नमुना र चिटिक्क रवि आधारभूत विद्यालय : जहाँ दलित विद्यार्थी मात्रै पढ्छन्

 पुस १४, २०७५ शनिबार १४:१२:५८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर–२, मा रहेको एउटा विद्यालय हो, रवि आधारभूत विद्यालय ।

विद्यालयको मुख्य द्वारबाट छिर्नेबित्तिकै दायाँपट्टि फूलबारी बनाउन खोजिएको छ । बायाँपट्टि एउटा पुरानो घर अनि अलिक पर एउटा चिटिक्क परेको नयाँ भवन भर्खरै बनेको छ । यही बीचमा निर्माण पूरा भएको यो भवनको उद्घाटन भने भइसकेको छैन ।

२०४५ सालमा स्थापना भएको यस विद्यालयमा सबै दलित बालबालिका मात्र अध्ययन गर्दै आएका छन्  । कक्षा ७ सम्म पढाई हुने भएकाले स–साना बालबालिका मात्र विद्यालयमा देखिन्छन् । सुरुका दिनमा गाउँमा विद्यालय नहुँदा झोराहाट पुग्न टाढा हुने भएकोले स्थानीय सरदार समुदायका केही व्यक्ति मिलेर विद्यालय सञ्चालनको योजना बनाए ।

अहिलेको विद्यालय भएको ठाउँमा त्यो बेला बाँसघारी थियो । त्यही बाँसघारी फाँडेर विद्यालय निर्माणको काम सुरु भएको हो । यसरी विद्यालय बनाउनु पर्छ भन्ने २–४ जना मात्र थिए । गाउँका  करिब २०–२२ जना बालबालिका भेला पारेर २०४५ सालमा विद्यालय सञ्चालनाको अवधारणा अघि सरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकुमार सरदारले बताउनुभयो ।

त्यो बेला गाउँका कोही पनि विद्यालय नजाँदा गाउँमा निक्कै समस्या थियो त्यो समस्या समाधानको लागि शिक्षा नै पहिलो आधार भएकोले आफूहरु विद्यालय निर्माणमा लागेको सरदारले बताउनुभयो । सुरुमा विद्यालयको अवस्था बाँसको बेरा र प्लाष्टिकको छानोमा सञ्चालनमा थियो ।

त्यसपछि  रेडक्रसले बनाएको टिनको छानो भएको भवन २०७२ सालमा आएको भूइँचालोले भत्काएपछि बालबालिकाले त्यही भत्किएको घरभित्र बसेर पढ्नु पर्ने अवस्थामा पुगे ।  पठनपाठनमा समस्या भएको कुरा विद्यालयका प्रधानाध्यापकलाई मात्र हैन विद्यालय व्यवस्थापन समितिलाई पनि थियो । तर भवन बनाउने कसरी भन्ने चिन्तामा विद्यालय व्यवस्थापन समिति देखिएको छ ।  झण्डै २ वर्षसम्म भत्किएको भवनमा बसेर पढेका बालबालिकाहरु अब भने  नयाँ भवनमा पढ्न पाउने छन् ।

यसरी बन्यो नयाँ भवन

जिल्ला शिक्षा कार्यालय देखि विभिन्न सांघ संघ संस्थासम्म विद्यालयको समस्या सुनाउँदै हिँडेको विद्यालयका  प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले कतैबाट पनि श्रोत नपाएपछि त्यही ग्रामथान गाउँपालिकामा काम गर्दै आएको एमडीएमएसमार्फत वर्ल्ड भिजनसम्म त्यो कुरा पुर्‍यायो । वर्ल्ड भिजनबाट आएका  ३ जनाको समूहले आएर विद्यालयको अवस्थाको बारेमा जानकारी लियो ।  

पुरानो भवन भूकम्पका कारण भत्किएको थियो । टिनमा खिया लागेको थियो । करिब ४ पटक अनुगमन आएपछि मात्र विद्यालयमा भवन बनाउने विषयमा दातृ निकाय  भवन निर्माणमा सकारात्मक देखिएको विद्यालयका प्रधानाध्यापक जीतेन्द्र सरदारले बताउनुभयो ।

करिब ६१ लाख लाग्ने अनुमान गरिएको विद्यालयको २ कोठे भवनसहित शौचालय बनाउने काम ५१ लाख सकिएको हो ।   जोशिला संकल्प कन्स्ट्रक्सनले निर्माण सुरु गरेको करिब ६ महिनाको अवधिमा विद्यालयले खोजेको जस्तै भवन निर्माण भएको प्रधानाध्यापक सरदारले जानकारी दिनुभयो ।

विद्यालय भवनसँगै शौचालय पनि निर्माण भएको  छ ।  बालमैत्री, बालिका मैत्री र अपाङ्ग मैत्री शौचालय बनाइएको छ । यहाँको भवन तथा शौचालय निर्माणको फाइदा विशेषगरी स–साना बालबालिकालाई तथा अपाङ्गता भएका बालकलाई भएको छ । ह्वील चेयरमा विद्यालयमा आउने बालबालिकालाई पनि नयाँ निर्माण भएको भौतिक पूर्वाधारले सहज बनाएको उहाँको भनाई छ ।   

भवन निर्माण भएसँगै विद्यालयको व्यवस्थापन समिति भने थप विद्यालयलाई कसरी सुन्दर बनाउने भन्ने पक्षमा देखिएको छ । दलित मात्र अध्ययन गर्ने यस विद्यालयमा  छात्रभन्दा बढी छात्रा रहेका छन्  । विद्यालयको आयश्रोत नै नभएको अवस्थामा  आर्थिक अवस्था कमजोर भएका दलित बालबालिकाको पक्षमा संघ संस्थाले सहयोग प्राप्त हुनुले विद्यार्थीलाई सहज भएको प्रधानाध्यापक सरदार बताउनुहुन्छ  ।

विद्यार्थी बढ्दै

यस विद्यालयमा प्रधानाध्यापक पनि दलित समुदायकै रहेकोले विद्यालयलाई बनाउनको लागि कम्मर कसेर लागेका छन् । एक त विद्यालयमा अपाङ्ग मैत्री, किशोरी मैत्री,  अनि बालकका लागि छुट्टै शौचालयसँगै खानेपानीको व्यवस्थापन भएको छ ।

विद्यालयमा सरसफाइको बारेमा सिकाइएका छन्, भत्किएको पुरानो भवनलाई बालमैत्री तथा अपाङ्ग मैत्री बनाइँदा विद्यालय छाड्ने बालबालिका नियमित विद्यालय आउन थालेको विद्यालयकी शिक्षक  कविता भट्टराई लुइँटेल बताउनुभयो । त्यस्तै विद्यालयले पठन पाठन सुधारका लागि अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लागि छुट्टाछुट्टै आचारसंहिता बनाएर होर्डिङमै टाँसेर सबैलाई आचारसंहितामा बाँधिएको विद्यालयले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया