सांसद र अध्यक्षबीच जुहारी : मर्यादामा बस्न गाउँपालिका अध्यक्षको सांसदलाई चेतावनी

 पुस १६, २०७५ सोमबार १८:४३:४८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – मिलेर विकास गर्ने जनादेश पाएका स्थानीय सरकार र प्रदेश सरकारका जनप्रतिनिधिबीच एक अर्कालाई खुइल्याउने प्रतिस्पर्धा नै चल्न थालेको छ ।

मिलेर गाउँको विकास गर्नु पर्ने जिम्मेवारीमा रहेका उनीहरुबीच स्वार्थ बाझिएपछि गाली गलौजको शृङ्खला नै सुरु भएको छ । यसले गाउँको विकासमा मात्रै होइन, सांसद र गाउँपालिकाको सम्बन्धमा दरार ल्याएको छ । 

घटना १ 

गुरुङ राष्ट्रिय परिषद्ले पुस १५ गते रुम्जाटारमा आयोजना गरेको तमु ल्होसार कार्यक्रममा सांसद अम्बीरबाबु गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले सम्बोधनका अधिकांश समय चिसंखुगढीकै अध्यक्ष निशान्त शर्माले आर्थिक अनियमितता गरेको, कम अंकमा गिट्टी बालुवा ठेक्का लगाएर स्रोत दुरुपयोग गरेको भन्दै आफूले अनुगमन गरेर कारबाही गर्ने बताउनुभयो । कार्यक्रममा शर्मा उपस्थित हुनु भएको थिएन । अध्यक्ष शर्माले सांसद गुरुङले विकास निर्माणको कुरा देखाएर पार्टी संगठनमा उहाँको निर्देशन नमान्दा सार्वजनिक कार्यक्रममा गाली गलौजमा उत्रिएको बताउनुभयो ।  ‘

घटना २

चिसंखुगढीको खानीभञ्ज्यांगमा सरस्वती माविको नविनिर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा रमाइलो दृश्य देखियो । त्यहाँ सांसदमा सत्ता पक्ष र प्रतिपक्षको जुहारीभन्दा कम थिएन । त्यो जुहारीका पात्र थिए, ओखलढुंगाको प्रदेश ‘क’ का सांसद अम्बीरबाबु गुरुङ र चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा ।

सांसद गुरुङले मञ्चबाटै चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मालाई विभिन्न आरोप लगाएर खुइल्याउने प्रयास गर्नुभयो । उहाँले आफूसँग समन्वय नगरेको, गाउँपालिकाको स्रोत साधन दुरुपयोग गरेको भन्दै नसच्चिए ‘राम्रो नहुने’ भन्दै गाली गर्नुभयो । गुरुङ भाषण सकेर हेलिकप्टबाट उडिहाल्नुभयो । त्यही कार्यक्रममा गाउँपालिका प्रमुख शर्माले प्रमाण ल्याउन अन्यथा जथाभावी नबोल्न चेतावनी दिनुभयो । दुवै नेकपाका नेता र जनप्रतिनिधि हुन् । 

यी त दुई प्रतिनिधि घटना मात्रै हुन् । केही समय पहिले खिजीदेम्वा गाउँपालिकामा गाउँपालिका अध्यक्ष वेदबहादुर रोका र सांसद गुरुङको यस्तै जुहारी चलेको थियो । 

सांसद गुरुङले चिसंखुगढीका अध्यक्षले अनियमितता गर्ने गरेको, आफूसँग समन्वय नगरेको, विकासका काम नगरेको आरोप लगाउँदै आएका छन् । ‘मेरो अरु स्वार्थ छैन, मसँग समन्वय गरेर विकासका काम गर्नुपर्यो’, गुरुङले भन्नुभयो । उहाँले सार्वजनिक कार्यक्रममा गाउँपालिका र अध्यक्षको मर्यादामा आँच आउने कुरा बोलेको भन्दै सोमबार गाउँपालिकाले विज्ञप्तिमार्फत खण्डन गरेको छ । 

गाउँपालिका अध्यक्ष निशान्त शर्माले सांसदले आफ्नो मर्यादा र गरिमा भुलेर अनावश्यक आरोप प्रत्यारोप गरेको भन्दै प्रमाण पुर्याएर कारबाही गर्न गुरुङलाई चुनौतर दिनुभएको छ ।  

विज्ञप्तिमा भनिएको छ, ‘नीति निर्माण र विकास निर्माणमा सबैलाई नेतृत्व प्रदान गर्दै अघि बढ्नु पर्ने जिम्मेवारीमा रहुनभएका माननीयबाटै केही गलत र तथ्यहीन सूचनालाई आधार बनाएर सांसदजस्तो गरिमामय पद र मर्यादाको समेत ख्याल नगरी समन्वय नगरेको, काम नगरेको अनियमितता भएको भनेर दिएका कपोलकल्पित अभिव्यक्तिको यस गाउँपालिका खण्डन गर्दछ ।’

गाउँपालिकाका अध्यक्षहरुले नसोधी काम गरेकामा सांसद गुरुङले आक्रोश पोख्दै आउनुभएको छ । नेकपाकै जनप्रतिनिधिबीचको तल्लो स्तरको छेडछाडले मतदाता र कार्यकर्ता आजित भएका छन् ।

सांसद र अध्यक्षहरुले बसेर समस्या समाधान गर्दै विकास गर्नु पर्नेमा अनावश्यक झगडा गरेर विकासका काम नगरेको उनीहरुको गुनासो छ । एक नेताले भने, ‘सांसदमा अराजकता र जनप्रतिनिधिमा अहमताले घर गरेको देखियो, यस्तो प्रवृति सुधार गर्नुपर्छ ।’
 

अन्तिम अपडेट: चैत १३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Babu Dhamala

    Jan. 2, 2019, 11:03 p.m.

    आफ्नो आफ्नो तागत देखाउन खोज्दा जिल्ला र गाउँ को नै बेइज्जत हुन्छ भन्ने कुरा मा ध्यान जाओस।

  •  0 Reply

तपाईको प्रतिक्रिया