विश्वकप फुटबल : ३६ वर्षपछि फर्केको पेरु र लयमा रहेको डेनमार्क

 असार २, २०७५ शनिबार २१:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलमा डेनमार्कसँग खेल्नुअघि राष्ट्रिय धुन बज्दा पेरुका खेलाडी र समर्थकका लागि भावुक क्षण बन्नेछ ।

किनभने पेरु सन् १९८२ पछि पहिलोपटक विश्वकपमा खेल्दैछ । डेनमार्कले पनि ब्राजिल संस्करण गुमाएको थियो । 

समूहमा अर्का दुई बलिया टिम भएको अवस्थामा यी दुई टोलीका लागि आजको तीन अंक महत्वपूर्ण रहनेछ, जसले नकआउट चरणको यात्रा सहज बनाउनेछ । 

फिफा वरियतामा ११ र १२ औं स्थानमा रहेका पेरु र डेनमार्क रातीे ९ः४५मा खेल्दैछन् । पेरु र डेनमार्क पहिलो पटक विश्वकपमा भिड्न लागेका छन् ।

पेरु पहिलो विश्वकप सन् १९३० मै सहभागी भएको देश हो । पहिलो विश्वकपमा १३ टिम मध्य १० औं स्थानमा रहेर प्रतियोगिता टुंग्याएको पेरु गएका आठ संस्करणमा छनोट हुन सकेन । 

यो पटक पेरु राम्रो फर्ममा विश्व फुटबलमा फर्किएको हो । पछिल्लो पाँच खेलमा अपराजित रहेको पेरुको विश्वकप छनोट प्रतियोगिता केही संकटमा परेको थियो । दक्षिण अमेरिकी छनोटमा पाँचौं भएको पेरुले प्लेअफमा न्युजिल्याण्डलाई हराउँदै विश्वकप यात्रा सफल बनाएको थियो । 

डेनमार्कपनि अहिले उस्तै लयमा छ । डेनमार्कले खेलेको पछिल्लो पाँच खेलमध्ये एकमा मात्र पराजय भोगेको छ । विश्वकपमा छनोट हुन डेनमार्कले पनि प्लेअफ खेल्नु परेको थियो । उसले प्लेअफमा आयरल्याण्ड रिपब्लिकलाई ५–१ ले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

पेरुको टिमलाई रिकार्डो गारिकाले सम्हालेका छन् । उनी सन् १९८५ का अर्जेन्टिनाका स्ट्राइकर पनि थिए । सन् २०१५ देखि पेरुको टिम सम्हालेका रिकार्डोले  अहिलेको टिम बनाउन निकै मेहनत गरेका छन् ।

  
प्लेयर्स टू वाच

इडिसन फ्लोरेस र पाउलो गुएरेराे - पेरु


छनोट चरणमा कूल २७ गोल गरेको पेरुका लागि इडिसन फ्लोरेस र पाउलो गुएरेराे प्रदर्शन हेर्न लायक रहेको थियो । दुवै खेलाडीले ५–५ गोल गरेका थिए ।
आजको खेलमा पनि यी दुई खेलाडीको प्रदर्शनमा पेरुको नतिजा भर पर्नेछ ।

डोपिङ प्रकरणमा फसेका गुएर्रो एक वर्षको प्रतिबन्धपछि खेलमा फर्किएका हुन् । 

पेरुका लागि ८९ खेलमा २५ गोल गरिसकेका गुएरेराेसँगै २४ वर्षे इडिसन फ्लोरेसले पेरुको अग्रपंक्ति सम्हाल्नेछन् । फ्लोरेसले २९ खेलमा ९ गोल गरिसकेका छन् ।

छनौट चरणमा सात गोल गरेको पेरुका अधिकाँश खेलाडी मेक्सिकन क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । यी दुई खेलाडीलाई रोक्नु डेनमार्कका खेलाडीको चुनौति हुन सक्छ ।

 क्रिष्टियान इरिक्सन–डेनमार्क

डेनमार्कका क्रिष्टियान इरिक्सन मुख्य खेलाडीका रुपमा रहेका छन् । अहिले टोटनह्यामबाट खेल्ने इरिक्सनले १८ बर्षको उमेरमै सन् २०१० को विश्वकपमा डेब्यु गरेका थिए ।

उनले डेनमार्कका लागि ७८ खेलमा २२ गोल गरेका छन् । विश्वकप छनोट प्रतियोगिताका १२ खेलबाट ११ गोल उनको नाममा दर्ता छ ।

निकोलाई जोर्गेसेन अर्का स्टार खेलाडी हुन् जसको प्रदर्शन डेनमार्कका लागि महत्वपूर्ण रहनेछ । उनले ३६ खेलमा ३ गोल गरेका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया