विश्वकप फुटबल : उपाधि रक्षामा जर्मनी, क्वार्टरफाइनलमाथि जान नसकेको मेक्सिको

 असार ३, २०७५ आइतबार ९:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको साविक विजेताका रुपमा रहेको जर्मनी आइतबार मेक्सिकोविरुद्धको खेलसँगै विश्वकप सुरवात गर्नेछ । त्यस खेलमा जित हासिल गर्दै जर्मनी उपाधि रक्षाको यात्रा पनि सुरु गर्ने लक्ष्यमा छ ।

विश्वकपकै बलियो टोलीमध्येको एक जर्मनीले चार वर्षअघि ब्राजिलमा चौथो पटक विश्वकपको उपाधि जितेको थियो । र, अहिले उसले सन् १९६२ पछि पहिलो पटक लगातार दुई विश्वकपको उपाधि जित्ने कीर्तिमान बनाउन चाहन्छ । सन् १९६२ मा पेले प्रेरित ब्राजिलले लगातार दोस्रो पटक विश्वकप जितेको थियो ।

समूह एफको पहिलो खेलका रुपमा जर्मनीले मस्कोको लुज्निकी रंगशालामा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजेदेखि सुरु हुनेछ । विश्वकपमा अहिलेसम्म क्वार्टरफाइनलबाट माथि जान नसकेको मेक्सिको र साविक विजेता आमने सामने हुँदैछन् ।

जर्मनी लामो समयदेखिका प्रशिक्षक जोचिम लोको नेतृत्वमा हमेशा बलियो टोलीको रुपमा रहन्छ । यद्यपी पछिल्लो तीन विश्वकपको साविक विजेताले त्यसपछिको प्रतियोगितामा निक्कै खराब प्रदर्शन गरेको छ ।

जर्मनी टिमको तथ्य के हो भने चार वर्षअघिको फाइनलमा अर्जेन्टिनाबिरुद्ध गोल गर्ने मारियो गोट्जे टिममा छैनन्, साथै म्यान्चेस्टर सिटीका स्टार लेरोय साने पनि टिममा अटाएनन् । यसबाटै बुझ्न सकिन्छ कि जर्मनी कति बलियो छ ।

जर्मन टिमको अग्रपंक्तिमा टिमो वेर्नरले थोमस मुलर र मार्को रिउससँगै प्लेइङमा सेटमा स्थान बनाउने सम्भावना छ । त्यस्तै मिडफिल्डको जिम्मेबारी टोनी क्रुज र मेसुट ओजिलले संहाल्नेछन् ।

यस सिजन वेष्ट ह्याममा विर्सनलायक प्रदर्शनका बाबजुद जाभियर हर्नाण्डेज अझै पनि मेक्सिकोका मूख्य खेलाडी हुन् । र, गोलकिपर गुलेर्मो ओचोआले पनि चार वर्षअघि ब्राजिलमा गरेको शानदार प्रदर्शन दोहोर्याउने अपेक्षा गरिन्छ ।

जर्मनी रुस विश्वकपको सबैभन्दा बलियो दावेदार हुँदै गर्दा पनि अघिल्ला संस्करणहरुमा साविक विजेताहरुको खराव प्रदर्शनको इतिहासले उ अतिसंवेदनशील छ ।

सन् १९९८ को विजेता फ्रान्सले सन् २००२ मा समूह चरणबाट बाहिर जान सकेन । त्यस्तै सन् २००६ को जर्मन विश्वकप जितेको इटली सन् २०१० मा समूह चरण पार गर्न सकेन । सन् २०१० को च्याम्पियन स्पेन सन् २०१४ को ब्राजिल विश्वकपमा समूह चरणबाट माथि जान सकेन । सन् २०१४ मा स्पेन समूह चरणमै नेदरल्याण्ड्ससँग ५–१ गोलले पराजित भएको थियो ।

साने र गोट्जेको अनुस्थितिका बाबजुद जर्मन टोलीमा प्रतिभाको कमी छैन । आफू सहभागि भएका हरेक प्रतियोगितामा जर्मनी उपाधिको दावेदार रहन्छ, र यस वर्ष भिन्न पृष्ठभूमिमा उसले आफूलाई प्रमाणित गर्नुपर्नेछ ।

गएकाे शुक्रबार साउदी अरबबिरुद्धको जितभन्दा अघि र गएकाे अक्टोबर विश्वकप छनोटमा अजरबैजानबिरुद्ध जित हासिल गरेपछि जर्मनीले लगातार तीन अन्तर्राष्ट्रिय खेलमा जित हासिल गर्न सकेको थिएन । ब्राजिल र अष्ट्रियासँग हारेको जर्मनीले स्पेनसँग बराबरी खेलेको थियो ।

आइतबार मेक्सिकोबिरुद्ध उसको वास्तविक परीक्षा हुनेछ । जर्मनीको पछिल्लो लय मिश्रित रहेको दावी गरिरहँदा मिडफिल्डर क्रुज टिमको पछिल्लो आचरणबाट खुसी छन् ।

‘भलै हामीले साउदी अरबसँग त्यस्तो खेल देखाउन सकेनौं, जस्तो हामीबाट अपेक्षा गरिन्छ । तर, मैले के महशुस गरेको छु भने हामी सबैमा एउटा भोक छ । तपाईं हाम्रो एटिच्युडमा आलोचना गर्ने ठाउँ छैन । हामी त्यस्तै एटिच्युड विश्वकपमा देखाउनेछौं ।’ क्रुजले पत्रकारहरुसँग भने ।

यता मेक्सिको लगातार सातौं विश्वकप खेल्नका लागि रुस पुगेको छ । र, उसले अहिलेसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन । यद्यपी मेक्सिकोसँग अनुभवी टिम छ । फेरि एकपटक उसलाई समूहमा कठिन हुनसक्छ । किनभने यस समूहमा स्वीडेन र दक्षिण कोरिया पनि छन् ।

ब्राजिल विश्वकपमा नायक बनेका गोलरक्षक ओचोआ विश्वव्यापी रुपमा चर्चित बनेका थिए । उनीबाट फेरि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया