नभई भेला भएका अधिकांशको आँखा त्यसैगरी रसाए । 

आँगनमा लडिरहेको उहाँको देहलाई हेरेर आँसु पुछ्नेहरु ‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर...’ गीतको चर्चा गरिरहेको सुनिन्थ्यिो । उहाँकी छोरी सम्झना भन्नुहुन्छ, ‘यो गीतमा जस्तै उहाँको प्यारो पिँढीमा झण्डै आधा जीवन बिताउनु भएका बुबाले आज त्यही पिँढी पनि छाडेर जानुभयो ।’

लामिछाने २०१२ साल साउन १ गते जन्मिनु भएको थियो ।  एक सयभन्दा बढी गीत गाएर नेपाली गीत संगीतका क्षेत्रमा निकै लोकप्रियता हासिल गरेका लामिछाने हृदयघातका कारण ७ वर्षदेखि प्यारालाइसिस भई घरमै थलिनुभएको थियो । लोकगायक लामिछानेले ६३ वर्षको उमेरमा आज अपरान्ह आफ्नै निवास चाँगुनारायण नगपालिकामा –७, चारघर चौतारामा देहत्याग गर्नुभएको हो । 

घाँस काट्ने खुर्केर
आयो जोबन हुर्केर
कसलाई दिऊँ यो जोबन...।

विरहका मात्रै होईन यस्ता माया पिरतीका गीत गाउने यी वरिष्ठ संगीत साधकले घरको पिँढीबाट पुराना दिनहरू सम्झिएर टोलाइरहनुहन्थ्यो । भेट्न जानेहरुसँग हात जोड्दै विरहका गीत र विरहको जिन्दगीको सम्झना गराउँदा उहाँको आँखाबाट मात्रै होइन, भेट्न जानेहरुको मन पनि कट्क्क काट्थ्यो, आँसु तप्प चुहिन्थ्यो ।

गायिका कोमल वलीसँग लामिछानेले गाएको गीत ‘तिम्रो र मेरो मायाको डोरो बेराँै कि फन्फनी...’ मात्रै नभई ‘फाटेको दौरा लाएर, खोले सिस्नो खाएर, हात र खुट्टा टेक्दै छु भारी बोक्दैछु...’ जस्ता उहाँले गाएको गाउँघरको यथार्थ जीवन बोकेको गीतहरु पनि उत्तिकै चर्चामा आए । जति उहाँको जीवनका पीडा र व्यथाहरु चर्चामा आएका थिए । 

औषधि उपचार गर्ने खर्चको जोहो नहुँदा एकाध संस्था र कलाकर्मीले दिएको थोरै सहयोगबाहेक राज्यबाट कुनै सहयोग नपाएका पीडित लामिछानेले आफ्नै जीवनको यथार्थतालाई पनि गीतमार्फत ल्याउनुभयो । 

पर्नु पर्यो पीर जेठा,
मलाई पर्यो पीर
एउटा थाप्ला दुईटा नाम्लो 
ज्यानलाई पर्यो पीर...

दुइटी श्रीमती ल्याउँदा कान्छीले दिएको दुःखलाई सम्झेर गाएको यो गीतलाई यथार्थपरक ढंगले गाउने गायक लामिछानेको पार्थिव शरीरलाई बिदाई गर्नसमेत कान्छी श्रीमती र कान्छी श्रीमतीबाट जन्मिएकी एक छोरी नआएको चर्चा वागेश्वरी –७, महादेव मन्दिर नजिकै रहेको घाटमा उहाँको देह जलिरहँदा चलेको थियो ।

टीकाराम लामिछाने र पद्मकुमारी लामिछानेको कान्छो सन्तानका रूपमा जन्मनु भई सानैमा बुवा गुमाउँदाको पीडा र छोराले गीत गाएको हेर्ने आमाको चाहना पूरा गर्न रेडियो नेपालमा स्वर परीक्षण पास गरेर २०३६ सालमै रेडियो नेपालमा पहिलो गीत रेकर्ड भयो, ‘घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर...।’  

यो गीत चर्चित भएसँगै उहाँले गाउँनु भएका ‘गाई त बाँध्ने पातलो दाम्लो...’, ‘पर्नु पर्यो पीर, जेठा मलाई पर्यो पीर...’, ‘भयो डामाडोल...’, ‘फाटेको दौरा लाएर खोले सिस्नु खाएर...’, ‘तिम्रो र मेरो मायाको डोरो, बेरौँ कि फन्फनी कान्छी...’ लगायत गीत गाउँदै  गीतियात्रामा अगाडि बढ्नु भएको उहाँकी श्रीमती दुर्गादेवी बताउनुहुन्छ । 

श्रीमतीसँगै दुई छोरा र ३ छोरी रहेका लामिछानेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न उहाँको भूकम्पले भत्काएर जीर्ण बनेको घरको पिँढीमा न कोही नेता पुगे, न कोही सरकारी प्रतिनिधि नै । 

घाटमा उहाँको देह जलिरहँदासम्म पनि कोही कलाकर्मी र गायक गायिका श्रद्धाञ्जली अर्पण गर्न नआएको देख्दा गाउँका मलामी भने एक श्रष्टाप्रति बेवास्ता भएको गुनासो गरिरहेका थिए । 


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया