फोनको खर्च कटाएँ, दक्षिणाको पैसा पनि बचाएँ

 बैशाख २६, २०७५ बुधवार १२:५६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

सुमित्राकुमारी लोप्चोन/लालबन्दी, सर्लाही ।

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई विदाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ । सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्‍यो । 

घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ । श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरिका नजान्दा भने जस्तो भएको थिएन ।

चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवारलाई वित्तीय साक्षरताका कक्षा सञ्चालन हुने भयो । कक्षामा आम्दानी र खर्चको व्यवस्थापनका साथै विभिन्न व्यवहारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।

त्यसपछि म पनि यो कक्षामा बसें । यो कक्षामा बसेपछि मैले आम्दानी के हो र खर्च के हो भन्ने कुरा बुझें । आम्दानी र खर्चलाई व्यवस्थापन गरेर कसरी बचत गर्ने भन्ने कुरा पनि सिकें । 

मसँग आम्दानीको स्रोत त केही थिएन । त्यपछि मैले आम्दानीको बाटो खोजें । माइतीमा आमा बुवाले टिका लगाएर दक्षिणा दिएको पैसा पनि जोगाउन थालें । श्रीमानले खर्च गर भनेर पठाएको पैसा पनि धेरथोर बचाउन थालें । 

त्यसरी बचाएको पैसाले एउटा बाख्रा किनेको छु । अब विस्तारै बाख्रा थप्दै जाने मन छ । खेतबारीमा तरकारी खेती पनि बढाउन थालेका छौं । परिवारका सबै सदस्य मिलेर तरकारी खेती गर्छौं । सिजनको बेला त राम्रै आम्दानी पनि हुन्छ । 

तरकारी खेतीले घरखर्च पुर्‍याउन पाए विदेशमा कमाएको बच्थ्यो भन्ने लाग्छ । वित्तीय साक्षरताको कक्षामा बसेपछि त मैले श्रीमानसँग फोनमा बोल्दा हुने खर्च पनि घटाएको छु  ।

पहिले महिनाको ७ सय खर्च गर्दो रहेछु । अहिले यसलाई घटाएर तीन सयमा झारेको छु । यसको मतलब नबोल्ने भन्ने होइन तर कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जान्दा सजिलो हुँदो रहेछ ।

कक्षामा बसेपछि त मलाई खर्च घटाएर बचत चाहिँ कसरी गर्ने भन्ने कुरा मात्र लाग्छ । आनावश्यक खर्च गर्ने बानी छाडेर राम्रो ठाउँमा बचत गर्न सिकेको छु । बालबच्चा ठूला हुँदैछन् ।

उनीहरुलाई पनि पढाउन बढाउन पर्‍यो । घर बनाउनु पर्‍यो । हामीले खर्च गर्दा भविष्यलाई सोचेर गर्नुपर्ने रहेछ । कक्षामा बसेर यस्ता कुरा सिकेपछि मैले आफूलाई सुधारेको छु । 

अन्तिम अपडेट: भदौ २०, २०७५

तपाईको प्रतिक्रिया