बैतडीका १५ वडा स्वास्थ्य चौकीविहीन

 पुस १४, २०७५ शनिबार ८:४४:४३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – नयाँ संरचना अनुसार बैतडी जिल्ला ८४ वटा वडामा विभाजित भएपछि सबै वडामा स्वास्थ्य सेवा पुर्‍याउन कठिन भएको छ । 

बैतडीका १५ वटा वडा अझै पनि स्वास्थ्य चौकीविहीन रहेका छन् । साविकका ६८ वटा गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १५ वटामा स्वास्थ्यसंस्था  नभएको जिल्ला अस्पताल  बैतडीका डाक्टर जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो ।  स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ । 

नयाँ संरचना अनुसार कुनै वडामा दुईवटा स्वास्थ्य चौकीसमेत परेका छन् भने कुनै वडामा एउटा स्वास्थ्यचौकी छैन् । सरकारले स्वास्थ्यसेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत  उपभोग गर्न नपाएको  स्थानीय बासिन्दाको गुनासो रहेको छ । नयाँ संरचना अनुसार आफ्नो वडा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ । 

यसका साथै हरेक वडामा स्वास्थ्य चौकी नहुँदा  बैतडीका केही महिलाहरु घरमै बच्चा जन्माउनसमेत बाध्य भएका छन् । भगौलिक विकटताका कारणले पनि स्वास्थ्य सस्थामा पुग्न नसक्ने र  स्वास्थ्य चौकी पायक पर्ने ठाउमा नहुँदा सुत्केरी महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएका हुन्   ।

जिल्लाका स्वास्थ्य चौकी नभएका बाँकी १५ वडामा पनि स्वास्थ्य चौकी स्थापनाका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग अनुरोध गरेकोले छिट्टै समस्या समाधान हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख निशा जोशीले बताउनुभयो । 

बैतडीका केही स्थानीय तहले आफैले स्वास्थ्य चौकी निर्माण गरे पनि जिल्लाका धेरैजसो वडाहरु स्वास्थ्य चौकीविहीन रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया