अफगानिस्तानबाट सुरु कादर खानको यात्रा क्यानडामा अन्त्य

 पुस १७, २०७५ मंगलबार १२:४५:११ | एजेन्सी
unn.prixa.net

बलिउडका लागि सन् २०१९ निकै नै दुःखद समाचारका साथ सुरु भएको छ । विगत १६÷१७ हप्तादेखि अस्पतालमा उपचाररत बलिउडका अभिनेता कादर खानको निधनको खबर नयाँ वर्षको पहिलो दिनको बिहान फैलिसकेको थियो ।  

८१ वर्षीय खान लामो समयदेखि श्वासप्रश्वासको समस्याका कारण पीडित थिए । 

क्यानडाको एक अस्पतालमा उपचारकै क्रममा निधन भएका खानको अन्तिम संस्कार पनि क्यानडामै गरिने उनका छोरा सरफराजले जानकारी दिएका छन् । 

खानका छोरा सरफराज लेख्छन्, ‘बुवाले हामीलाई छाडेर जानुभयो । लामो बिमारीपछि उहाँको निधन भयो । बुवाको अन्तिम संस्कार क्यानेडामै गर्छौँ । हाम्रो सबै परिवार यहीँ बस्छौँ । त्यसैले बुवाको अन्तिम संस्कार पनि यहीँ गर्न लागेका हौँ ।’ 

लामो समयदेखि बिरामी रहेका खानको दिमागले पनि काम गर्न छाडेको थियो । खान प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर नामको रोगको सिकार भएका थिए । 

यही रोगका कारण खानको दिमागले काम गर्न छाडेको थियो । चिकित्सकले लगातार मेहनत गर्दा पनि बुवाले जिन्दगीको लडाइँ हारेको उनका छोरा सरफराजले बताए ।

कादर खानले ७० को दशकबाट डायलग लेख्नेदेखि फिल्ममा एक्टिङ गर्नेसम्म खुब नाम कमाएका थिए ।  खुन पसिना, लवारिस, परवरिश, अमर अकबर एंथनी, नसिब, कुली लगायतका फिल्ममा पटकथा तथा डायलग लेख्ने कादर खानले अमिताभ बच्चनको करियर उचाइ लैजान ठूलो रोलसमेत खेलेका थिए । 

तर खानको सुरुवाति जीवन निकै संघर्षपूर्ण रहेको थियो । अफगानिस्तानमा जन्मेका खानका आमाबुवा बसाई सरेर भारत आएका थिए । खान जन्मनुभन्दा अघि जन्मेका तीन भाइको निधन भएपछि उनका बुवाआमाले अफगानिस्तान छाड्ने निर्णय गरेका थिए । 

भारत आएको केही समयपछि नै आमाबुवाबीच सम्बन्ध विच्छेद  भएको र त्यसपछि सौतेनी बुवासँगको साथमा बालापन कष्टकर रुपमा बितेको उनले अन्तरवार्ताकै क्रममा बताएका थिए । 

८०-९० को दशकमा कादर खान गोविन्दा र अनिल कपूरको साथमा कैयौँ फिल्ममा अभिनेताको भूमिकामा देखिए । सन् १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’बाट बलिउडमा कदम राखेका खानले तीन सयभन्दा बढी फिल्ममा काम गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया