चिप्लेकिराको गतिमा रहेकाे मेलम्चीकाे काम अहिले जापानिज कार जसरी दौडिएको छ: प्रम ओली

 पुस १९, २०७५ बिहिबार १५:४४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दावी गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध आएपनि त्यसलाई समयमै पूर्णता दिन सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

उहाँले मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार रहेको पनि स्पष्ट पार्नु भयो । इटालियन ठेकेदार कम्पनी सीएमसीले बजेट अभावको कारण देखाउँदै काम छोडेर गइरहेका बेला पनि प्रधानमन्त्री ओलीले सो आयोजनाको कामलाई पूर्णता दिन ढिलाई नहुने बताउनु भयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले हरेक दिन एक पाइला अघि बढने गरी सरकारले विकास निर्माणको कामलाई अघि बढाएको दावी पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पुरानै अवस्थामा परिणत गर्ने प्रतिबद्धता पनि दोहोर्‍याउनु भयो । उहाँले काठमाडौं उपत्यकामा स्वच्छ हावा, सफा र पीउन योग्य पानी बनाउने संकल्पप्रति सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

चाइनाको साफबोन वाटर सर्भिस होल्डिङले सो प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी लिएको छ । कूल ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो प्रशोधन केन्द्र ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।

प्रधानमन्त्री ओलीले सो प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री विना मगरले प्रशोधन केन्द्र निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्न सरकारले आवश्यक सबै खालको सहयोग निर्माण कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया