हेटौंडामा चल्यो साझा यातायात

 असार २, २०७५ शनिबार ११:४७:३६ | हरि हुमागाईं

मकवानपुर – हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ । 

हेटौंडा बजार क्षेत्र र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका अटो, मयुरीले यहाँका यात्रुहरुसँग बढी भाडा असुल गरेर हैरान बनाएपछि साझा यातायात सञ्चालनमा ल्याइएको हो । हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा मकवानपुर साझा यातायात प्रालिले आजबाट औपचारिक रुपमा एउटै रंगका ११ वटा बस सञ्चालनमा ल्याएको छ । 

साझा यातायातको औपचारिक रुपमा उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक यात्रुलाई मुस्कानसहितको सेवा दिनका लागि निर्देशन दिनुभयो । साना खालका अटो तथा मयुरीमा असुरक्षित तरिकाले यात्रा गरिरहेका यात्रुहरुको समस्यालाई मध्यनजर गरेर आरामदायी र सुरक्षित यात्राका लागि निजी कम्पनीसँगगको समन्वयमा बस सञ्चालनमा ल्याइएको मेयर महतले बताउनुभयो । 

हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रमपछि स मेयर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लाकेन्द्र श्रेष्ट, हेटौंडाका विभिन्न वडाका वडाध्यक्षलगायतलाई बसमा चढाएर मकवानपुर साझा यातायतको उद्घाटन गरिएको थियो ।

हेटौंडाको बुद्धचोकदेखि पिपलबोट, लोकप्रियचोक, नगरपालिका रोड, सिंचाइटोल, कान्तिलोकपथ हुँदै रापती रोडमा आएर अतिथिहरुलाई यात्रा गराएपछि बस सञ्चालनमा आएको छ ।  हेटौंडाका सबैजसो वडाका नागरिकलाई सुरक्षित यात्रा गराउनु उपमहानगरपालिकाको पनि दायित्व भएकाले यो सेवा अझै बिस्तार गरिने उहाँको भनाई छ । 
      
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया