कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अगाडि बढाउन नेकपा नेता रावलको माग

 पुस १९, २०७५ बिहिबार १३:२७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग गर्नु भएको छ । 

नेता रावलले आयोजना विकास सम्झौता अनुसार भारतीय कम्पनी जीएमआरले त्यस आयोजनाको काम अघि नबढाउँदा पनि कुनै कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नुभयो । 

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जीएमआर कम्पनीले आयोजनाको कामअघि बढाउन ठेक्का पाए पनि त्यस सम्झौताअनुसार काम गराउने काममा सरकार गैरजिम्मेवार भएको आरोप पनि लगाउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आएका बेला त्यो सम्झौता अघि बढाउन प्रतिबद्धता जनाएको भए पनि त्यसलाई अघि बढाउन नसकेकोमा नेता रावलको आपत्ति छ । नेता रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने सम्झौता गरिएको ६८ महिना १५ दिन बित्दा पनि त्यस सम्झौतामा उल्लेख गरिएको सर्तअनुसार जीएमआर कम्पनीले काम अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न पनि सरकारसँग माग गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनु भएका नेता रावलले जीएमआर कम्पनीसँग गरिएको सम्झौता अनुसार त्यो आयोजनाको वित्तीय व्यवस्थापन गर्न ढिलाई गरेकोमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

९ सय मेगावाट क्षमताको त्यो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन जीएमआर कम्पनीसँग २०७१ साल असोज ३ गते गरिएको सम्झौता कार्यान्वयनमा नआएपछि सत्तारुढ नेकपाका नेता रावलले असन्तुष्टि जनाउनु भएको हो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया