नाचो जसलाई डाक्टरले कहिल्यै फुटबल खेल्न सक्दैन भनेका थिए

 असार २, २०७५ शनिबार १४:३४:३६ | एजेन्सी

शुक्रबार विश्वकप २०१८ को दोस्रो दिन थियो । शुक्रबार तीन खेल भए तर विश्वभरका फुटबल प्रशंसकको ध्यान भने पोर्चुगल र स्पेनबीचको खेलमै केन्द्रित थियो । 

स्टार खेलाडीले भरिएका दुई टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको थियो । आखिर भयो पनि त्यस्तै । रसनसनीपूर्ण खेल ३–३ को बराबरीमा टुंगियो । खेल सकिएपछि सबैभन्दा बढी चर्चा भयो पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको । जसले विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक प्रहार गर्दै टिमलाई एक अंक दिलाए । 

भिलेन बनेका नाचो हिरो बने

तर स्पेनका एक खेलाडी खेलको सुरुमै भिलेन बनेका थिए  तर तिनै खेलाडी पछि हिरो बने । उनको नाम हो – जोसे इग्नेसियो फर्नान्डिज इग्लेसियस तर फुटबलको दुनियाँमा उनी नाचोका नामले परिचित छन् । 

उमेर २८ वर्ष । विश्वकै सबैभन्दा प्रतिष्ठित क्लब रियल मड्रिडका डिफेन्डर । शुक्रबार पोर्चुगलविरुद्धको महत्वपूर्ण खेलमा पहिलो चार मिनेटमै डिबक्सभित्रै रोनाल्डोलाई फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले पेनाल्टीको मौका गुमाएनन् । 

त्यसपछि डिएगो कोस्टाले गोल गर्दै स्पेनलाई बराबरी दिलाए । पहिलो हाफमै रोनाल्डोले दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । दोस्रो हाफमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २–२ को बराबरी बनाए । 

जब नाचोले गज्जब गरे

खेलको दोस्रो हाफमा स्पेन पोर्चुगलमाथि हावी थियो । स्पेनले एकपछि अर्को आक्रमण गरिरहेको थियो । खेलको ५८ औँ मिनेटमा नाचोले उत्कृष्ट गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाए । स्पेनका सबै खेलाडी नाचोलाई चुमिरहेका थिए ।

रंगशालामा पनि नाचोको गोलमा उनका प्रशंसक नाचिरहेका थिए । आखिर ननचानून पनि किन नाचोको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । खेलको अन्तिम मिनेटमा रोनाल्डोले फ्रिकिक प्रहार गर्दै खेललाई ३–३ को बराबरीमा टुंग्याए ।

उनी खेलका स्टार तथा म्यान अफ् द म्याच समेत बने । तर नाचोको गोल पनि लामो समयसम्म सम्झिरहने खालकै थियो । 

सपना पूरा गर्न कडा संघर्ष

फुटबलका केही पण्डितहरुले नाचोले गरेको गोल यो विश्वकपकै उत्कृष्ट गोल पनि हुन सक्ने सम्भावना रहेको बताएका छन् । 

एउटा फुटबल खेलाडीका रुपमा स्पेनमा नाचो ठूलो नाम हो । उनका भाइ एलेक्स पनि फुटबलर नै हुन् । तर लामो समयसम्म नाचोले यहाँसम्म पुग्न आफूले गरेको संघर्ष कसैलाई बताएनन् । 

सन् २०१६ मा नाचोले आफू १२ वर्षको हुँदादेखि नै टाइप –१ को डायबिटिजबाट ग्रसित रहेको बताएका थिए । उनी एउटा यस्तो रोगबाट पीडित थिए कि जसले उनको करिअर नै ध्वस्त पारिदिन सक्थ्यो । त्यस बेला उनी रियल मड्रिडको यूथ टिममा ट्रेनिङ लिइरहेका थिए । 

चिकित्सकले नाचोले कहिल्यै फुटबल खेल्न नसक्ने बताएका थिए । तर उनले हिम्मत हारेनन् । उनको संघर्ष जारी रह्यो । सानैदेखि फुटबलप्रतिको लगावका कारण उनको मन कहाँ मान्थ्यो र ? फेरि पुगे चिकित्सकसँग सल्लाह लिन । त्यतिबेला भने चिकित्सकले उनले आफ्नो सपना पूरा गर्न सक्ने बताए । त्यति भएपछि के नाचो इन्सुलिन किट बोकेरै मैदानमा अभ्यास गर्न पुग्थे । उनले लामो समय इन्सुलिन लिएरै अभ्यास गरे । 

यो २००२ को कुरा हो । नौ वर्षपछि उनलाई रियल मड्रिडको सिनियर टिममा स्थान दिइयो । उनमा खुशीको सीमा नै रहेन । सानोमा उनले देखेको सपना पूरा हुने क्रममा थियो । 

विभिन्न मेडिकल कन्डिसनका कारण आफ्नो सपना पूरा हुन्न कि भनेर सोच्नेका लासग नाचो प्रेरणाका स्रोत बन्न सक्छन् । नाचोले एकपल्ट भनेका थिए, ‘डायबिटिज हुनुको अर्थ यो होइन कि सामान्य जीवन बाँच्न सकिँदैन । खेलकै कारण मैले पनि डायबिटिजबाट छुटाकरा पाएको हूँ ।’

नाचो जिनेदिन जिदानलाई आदर्श मान्ने गर्थे । एउटा समय यस्तो पनि आयो कि जिदानको प्रशिक्षकत्वमा नाचोले रियलबाट खेले । फुटबल किटसँगै इन्सुलिन किट बोकेर मैदानमा अभ्यास गर्न आउने खेलाडी नाचो अहिले स्पेनका स्टार खेलाडी बनेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया