वैकल्पिक शक्ति भन्दै खुलेका दल नचल्ने दोकान र नबिक्ने ‛प्रोडक्ट′ जस्तै

 पुस १९, २०७५ बिहिबार ८:५०:५६ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – गएको वर्ष चुनावका बेला निकै चर्चित भएको नारा हो, ‘अबको आशा, विवेकशील साझा’, ‘अबको निकास, आर्थिक विकास’ र ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ । 

यो नारा वैकल्पिक राजनीति गर्ने भन्दै नयाँ पार्टी खोलेर चुनावमा होमिएका नयाँ दलका थिए ।  डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी ‘अबको निकास, आर्थिक विकास’ भन्दै चुनावमा होमिएको थियो । 

झण्डै १२ वर्षसम्म सशस्त्र युद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आएर तत्कालीन माओवादीबाट प्रधानमन्त्रीसमेत बनेका भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि माओवादीबाट छुट्टिएर वैकल्पिक राजनीति गर्ने भन्दै नयाँ शक्ति पार्टी खोल्नुभएको हो ।  

संसदीय चुनावका बेला प्रचारप्रसारमा रवीन्द्र मिश्र, मिश्र  काठमाडाैं १ मा कांग्रेस नेता प्रकाशमान सिंह श्रेष्ठसँग ८१९ मतले हारेका थिए ।यस्तै लामो समय पत्रकारिता गरेर राजनीतिमा होमिएका रवीद्र मिश्र संयोजक रहेको साझा पार्टी र उज्ज्वल थापा अध्यक्ष रहेको विवेकशील नेपाली दल मिलेर बनेको पार्टी हो विवेकशील साझा पार्टी । चुनावका बेला सामाजिक सञ्जालमा विवेकशील साझाको खुबै चर्चा भयो । ‘अबको आशा, विवेकशील साझा’ भन्ने स्लोगन सामाजिक सञ्जालमा अभ्यस्त बन्ने पछिल्लो पुस्ताको मुखैमा झुण्डिन पुग्यो ।  

नयाँ शक्तिको भन्दा बढी चर्चा चुनावका बेला विवेकशील साझाको थियो । हुन त चर्चा अझै पनि घटेको छैन । तर अहिले पार्टीभित्र देखिएको आन्तरिक किचलोको चर्चा बढी देखिन थालेको छ । विवेकशील साझामा क्रियाशील रहेका कार्यकर्ताहरु पछिल्लो समय निराश देखिन थालेका छन् । ‘अबको आशा, विवेकशील साझा’ नभै ‘अबको आशा, कोरियन भाषा’ भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा विवेकशील साझामाथि व्यङ्ग्य गर्न थालेका छन् । 

वैकल्पिक भनिएका यी सबै नयाँ दल खहरेको भेल जस्ता देखिए । चुनावका बेला सामाजिक सञ्जालमा भेल जस्तो रुपमा चर्चा छाए पनि पछिल्लो समय उही पुरानै पार्टीका ढर्रामा चलेको जस्तो देखिँदै गयो । 

नयाँ विचार प्रतिस्थापन गर्न नसक्नु, कार्यकर्तालाई सभ्य र सुसंस्कृत बनाउन नसक्नु, आफै पनि पार्टीको पद्धति अनुरुप हिँड्न नसक्नु, अरुलाई मात्रै आरोप लगाउँदै हिँड्नुजस्ता प्रवृत्तिले वैकल्पिक भनिएकाहरु पनि ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ जस्ता रहेछन् भन्ने नागरिकमा अनुभूति हुँदै जान थालेको छ । 

वैकल्पिक भनिएका पार्टी छाड्दै नेताहरु  

पार्टी गठन भएको केही समय पनि नबित्दै वैकल्पिक भनिएका पार्टीहरुबाट बाहिरिने क्रम सुरु भइसकेको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट देवेन्द्र पौडेल, रामेश्वर खनाल, गणेशराज राई, केशव दाहाल जस्ता व्यक्ति बाहिरिन पुगे । पार्टीभित्रको राजनीति केन्द्रिकृत भएको र यसले वैकल्पिक शक्ति स्थापना गर्न नसक्ने देखेर बाहिरिएको उनीहरुले बताउने गरेका छन् ।  

यस्तै विवेकशीलबाट पनि अजयभद्र खनाल, ओमप्रकाश अर्याल, सरोज धिताल, रेशु अर्याल ढुंगानालगायत व्यक्ति बाहिरिसकेका छन् । भन्नलाई वैकल्पिक शक्ति भने पनि कामको ढर्रा परम्परागत र पुरानै पार्टीको जस्तो रहेको बाहिरिनेहरुको अभिव्यक्ति छ । 

केही दिनअघि मात्रै विवेकशील साझाका एक संयोजक उज्ज्वल थापाले १८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै पार्टीभित्र प्रणालीभन्दा व्यक्तिकेन्द्रित राजनीति फस्टाएको, नेतृत्वलाई देवत्वकरण गर्ने कुप्रथा मौलाएको जस्ता आरोप लगाउनुभयो । यसले वैकल्पिक र सुसंस्कृत राजनीति गर्ने भन्दै नयाँ दल खोलेका पार्टीहरुको वास्तविकता बाहिर ल्यायो ।  

राजनीतिलाई पेशा र व्यवसाय ठान्ने प्रवृत्ति

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीराजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीको भनाई मान्ने हो भने नेपालको सन्दर्भमा अहिले  सुसंस्कृत वैकल्पिक शक्तिको निर्माण हुनै सक्दैन । अहिलेको समाज उपभोक्तावादी र राजनीति भनेको पेशा व्यवसाय हो भन्ने ठान्ने अवस्था रहेकाले वैकल्पिक शक्तिको आवश्यकता रहे पनि निर्माण कठिन रहेको उहाँले बताउनुभयो । 

‘वैकल्पिक राजनीतिक शक्तिका लागि चाहिने पूर्वाधार, नागरिक चेत नेपालको परिवेशमा अहिले छैन’, केसीले भन्नुभयो, ‘अहिले त जसरी पनि राजनीतिक दाउपेचबाट शक्ति सञ्चय गर्ने र आफ्ना परिवार, नातेदार, आसेपासेलाई मात्रै पोस्ने प्रवृत्ति हावी छ ।’  

वैकल्पिक शक्ति भन्दै आएका पार्टीको गतिविधि हेर्दा यिनीहरु पुरानाभन्दा पनि प्रतिकूल कार्यशैली भएकाहरु देखिएको उहाँको दावी छ ।  

वैकल्पिक शक्ति भनिएका पार्टीहरुबाट बाहिरिनेहरुको उदाहरण लिने हो भने उनीहरु पदीय ग्यारेण्टी वा अवसर पाउञ्जेलसम्म पार्टीमा बसिरहने र पदीय ग्यारेण्टी नदेखेपछि बाहिरिने चरित्र देखिएको केसीको भनाई छ । राजनीति भनेकै मालामाल हुन गरिने एउटा साध्य हो  भन्ने सोच राख्नेहरु नै एउटाबाट अर्को अनि अर्कोबाट अर्कोमा आउनेजाने गर्ने गरेको बताउनुहुन्छ केसी ।  

अहम बोकेर हुँदैन वैकल्पिक शक्ति

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईको केही दिनअघि मात्रै प्रकाशित लेखमा परम्परागत रुपमा स्थापित कांग्रेस र कम्युनिष्ट ‘ब्रान्ड’का दलहरुले आफूलाई युगानुकूल रुपान्तरण गर्न सक्दैनन् र यही ढंगले राज्यसत्ताको दोहन गर्ने थप नयाँ साधनका रुपमा आफूलाई परिणत गर्छन् भने जनताले नयाँ अग्रगामी लोकतान्त्रिक विकल्प खोज्नुपर्ने स्थिति आउँछ भनेर भन्नुभएको थियो ।

तर नयाँ शक्ति पार्टीले अहिलेको अवस्थामा किन नागरिकलाई आफूतिर तान्न सक्ने हैसियत राखेन भन्दै राजनीतिक विश्लेषक केसीले प्रश्न गर्नुभयो । 

वैकल्पिक शक्ति स्थापना गर्नेहरु स्वभावतः नम्र भएर प्रस्तुत हुनुपर्नेमा अहम र ठालु बन्ने प्रवृत्तिले सफलता हात नपरेको केसीको ठहर छ । ‘आफ्नो बारेमा टिप्पणी आएपछि बाझ्नै आउने प्रवृत्तिले उनीहरु पछि परेका हुन्’, केसीले भन्नुभयो, ‘आफ्नो बारेमा टिप्पणी आएपछि त बरु सुधार गरेर अघि बढ्छु भन्न सक्नु पर्ने हो नि, त्यो वैकल्पिक भनिएका पार्टीका नेतृत्वमा देखिएन ।’  

२०४७ मै भएको थियो वैकल्पिक शक्तिको सुरुवात 

वैकल्पिक शक्तिको अवधारणा यो नै पहिलो होइन । यसअघि पनि परम्परागत रुपका पार्टीहरुबाट परिवर्तन सम्भव छैन भन्दै वैकल्पिक शक्ति स्थापना भएका उदाहरण छ । 

२०४७ सालतिर फर्कने हो भने टंक कार्कीले वैकल्पिक समूह खडा गरेका थिए । देवेन्द्रराज पाण्डेलाई अगाडि सार्दै सुरु गरेको त्यो समूह केही समयमा नै लुप्त भयो । ‘विचारमात्रै भएर पनि पार्टी अगाडि बढ्न नसक्ने रहेछ भन्ने देखियो’, केसी भन्नुहुन्छ, ‘अहिले त नेता कार्यकर्ता परिचालन गर्न सक्ने पार्टीको आर्थिक हैसियत पनि तगडा हुनुपर्ने रहेछ ।’  

त्यो नहुँदा ०४७ मा स्थापना भएको वैकल्पिक शक्ति त तुहियो, त्योसँगै त्यसको नेतृत्व गर्नेहरुको पनि राजनीतिक भविष्य सकिएको उहाँले बताउनुभयो । अहिलेको अवस्था पनि त्यस्तै देखिएको केसीको बुझाइ छ ।  

‘बजारशास्त्र अनुसार उपभोक्ताको डिमाण्ड के छ त्यही अनुरुप कम्पनीले सामान उत्पादन गर्नुपर्छ नभए उत्पादित बस्तु खेर जान्छ’, केसीले भन्नुभयो, ‘अहिलेको अवस्था त्यस्तै हो । वैकल्पिक शक्तिका लागि आवश्यक बजार नै छैन ।’  

जुन फ्याक्ट्रीले मसालेदार प्रोडक्ट उत्पादन गर्छ त्यो चल्ने र जसले यस्तो मसालेदार प्रोडक्ट उत्पादन गर्न सक्दैनन् तिनीहरु केही समयपछि बजारबाटै हराएर जाने केसी बताउनुहुन्छ । 

‘अहिलेको अवस्थामा वैकल्पिक भनिएका शक्तिहरुले न त मसालेदार प्रोडक्ट उत्पादन गर्न सक्छन् न बजारमा आफ्नो बर्चश्व बढाएर जान सक्ने अवस्था छ’, केसी भन्नुहुन्छ, ‘नेपालको सन्दर्भमा वैकल्पिक शक्ति भनेका नचल्ने दोकान जस्तै हो । नबिक्ने प्रोडक्ट भने जस्तै हो ।’ 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • बसन्त भट्टराई

    Jan. 3, 2019, 5:38 p.m.

    अरुले नराम्रो गर्दिए आफ्नु पालो आउछ भनेर च्याखे दाउ थापेर बसेकै भरमा आफु नेपालको लागी विकल्प हुन सकिन्छ कि भनेर देखिएको दिवा सपना चकनाचुर भयो! आफ्नु कुनै एजेण्डा नै छैन, नीति तथा कार्यक्रम छैन ! म आफै पनि विवेकशील साझा को शुभ चिन्तक नै हो ! बानेश्वोरको एउटा कार्यक्रममा मैले रविन्द्र मिश्र जी लाइ एउटा प्रश्न सोधेको थिए, " मिश्र जी नेपाल बन्न नसकेको भ्रष्टाचारले हो, विवेकशील साझा ले भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा के कस्ता नीति तथा कार्यक्रम अगाडी सारेको छ?" मिश्र जी को उत्तर बडो हास्यास्पद आयो, " हेर्नोस! अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा गत्तिलो मान्छे प्रमुख आयुक्त बन्नु पर्छ, भ्रष्टाचार जरै देखि उन्मुलन हुनेछ." यसको अर्थ वहाहरु सँग पनि भ्रष्टाचार हुन नदिने चै कुनै नीति नै छैन, भए पछि कारवाही गर्ने अख्तियार रुपी हतियार जुन बर्षौ देखि असफल भै रहेको छ, त्यो नै वहाहरुको पनि विकल्प हो भने त, वहाहरु कसरि बैकल्पिक शक्ति हुनु हुन्छ र? तेस पछि राधे श्याम काण्ड मचाउनु भयो, यो काण्ड मच्चाउदै गर्दा पार्टीका हजारौ शुभचिन्तक अनि समर्थक हरुले यो कदम गलत भयो, आत्मा आलोचना गरौ र येस्ता गलत कदम सच्याएर अगाडी बडौ भनेर अनेक अनुनय बिनय गर्दा पनि मेरो गोरुको बार्है टक्का भनेझै कसैको नसुनी, कसलाई नगनी, पुरातनबादी शैलीमा अगाडी बढे पछि जनतामा वहाहरु प्रतिको विश्वास कम हुदै गयो, हुदा हुदा अब त आफै छिन्न भिन्न भएर घरको न घाट को हुने दिन आइ सक्यो.

  •  0 Reply

तपाईको प्रतिक्रिया