अतिक्रमित सरकारी जग्गामा बनाइएका घरमा भातृ संगठनले लगाए रातो चिन्ह

 पुस १६, २०७५ सोमबार १७:२२:३८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सरकारी जग्गामा भइरहेको अतिक्रम खाली गर्न माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरुले संयुक्त अभियान थालेका छन् ।

महेन्द्रनगर नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक तरिकाले निर्माण कार्य भइरहेको भन्दै भातृ संगठनहरुले संयुक्त अभियान थालेका हुन् ।
उनीहरुले नगर विकास समितिका पदाधिकारीले लिजका नाममा अवैधानिक तरिकाले सरकारी जग्गा बेचेको भन्दै त्यसलाई खारेजीको माग समेत गरेका छन् । 

नगर विकासको जमिनमा अवैधानिक तरिकाले निर्माण भएका भवनहरुमा रातो रङ्गको चिन्ह लगाएर अतिक्रमणविरुद्ध सांकेतिक आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका नेता चन्द्रकान्त भट्टले बताउनुभयो । उहाँले नगर विकास समितिका केही व्यक्तिले मनोमानि ढङ्गले सरकारी जग्गा आफ्ना र केही व्यक्तिका नाममा राखेको भन्दै प्रक्रिया मिचेर गरिएका सम्झौता र खरिद बिक्री खारेज हुनुपर्ने बताउनुभयो ।

यस्तै, नगर विकास समितिले प्रक्रिया मिचेर लिजका नाममा जग्गा दिएको र त्यसरी भइरहेका निर्माणलाई रोक्न तथा सरकारी जग्गा खाली गर्नका लागि आफूहरुले संयुक्त रुपमा अभियान थालेको युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले बताउनुभयो ।  

उहाँले यस्ता अवैधानिक अतिक्रमणलाई हटाउन सरकारलाई दवाव दिन आफूहरुले सांकेतिक आन्दोलन स्वरुप त्यस्ता घरहरुमा रातो चिन्ह लगाएको बताउनुभयो । सरकारी जग्गामा भएको अतिक्रम हटाउन सरकारले कुनै पहल नगरे आफूहरुले नै त्यस्ता घरहरु भत्काउने नेपाल तरुण दलका नेता महेन्द्र खड्काले बताउनुभयो । 

यता, अवैधानिक तरिकाले बनेका घरहरु भत्काउन सरकारले वैधानिक बाटो देखाएर टार्न खोजेको भन्दै उनीहरुले जनाएका छन् ।  यसअघि, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत एक महिनाभित्र अवैधानिक तरिकाले बनेका भवन भत्काउन पुस ९ गते आदेश दिएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया