चिनीको मूल्य वृद्धि नभए उद्योग सञ्चालन गर्न सकिँदैन : चिनी उद्योग महासंघ

 पुस १८, २०७५ बुधबार १५:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन ।

नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशीकान्त अग्रवालले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न सकिने अवस्था नरहेको प्रष्टयाउनु भएको हो । बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले चिनीको यथार्थपरक मूल्य नतोक्ने हो भने उखु कृषकहरुको बक्यौता रकम तीर्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

उखु किसानहरुको बक्यौता रकम तीर्न संसदीय समितिले पटक–पटक चिनी उद्योगहहरुलाई सचेत गराउँदै आएको छ । तर महासंघका अध्यक्ष अग्रवालले चिनी घाटामा बिक्री गर्नु परेकाले किसानहरुको बक्यौता रकम दिन नसकिने बताउनुभयो ।

सरकारले प्रतिकेजी चिनीको मूल्य ५५ रुपैयाँ तोकिदिएको छ । अध्यक्ष अग्रवालले सोही मूल्यमा चिनी बिक्री गर्दा आफूहरु मारमा परेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रतिकेजी चिनीको उत्पादन लागत नै ५५ रुपैयाँभन्दा बढी पर्न जाने भन्दै तत्काल चिनीको मूल्य यथार्थपरक बनाउन पनि सरकारसँग माग गर्नुभयो ।

महासंघले चिनीको वैज्ञानिक मूल्य निर्धारण गर्न स्थलगत अध्ययनमा जान पनि समितिलाई आग्रह गरेको छ । अध्यक्ष अग्रवालले चिनीको मूल्यमा पुनर्विचार नभए यसको उद्योग संचालन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया