सन् २०१९ का लागि बुद्धिसागरका १९ कसम

 पुस १७, २०७५ मंगलबार ८:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आजबाट अंग्रेजी नयाँ वर्ष २०१९ सुरु भएको छ । चाहे नेपाली नयाँ वर्ष होस्, वा नेपाल सम्वत होस् वा ल्होसार । हामी नेपालीले सबै नयाँ वर्षलाई सम्मान र हर्षोल्लासका साथ मनाउँदै आएका छौँ । 

नयाँ वर्षको सुरुवातसँगै मानिसहरु विगतमा गरेका गल्तीलाई सुधार गर्दै नयाँ बाटोमा हिँड्ने वाचा गर्दछन् । नयाँ उपलब्धि हासिल गर्ने वाचा गर्दछन् । त्यसै क्रममा चर्चित लेखक बुद्धि सागरले पनि सन् २०१९ का लागि १९ वटा वाचा गरेका छन् ।

‘कर्णाली ब्लूज’ र ‘फिरफिरे’ जस्ता चर्चित कृतिका रचनाकार बुद्धि सागरले सन् २०१९ मा नयाँ पुस्तक बजारमा ल्याउनेसमेत अपेक्षा गरिएको छ । नयाँ वर्ष २०१९ को अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमा ‘२०१९ का १९ कसम’ भनेर राखेका छन् । 

के–के छन् त बुद्धिसागरका १९ कसम ?

१–आफ्नो कामको मूल्याङ्कन भएन भनेर रुँदै हिँड्ने छैन । काममै आनन्द खोज्नेछु ।

२–मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । समयलाई आफ्नो बनाउनेछु ।

३–अतित जति सुन्दर, वर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन ।

४–आफ्नो गल्ती नस्वीकारेर, त्यसैलाई मलजल गर्न अनेक कुतर्क गर्दे हिँड्ने छैन ।

५–आफू मात्र महत्वपूर्ण काम लिएर धर्तीमा आएको ठान्ने छैन, अरु पनि 
महत्वपूर्ण काम लिएरै आएका हुन् भन्ठान्नेछु ।

६–गल्ती औँल्याउने सबै शत्रु हुँदैनन् र प्रशंसा गर्ने जति सबै मित्रु हुँदैनन्, बुझ्नेछु ।

७–नयाँ बाटो हिँड्नलाई नयाँ जुत्ता कुरेर बस्ने छैन । कतिले खाली खुट्टा नै अनेक उकाली–ओराली हिँडेका छन्, बुझ्नेछु ।

८–सबैले बलेको आगो ताप्छन् भनेर दुखी हुने छैन । कहिलेकाहीँ दोष चाँडै निभ्नेको पनि हुन्छ । त्यसैले सधैँ बलिरहने कोसिस गर्नेछु ।

९–मेरा कुरा कसैले बुझेनन् भनेर आक्रोशित हुनेछैन । आखिर किन बुझेनन् ? गम्भीर सोच्नेछु ।

१०–अघिपछि ठट्टा गरे पनि कामलाई गम्भीरतापर्वूक गर्नेछु । तर, अघिपछि गम्भीर भएर कामलाई ठट्टा गर्ने छैन ।

११–यो धरतीको अन्तिम सत्य नै मै हूँ र मबिना यो धरती चल्ने छैन, भनेर चिन्ता गर्ने छैन । अहिले चिहानमा हुनेहरुले पनि त्यस्तै सोच्थे ।

१२–समस्या आउनेबित्तिकै हतास हुने छैन । समस्या पहिलो बस चढेर आएको हो, दोस्रो बसमा अवश्य समाधान पनि आउँछ भनेर आफूलाई संयम राख्नेछु ।

१३–अरुले जस्तो खोज्छन्, त्यस्तो बनेर हिँड्ने छैन । आफूभित्र जस्तो छु, बाहिर पनि त्यस्तै बन्नेछु । त्यसलाई मन पराउने पनि मान्छे हुन्छन् तर भेट नभाको भनेर आशावादी बन्नेछु ।

१४–नयाँ जुत्ता लाउनेबित्तिकै कुकुरलाई लात्ती हान्ने छैन । जतिसुकै ठूलो भोकमा पनि जतिसुकै थोरै खानाबाट पनि सन्तुष्ट हुन कुकुरबाट सिक्नेछु ।

१५–आफूले आँखा चिम्लेर संसारै अँध्यारो भयो भनेर रमाउने छैन ।

१६–चिनी कम खानेछु, धेरै चिनी खाएर बोलीमा मीठास आउँदैन भन्ने बुझ्नेछु ।

१७–भेटमा धेरै चेपारो घस्नेसित सावधान हुनेछु । बुझ्नेछु— अघि चेपारो घस्नेले प्रायः पछिल्तिर कुरा काटेर आएको हुन्छ ।

१८–हरेक प्रश्नमा जवाफ हतारमा दिइहाल्ने छैन । कहिलेकाहीँ सही उत्तर अलि ढिला आउँछन् भनेर प्रतिक्षा गर्नेछु ।

१९–यो २०१९ मा म कवि भूपी शेरचनलाई सम्झिने छु । जो भन्थे, ‘कस्मे बहुत खाई लेकिन एक भि निभा न गई । अब तो कस्मे नखाने की कसने खाई है ।’

ह्याप्पी न्यू इयर !

-बुद्धिसागरको फेसबुक पेजबाट साभार
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया