रेशम चौधरीको पद तथा गोपनीयताको सपथ स्वाभाविक हो : मन्त्री बास्कोटा

 पुस १९, २०७५ बिहिबार १८:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सरकारले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनीयताको सपथ स्वाभाविकै भएको टिप्पणी गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, नागरिकले जिताएका सांसद चौंधरीको पद तथा गोपनीयताको सपथ स्वाभाविकै भएको प्रतिक्रिया दिनु भएको हो ।

बिहीबार संचारकर्मीमाझ उहाँले अदालतको फैसला अनुसारको कानुनी कारबाही भने सांसद चौधरीले भोग्ने पर्ने पनि स्पष्ट पार्नुभयो । राज्यले अदालतले गरेको निर्णय मान्नैपर्ने मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले वाइडबडी विमान खरिद प्रक्रियामा सम्बन्धमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा कसैलाई पनि कारबाही नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले वाइडबडी विमान खरिद सम्बन्धमा सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बाहिर सार्वजनिक भएकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

उपसमितिको विमान खरिद सम्बन्धीको प्रतिवेदन समितिमा पेश भएको र समितिको निर्देशन आएपछि सरकारले त्यस सम्बन्धमा आवश्यक निर्णय लिने पनि मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

मन्त्री बास्कोटाले उपसमितिले लगाएको त्योे आरोप पुष्टि गर्न सरकार आफैँले पनि छानबिन समिति गठन गर्ने स्पष्ट पार्नुभयो । बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई समेत कारबाही गर्नुपर्ने निष्कर्षसहित उपसमितिले आफ्नो प्रतिवेदन समितिमा बुझाएको थियो ।

प्रतिवेदनमा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै त्यसमा मुख्य भूमिकामा रहेका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने सुझाव पनि दिएको छ ।

मन्त्री बास्कोटाले आरोप पुष्टि भए वाइडबडी विमान खरिद प्रकरणको दोषीमाथि कडा कारबाही गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया