भोजपुरमा पनि हिमपात, जनजीवन कष्टकर

 पुस १३, २०७५ शुक्रबार १८:३९:८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरको उच्चभेगमा हिमपात भएपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।

झण्डै ६ वर्षपछि परेको बाक्लो हिमपातले भोजपुरको उत्तरी तथा पश्चिमी क्षेत्रका ग्रामिण भेगमा चिसोले जनजीवन कष्टकर बनेको हो । हिमपातले गहुँ, आलुजस्ता हिउँदेबालीमा नराम्रो असर पुगेको छ । लामो समयपछि परेको हिमपातले खेतबारीको अन्नबालीमा क्षति पुगेको षडानन्द नगरपालिका–९, का वाङछे शेर्पाले बताउनुभयो ।

प्रतिकुल मौसमका कारण चिसोले आफ्नो ब्रोइलर फार्ममा समेत नराम्रो असर पुगेको रिमचिमका कृषक विसन राईले बताउनुभयो । राई भन्नुहुन्छ, ‘ब्रोइलर कुखुरालाई न्यानो दिनै गाह्रो । त्यसमाथि झन छानोमा परेको हिँउको चिसोबाट बचाउनै गाह्रो भएको छ ।’

हिमपातसँगै बढेको चिसोको कारण विद्यालयको पठनपाठनमा पनि नराम्रो असर पुगेको तिम्मा माध्यमिक विद्यालयका शिक्षक छिवाबुङबाली राई बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयमै हिमपात भएपछि बालबालिकाको पढाईमा पनि नराम्रो प्रभाव परेको छ । हिमपातले चिसो बढेपछि पठनपाठन नै बन्द गर्न बाध्य भयौँ ।’

हिउँ परेपछि अहिले यहाँको तापक्रम पनि निकै घटेको छ । चिसोले ग्रामिण भेगका बृद्धबृद्धा, केटाकेटीको स्वास्थ्यमा असर पुगेको छ । चिसोले गर्दा हाडजोर्नी, टाउको, घाँटी दुख्ने गरेको भोजपुर नगरपालिका बोखिमकी बृद्धा चन्द्रकुमारी राईले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘थोरै चिसोले त समस्या हुने । हिउँसँगैको चिसोले हाडजोर्नी कक्रेर हैरान बनाएको छ । चिसोले छाडेन ।’

शुक्रबार दिउँसो परेको हिमपातले जिल्लाको दोभाने, खाटाम्मा चौकी डाँडा, किमालुङ, तिम्मा, छिनामखु, गुप्तेश्वर, सिद्देश्वर हेलौँछा, बोखिमलगायत उच्च भेगको जनजीवन कष्टकर बनेको छ ।

लामो समयपश्चात परेको हिमपातले छिनामुखका रिमचिम, दावाँबजार, काफ्ले, धापखक, सुन्तलेलगायतका तल्लो भेगसम्म बाक्लो हिउँ जमेको थियो । गएको वर्ष हिमपात नपरेको भोजपुरमा यसपटकको बाक्लो हिमपातले टेम्के डाँडा, मैयुङ क्षेत्र, हाँसपोखरी, सातोबाटो, साल्पा, सिलिचुङ जस्ता प्रमुख पर्यटकीय क्षेत्रहरु सेताम्मे बनेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया