प्रधानमन्त्रीलाई चीनसँग पारवहन र जलश्रोतमा जोड दिन सुझाव

 असार २, २०७५ शनिबार १९:५३:८ | उज्यालो सहकर्मी

काठमाडौं - पूर्व राजदूतहरु तथा परराष्ट्र मामिलाका जानकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमणमा पारवहन, यातायात र जलश्रोत सम्झौतामा जोड दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले चीन भ्रमणमा पपरवहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्ने प्रोटोकलमा हस्ताक्षर हुने दावी गर्नुभयो । अहिले त्यसको गृहकार्य भैरहेको पनि उहाँले बताउनुभयो । 

भ्रमणको क्रममा सडक, रेललगायतका पूर्वाधार क्षेत्रहरु, विद्युत, पर्यटन र सिँचाईको विकासको लागि सघन रुपमा कुराकानी भइरहेको उहाँले जानकारी दिनुभयो । 
अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले चीनसँग गरेको १० बुँदे सम्झौतालाई कार्यान्वयन गर्ने विषय नै प्राथमिकतामा रहने भट्टराईको भनाई छ ।

चीनका लागि नेपालका पुर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालले भारतसँग मात्रै नभएर चीनसँग पनि पारवाहनको हक खोज्नुपर्ने बताउनुभयो ।

चीनसँग १४ देशको सीमा जोडिएको र त्यसमध्ये आठवटा भूपरिवेष्ठित रहेको र ती देशहरुसँग चीनले बिआरआई मार्फत रेशम मार्गमा जोड्न चाहेको उल्लेख गर्दै उहाँले रेशम मार्गमा जोडिनेबित्तिकै ती देशे स्वर्ण युगमा प्रवेश गर्ने दाबी पनि गर्नुभयो । 

चीनको लगानीमा काभ्रेको पाँचखालमा र रसुवामा इकोनोमिक जोन बन्न लागिरहेको बताउँदै उनले अब नेपालले उत्पादनलाई बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री ओलीको यस पटकको भ्रमणमा जलस्रोत र उर्जा क्षेत्रमा सम्झौता हुने संभावना रहेको पनि श्रेष्ठले बताउनुभयो । 

अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा. सुरेशचन्द्र चालिसेले यसअघि चीनसँग भएको पारवहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न यसपटक प्रधानमन्त्री ओलीको भ्रमणमा प्रोटोकलमा हस्ताक्षर भए त्यो स्वागतयोग्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने प्रशस्तै आधार रहेको उहाँको भनाई छ । उनले भने,‘यो सरकारसँग म्याण्डेट छ, स्थायी सरकार बनेको छ, राजनीतिक स्थायित्व छ, अहिले धेरै राम्रो वातावरण छ, त्यसैले प्रधानमन्त्रीको चीन भ्रमण सफल हुन्छ ।’ नेपालमा चीनको रेल आएपनि हामीले यहाँबाट के पठाउने भन्नेबारे सोच्नुपर्ने डाक्टर चालिेको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया