रेशम चौधरीले आज सांसदको सपथ लिँदै

 पुस १९, २०७५ बिहिबार ११:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् । 

कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका चौधरीेलाई बिहीबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराउने संसद सचिवालयले जनाएको छ । 

सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा चौधरीलाई सपथ गराइने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । चाैधरीलाई बिहान साढे ११ बजे सपथ गराउने कार्यक्रम तय गरिएको थियो तर कारागारबाट लैजान समय लाग्ने भएको भन्दै दिउँसाे ३ बजेलाई सारिएको छ ।

चौधरी सपथ ग्रहणपछि कारागार नै चलान हुनेछन् । चौधरीको दल राजपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चौधरीको सपथ  गराउन दबाब दिइरहेको थियो । 

‘प्रतिनिधिसभा नियमावली २०७५’ को नियम २४४ को उपनियम ३ अनुसार नैतिक पतन देखिने फैजदारी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सदस्यले सांसदको हैसियतमा कुनै पनि काम गर्न नपाउने उल्लेख गरिएको छ । त्यस्तै उपनियम ४ मा फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म र कैदमा बसेको अवस्थासम्म सांसद पद स्वतः निलम्बन हुने उल्लेख छ । 

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । 

२०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको ज्यान गएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारागारमा तीन वर्षदेखि कारागारमा छन् । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया