नेपालगञ्जमा इद उल फित्रको रौनक

 असार २, २०७५ शनिबार १२:११:३७ | गोविन्द शर्मा

बाँके – इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अन्तिम दिन नेपालगञ्जमा शनिबार धु्मधामका साथ इद उल फित्र मनाइएको छ ।

नेपालगञ्जको विपी चौकमा रहेको इदगाहमा हजारौँ इस्लाम धर्मावलम्बीहरुले एकसाथ नमाज पढ्दै मुलुकमा स्थायी शान्ति तथा अमनचयन र समृद्धिको कामना गरेको मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले बताउनुभयो । इदगाहमा नअटाएपछि विपी चोक र घरका छतछतबाट पनि नमाज पढिएको ।
 

नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई सामूहिक नमाजमा सहभागी हुनुभएको थियो ।  इदको शुभकामना आदानप्रदानका लागि गैरइस्लाम धर्मावलम्बीहरु समेत ईदगाहमा पुगेर गला मिलाएर इदको शुभकामना दिएका छन् । ईदगाहमा सुरक्षा तथा प्रशासनिक कर्मचारीका प्रमुख विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी व्यवसायी, सामाजिक अगुवा लगायतको उपस्थिती रहेको थियो ।

 

हिजरी सम्वतको ८ औं महिना  रजबुल मुरज्जबको समाप्तिको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुन्छ । अन्तिम दिन इदको रुपमा मनाइन्छ । रमजानको महिनामा इस्लाम धर्मावलम्वीहरु बिहान सूर्य उदाएपछि देखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन् ।
हिजरी सम्वतको १२ महिना मध्ये रमजानुल मुबारकु पवित्र र एवादत (उपासना) गर्ने महिना समेत हो ।

रमजान महिनामा दिनभरीको रोजा समाप्त गर्ने बेलामा सामूहिक रुपमा बसेर खाने प्रचलन रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया