समाजवादको विषयमा प्रचण्ड र ओलीसँग कांग्रेस टुँडिखेलमा बहस गर्न तयार छ : नेता पौडेल

 पुस १६, २०७५ सोमबार १७:४६:४ | किरण लोहनी
unn.prixa.net

फाइल तस्बिर

गोरखा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सुखी नेपाली समृद्ध नेपाल बन्न सक्ने बताउनुभएको छ ।

वर्तमान सरकारसँग विकासको काम गर्ने क्षमता नै नरहेको भन्दै उहाँले कम्युनिष्टहरु नारा बनाउन मात्रै सिपालु रहेको आरोप लगाउनुभयो । ४३ औं मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देश विकासको नेतृत्व फेरि कांग्रेसले लिनुपर्ने बताउनुभयो ।

सरकारले विकासको ठोस गति लिन नसकेको पौडेलको भनाई छ । ‘यिनीहरु, कम्युनिष्टहरु नारा ल्याउन मात्रै सिपालु छन्, यिनीहरुसँग काम गर्ने कुनै मेसो छैन, यिनीहरुको थुतुनो मात्रै चल्ने हो’, उहाँले भन्नुभयो, ‘यसलाई विदेशी दाताहरुले पनि सहयोग गर्दैनन्, अलि अलि गरेजस्तो गर्छन् तर विश्वसनीयता छैन कम्युनिष्टहरुप्रति ।’

२०४८ सालपछि कांग्रेसकै नेतृत्वमा पूर्वाधार विकासको कामले गति लिएको भन्दै उहाँले कम्युनिष्ट सरकार गतिहीन र दिशाहीन अवस्थामा रहेको बताउनुभयो । कांग्रेसले गरेको बाहेक वर्तमान सरकारले कुनै नयाँ काम गर्न नसकेको पौडेलको दाबी छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीसहित प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उहाँले कम्युनिष्टहरु आफैँ कन्फ्युजनमा परिहेको बताउनुभयो । नेकपाको हालैको स्थायी समिति बैठकमा जनवाद र समाजवादको विषयमा विवाद देखिएको भन्दै पौडेलले आफैँ कन्फ्युजनमा रहेका कम्युनिष्टले देशलाई पनि कन्फ्युजनमा पारेको दाबी गर्नुभयो ।

कम्युनिष्टले बन्दुकको माध्यमबाट समाजवाद ल्याउन खोजेको भन्दै उहाँले त्यो बर्खाको खहरेजस्तो हुने बताउनुभयो । कांग्रेसको समाजवादलाई भने उहाँले वसन्तको शीतल पालुवाको संज्ञा दिनुभयो । समाजवादका विषयमा नेकपाका अध्यक्ष प्रचण्ड र केपी अलीसँग टुँडिखेलमा बहस गर्न कांग्रेस तयार रहेको पौडेलको भनाई छ ।

कांग्रेस नेता पौडेलले हिमाल, पहाड र तराईलाई विखण्डन गर्न खोज्ने केपी अली राष्ट्रवादी हुनै नसक्ने आरोप लगाउनुभयो । मधेशी पार्टीलाई संविधानभित्र समेट्ने काम कांग्रेसले नै गरेको भन्दै उहाँले राष्ट्रिय एकताको पक्षमा लाग्ने कांग्रेस सच्चा राष्ट्रवादी भएको दाबी गर्नुभयो ।

‘केपी ओली के को राष्ट्रवादी ? देश विखण्डन गराउन खोज्ने राष्ट्रवादी हुन सक्दैन’, नेता पौडेलले भन्नुभयो, ‘नागरिकलाई झुक्याइदिहाले, ओली त्यसै राष्ट्रवादी कहलिए ।’ वर्तमान सरकार विभिन्न काण्डै काण्डमा मुछिएको भन्दै उहाँले मन्त्रीहरु पैसामा बिकेको समेत आरोप लगाउनुभयो ।

वाइडबडी जहाज खरीद, सुन काण्ड, चिनी काण्डमा सरकारले धाँधली गरेर पैसा खाएको पौडेलको दाबी छ । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने विषयमा पनि अरबौंको धाँधली भएको उहाँको आरोप छ ।

खुल्ला प्रतिस्पर्धा गराएर आयोजना निर्माणको जिम्मा दिनुपर्नेमा एक्लौटी रुपमा दिइएकोमा कांग्रेस वरिष्ठ नेता पौडेलले असन्तुष्टि जनाउनुभयो । सरकारी अड्डाहरुमा अहिले पैसा बिना काम हुनै नसक्ने अवस्था आएको भन्दै उहाँले सरकारकै कारण भ्रष्टाचार बढेको दाबी गर्नुभयो ।

मन्तब्यको क्रममा शुरुमै कांग्रेसको विधानका विषयमा देखिएको विवादबारे बोल्नुभएका पौडेलले कांग्रेसभित्र गलत काम गर्ने नेतालाई पनि जयजयकार गर्ने परिपाटी विकसित भएकोमा कार्यकर्ताहरुसँग असन्तुष्टि पोख्नुभयो ।

नेताले कार्यकर्ताको मूल्याङ्कन गरेजस्तै कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्न सक्नुपर्ने बताउनुभयो । ‘सय भारी खर काट्नेको पनि उही मूल्याङ्कन, सय भारी खरमा आगो लगाउनेको पनि उही मूल्याङ्कन हुनुहुन्न’, पौडेलले भन्नुभयो ।

पार्टीभित्र देखिएका विवाद हल गर्न आफूले पहल गरिरहेको दाबी गर्दै पौडेलले आगामी महाधिवेशनपछि पार्टी थप बलियो बन्ने दाबी पनि गर्नुभयो । गएको चुनावमा अन्तर्घातकै कारण देशभर कांग्रेस हारेको भन्दै उहाँले पार्टीभित्र न्याय, निष्पक्षता र नेता कार्यकर्ताको पारदर्शी मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया