विथ्थडचिर गाउँपालिका : आफ्ना मान्छे समितिमा नभएको भन्दै जनप्रतिनिधिले नै रोके सडक निर्माणको सम्झौता

 पुस १८, २०७५ बुधबार १८:५६:३९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – उपभोक्ता समितिमा आफ्ना मान्छे नराखेको भन्दै बझाङको विथ्थडचिर गाउँपालिकाले सडक निर्माणमा सम्झौता गर्न नमानेको पाइएको छ ।

सुनकुडा धारिडोबा ग्रामिण सडक निर्माणका लागि गाउँपालिकाले छुट्याएको ५८ लाख रुपैयाँ सम्झौता गर्नका लागि पटक–पटक गाउँपालिका पुगेका उपभोक्ता समितिका सचिव अमर विष्टलगायको टिमले बुधबार गाउँपालिकामा नै फाइल च्यातेर आगोमा जलाइदिएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष जानकी बोहराले उपभोक्ता समितिको अध्यक्षमा आफ्ना मान्छे राख्न आग्रह गर्दा गर्दै वडा नम्बर ९ का वडा अध्यक्षले नागरिकले भनेका मान्छेहरु नै उपभोक्ता समितिमा राखी समिति गठन गरेपछि उपाध्यक्षले गाउँपालिकामा फाइल पुग्दा रोकेको वडा नम्बर ९ का वडा अध्यक्ष कलक विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपाध्यक्षले मलाई पटक–पटक फोन गरेर आफ्ना मान्छे राख्न आग्रह गर्नु भएको थियो । मैले उहाँको कुरा भन्दा, नागरिकको कुरा सुनेर उपभोक्ता समिति गठन गरेको हुँ ।’

उपाध्यक्षले सडकका लागि छुट्याइएको रकम सम्झौता गर्न नमानेको र आफू मातहतका कर्मचारीहरुलाई पनि फाइल अगाडि नबढाउन निर्देशन दिएको उपभोक्ता समितिका सचिव अमर विष्टले बताउनुभयो । उपभोक्ता समिति गठन गरी सम्झौताका लागि पटक–पटक गाउँपालिकामा पुग्दा कर्मचारी र त्यहाँका उपाध्यायले नमानेपछि आफूले फाइलनै च्यातेर जलाएर आएको उहाँको भनाई छ । 

‘सम्झौता गर्न झण्डै २० दिन जति गाउँपालिकामा धाएका थियौं । सम्झौता भएन । आफ्नो मान्छे उपभोक्ता समितिको अध्यक्ष पदमा नभएको भन्दै उपाध्यक्षले सम्झौता नगर्न कर्मचारीलाई समेत निर्देशन दिएको रहेछ’, उहाँले भन्नुभयो, ‘अन्तिममा हाम्रो केही नलाग्ने र सम्झौता नै गर्न नसकिने भएपछि फाइललाई बोकेर राख्नु औचित्य नरहेको भन्दै फाइल च्यातेर जलाएका हौं ।’

यता गाउँपालिकाका उपाध्यक्ष जानकी बोहराले भने एकलौटी रुपमा उपभोक्ता समिति गठन गरेको भन्दै २–३ जनाले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दर्ता गराएको र त्यसको छानबिनका लागि  केही दिन सम्झौता गर्न रोकेको बताउनुभयो ।

उहाँले मंगलबार गाउँकार्यपालिकाको बैठेक बसी सम्झौता गर्ने भन्ने निर्णय समेत गराइसकेको दाबी गर्नु भएको छ । उपभोक्ता समितिका सचिव अमर विष्टले आफ्ना माग राख्नका लागि त्यस्तो नाटक गरेको आरोप समेत लगाउनु भएको छ ।

यता विष्टले आफूले उपभोक्ता समिति गठन नगरेको र वडा अध्यक्षलगायत यहाँका स्थानीय उपभोक्ताहरुले नै समिति गठन गरेको ठोकुवा गर्नुभएको छ । साथै गाउँपालिका उपाध्यक्षले निवेदन दर्ता भैसकेपछि उक्त कुराको छानबिन गर्न अहिले तत्काल सम्झौता नगर्न आफूले गाउँपालिकाका कर्मचारीहरुलाई समेत आग्रह गरेको स्वीकार गर्नु भएको छ ।

वडा अध्यक्ष र अमर विष्ट मिलेर आफ्ना देबरलाई धम्काएको आरोप समेत उपाध्यक्षले लगाउनु भएको छ । कार्यपालिकाको बैठेकले उक्त सडक निर्माण गर्नका लागि प्रदेश सरकारले उपलब्ध गराउने ५० लाख रुपैयाँ रुष्ट भएका व्यक्तिहरुलाई काम गर्न लगाउने र अहिले गाउँपालिकाको ५८ लाख रुपैयाँ समितिसँगै सम्झौता गर्ने निर्णय भएको समेत उपाध्यक्षले जानकारी दिनुभयो ।

उपाध्यक्ष तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उपभोक्ता समिति गठन गर्दा तीनजना वीरबहादुर ढाँट, राईभान बोहरा र गाउँपालिकाका उपाध्यक्षका देबर मोहन बोहराको उम्मेद्धारी भए पनि बहुमतले वीरबहादुर ढाँटलाई उपभोक्ता समितिको अध्यक्ष चयन गरिएको थियो । 
  

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया