चम्पादेवी गाउँपालिकामा तालाबन्दी, जनप्रतिनिधिनै उत्रिए आन्दोलनमा

 पुस १६, २०७५ सोमबार १८:२५:५७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – नेपाल कम्युनिष्ट पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले चम्पादेवी गाउँपालिकामा तालाबन्दी गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष नवराज केशीले नियम विपरीत आफ्ना कार्यकर्तालाई शिक्षक तथा कर्मचारी भर्ना गरेको, विकास निर्माणका योजनाको अनुगमन नै नगरी रकम भुक्तानी गरेको, सडक निर्माणमा आर्थिक घोटला गरेकोलगायतका आरोप लगाउँदै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

आफूहरुले पटक–पटक लिखित तथा मौखिक रुपमा अनियमितता र नियम विपरीतका काम रोक्न माग गरे पनि नसुनेकाले तालाबन्दी गरेको नेकपाका नेता तथा वडा नं. ६ का वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो । उहाँले लिखित तथा मौखिक रुपमा कार्यपालिकामा  अनियमितताको बारेमा अनुरोध गर्दा समेत मनपरि नरोकिएपछि आन्दोलन गर्न बाध्य भएको जनाउनुभयो । 

गाउँपालिकाले कर्मचारी नियुक्ति गर्न पाउने कानुनी व्यवस्थान नभएपछि २० जना शिक्षक, ६ जना प्राविधिक कर्मचारी र १ जना वडा सचिव गरि २७ जना कर्मचारी नियुक्ति गरेको छ । गाउँपालिकाले आफूलाई आवश्यक परेका कर्मचारी नियुक्त गर्दा विरोधको औचित्य नभएको अध्यक्ष नवराज केशीले दाबी गर्नुभयो ।

सबैसँग सहकार्य गर्न आफूले छलफल गरेको उहाँको भनाइ छ । नेकपाको आन्दोलनमा नेकपाबाट निर्वाचित तीनजना वडा अध्यक्ष समेत तालाबन्दीको आन्दोलनमा छन् । तालाबन्दी गरेर दिनभर नेकपाका नेता कार्यकर्ता र नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले नाराबाजी गरेका थिए ।

आन्दोलनका कारण गाउँपालिकाबा सबै सेवा ठप्प भएका छन् । गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत र स्थानीय सरकारका ऐन तथा कानुन निर्माण भई नसेकेको अवस्थामा कर्मचारी नियुक्ति लगायतका निर्णय सच्याउन माग गर्दै नेपाल कम्युष्टि पार्टी (नेकपा) चम्पादेवी गाउँपालिका कमिटीले पुस १४ गते गाउँपालिकामा ९ बुँदे ध्यानाआकर्षण पत्र पेश गरेको थियो ।

गाउँपालिकामा लोमो सयदेखि आर्थिक अनियमितता र कार्यकर्ता भर्ति केन्द्र बनाउन मनपरि कर्मचारी नियुक्ति गरेकाले आन्दोलनमा उत्रिएको नेकपाका नेता तीर्थ सुवेदीले बताउनुभयो । गाउँपालिकामा अनियमतिता बढेको, विकासका काममा आफ्ना पार्टी कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर कामै नगरी नक्कली बिल भरपाई बनाएर अनियमितता गरेकाले वडा अध्यक्षहरु गाउँपालिका प्रमुखविरुद्ध आन्दोलनमा आएको वडा नं. ६ का वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष नवराज केसीले तालाबन्दी गरिएको विषय अस्वीकार गर्नुभयो । उहाँले छापामार शैलीमा आएका नेकपाका नेता कार्यकर्ताले कार्यालयमा अवरोध गरेको र समस्या समाधानका लागि छलफल भइरहेको दाबी गर्नुभयो । यो गाउँपालिकामा १० मध्ये तीन वडा मात्रै नेकपाले जितेको छ । दुई तिहाई कार्यपालिकामा नेपाली कांग्रेसको बर्चश्व छ । यस अघिको गाउँसभामा पनि नेकपाका वडा अध्यक्षहरुलाई नबोलाई सम्पन्न गरिएको थियो ।  

विवाद र आर्थिक अनियमितताको आरोप लाग्दै आएको यो गाउँपालिकाविरुद्ध यसअघि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत दर्ता गरेका थिए । यद्यपी उजुरी छानबिन भने नभएको उजुरी कर्ताको भनाइ छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया