प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

 पुस १९, २०७५ बिहिबार १०:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ । 

बिहान १२ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । सम्बोधनमा उहाँले प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय, सरकारका काम कारबाही र केही दिनअघि संसदमा विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने तयारी रहेको संयोजक अधिकारीले बताउनुभयो । 

सम्बोधनमा प्रधानमन्त्री ओलीले वाइडबडी विमानको खरिदमा भ्रष्टाचार भएको विषयमा पनि बोल्ने तयारी गर्नुभएको छ । यसबारेमा लेखा समितिले आधिकारिक निर्णय बाँकी नै रहेकाले सरकारले अहिल्यै छानबिन नगर्ने तर लेखा समितिले पनि भ्रष्टाचार भएको ठहर गरेमा जरैदेखि त्यसको अनुसन्धान गर्ने मनस्थिति बनाउनुभएको उहाँका सल्लाहकारहरुले जनाएका छन् । 

सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी विमान खरिदमा ३ अर्ब ३४ करोड रुपैया भ्रष्टाचार भएको ठहर गर्दै बहालवाला मन्त्री सचिवलगायतलाई कारबाही गर्न सुझाव दिएको छ । 

यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक र परमाणिक विधेयकमा छलफल गर्ने तयारी छ । दिउँसो १२ बजे बस्ने बैठकमा अस्तिको बैठकमा प्रस्तुत गरिएका केही नेपाल ऐन संशोधन गर्ने विधेयक र परमाणिक विधेयकमा छलफल गर्ने तयारी रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया