जीवनसाथीले धोका दिए: बाख्रापाठा बने जीवनको सहारा

 पुस २०, २०७५ शुक्रबार १५:०:३४ | डीबी बिष्ट

बझाङ – ‘बाल्यकालको पढ्ने लेख्ने तथा बुबा आमासँग हाँसखेल गर्ने उमेर थियो । म ९ बर्षकी थिएँ । छिमेकी गाँउबाट मलाई माग्न आए । विवाह गर्ने उमेर कति हो केही पत्तो थिएन । छाउ हुनुभन्दा अघि नै विवाह गर्दा अभिभावकहरुलाई पुण्य मिल्छ भन्ने चलन थियो । बुबा आमाको पुण्यका लागि मेरो जीवन बर्बाद भयो । त्यति बेला कसै कसैका छोरीहरु मात्रै स्कुल जान्थे, नत्र हामी सबै दाउरा घाँस काट्न जंगलतिर जान्थ्याैँ । छोरीले पढ्नु हुन्न भन्ने परम्परा थियो । विवाहका लागि छिमेकी गाँउबाट कुरा आएपछि मेरा बुबा आमाले पनि नाइँ भन्न सकेनन् । छोरीको विवाह गर्ने उमेर भैसक्यो । पुण्य मिल्छ भन्दै विवाह गरेर पराइको जिम्मा लगाइदिए ।’ याे वृत्तान्त जयपृथ्वी नगरपालिका वडा नम्बर–१०, मादुकात्न्या मा रहेको माइतीमा बस्दै आएकी भानुमती जोशीकाे हाे । 

९ वर्षको उमेरमा जोशीको विवाह जयपृथ्वी नगरपालिका वडा नम्बर–३, का चन्द्रराज जोशीसँग भएको थियो । जोशी पढ्नका लागि काठमाडाैं जानुभयो ।

जोशीले काठमाडाैंमा नै अर्कै महिलासँग घरजम गर्नुभयो । २ वर्षसम्म श्रीमानको प्रतीक्षामा बसेकी भानुमतीले श्रीमानले विवाह गरेको थाहा पाएपछि माइती फर्कनु भयो । उहाँ श्रीमानको माया मुटुभरी बोक्दै एक दिन त फर्कनुहोला भन्ने आशामा अर्को विवाह नगरी माइतीमै बस्नुभयो । 

तर श्रीमान फर्किनु भएन । उहाँको पर्खाइमा बस्दा बस्दै बुढेशकाल लागेको जोशीलाई पत्तो नै भएन । अहिले जोशी ५८ वर्ष पुग्नुभयो । बुढेशकालमा सहारा केही पनि नभएपछि जोशीले महिला अधिकार मञ्चमा सहयोगको लागि अपिल गर्नुभयो । एउटा बाख्रा किन्नका लागि महिला अधिकार मञ्चले सहयोग गर्यो । 

त्यही एउटा बाख्राबाट अहिले जोशीले बाख्राकाे संख्या ७ पुर्याउनुभएकाे छ । बुढेशकालको सहारा कोही नभए पनि बाख्रा नै सहारा बनेको उहाँको भनाइ छ । 

‘जोसंँग जुनी काटाैँला भन्ने ठानेकी थिएँ,’ जोशीले भन्नुभयो, ‘उनीहरुबाटै धोका पाएपछि धोका नदिने चिज नै जीवनको सहारा बनाएकी छु । बुढेसकालमा अरु केही नभए पनि यही बाख्रा बिक्री गरेर जीविका चलाउने मेरो सोच छ । ’

अन्तिम अपडेट: बैशाख ६, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया