ट्याक्सीमा मिटर भाडा समायोजन

 पुस १७, २०७५ मंगलबार १०:१४:२ | रासस

काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । 

विभागले गएको असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म दुई हजार २०० ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको बताउनुहुन्छ । 

‘मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ’, उहाँ भन्नुहुन्छ । विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा रु ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक किलोमिटरमा ५३  रुपैयाँ उठ्छ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । 

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताउनुहुन्छ । ‘समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ’, उहाँ भन्नुहुन्छ । 

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन् । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया