हेलिकप्टरले जोगायो सुत्केरीको ज्यान

 पुस १९, २०७५ बिहिबार २०:४२:३५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बु सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नम्बर ३ कि डोमा राईको बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लामो समयदेखि प्रसव बेथा लागेकी राईलाई घरआगन नामक संस्थाले हेलिकप्टरबाट काठमाडौं लगेको छ । डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा अप्रेशन गरी छोरालाई जन्म दिनुभएको छिमेकी एवम् युवा संघ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्भवती महिलालाई बिहान ११ बजे उद्धार गरिएको हो । दुई दिनसम्म प्रसव बेथा लगेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि रिफर गरिएको बताइएको छ ।

सोताङमा सम्भव नभएपछि सोलु एफएमको समन्वय तथा युवा संघ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीको पहलमा गर्भवतीको उद्धार गरिएको हो । घरआगनका अध्यक्ष दिपक सिलवाललाई सम्पर्क गरी हेलिकप्टरमार्फत काठमाडौं लागि डोमाको ज्यान जोगाउन सफल भएको केन्द्रीय सदस्य किराँतीले जानकारी दिनुभयो ।

गएको मंसिर २० गते सोताङ गाउँपालिका तीनकै गर्भवती महिला पार्वती बस्नेतको समेत सोही संस्थाले उद्धार गरेको थियो । जटिल अवस्थामा रहेका बिरामीलाई उद्धार गर्ने गरिएको संस्थाका अध्यक्ष दिपक सिलवालले बताउनुभयो ।

उहाँका अनुसार आजसम्म संस्थाले विभिन्न जिल्लाका ७ जना गर्भवती महिलालाई उद्धार गरिसकिएको छ । गर्भवती महिलाको अकालमै ज्यान जानबाट बचाउनको लागि आफ्नो संस्थाले काम गरिरहेको सिलवालको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया