आइफोनबाट ट्वीट गर्ने कर्मचारीलाई हुआवेले गर्यो कारबाही

 पुस २०, २०७५ शुक्रबार १७:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

हुआवे कम्पनीमा काम गर्ने दुईजना कर्मचारीलाई आइफोनबाट ट्वीट गरेको आरोपमा कारबाही गरिएको छ ।

हुआवे कम्पनीका दुईजना कर्मचारीलाई आइफोनबाट हुआवेको ‘अफिसियल’ ह्याण्डल खोलेर ट्वीट गरेको आरोपमा कारबाही गरिएको हो । ट्वीट अंग्रेजी नयाँ वर्षको दिन गरिएको थियो । ‘ह्याप्पी २०१९’ लेखेको ट्वीट आइफोनबाट गरेको देखिएपछि दुईजना कर्मचारीलाई कारबाही गरिएको हो ।

चाइनिज कम्पनी हुआवेले एप्पललाई प्रतिद्वन्द्वी कम्पनीको रुपमा लिँदै आएको छ । उसले आफ्ना कर्मचारीहरुले हुआवेकै उत्पादन उपयोग गर्नुपर्नेमा जोड दिने गरेको छ । हुआवेले चीनमा आफ्नो उत्पादन प्रयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

हुआवेले गएको वर्ष स्यामसङलाई समेत टक्कर दिने गरी बजार विस्तार गरेको थियो भने एप्पललाई पछि पारेको थियो । रोयटर्स न्युज एजेन्सीका अनुसार कम्पनीले आइफोनबाट ट्वीट गर्ने दुईजना कर्मचारीको तलब घटाएको छ भने पद पनि घटुवा गरेको छ ।

तत्कालै हुआवे अफिसियल ट्वीटर ह्याण्डलबाट ट्वीट हटाइए पनि त्यो सामाजिक सञ्जालभर फैलिन भ्याइसकेको थियो । हुआवेले आइफोनबाट ट्वीट गरेका कारण आफ्नो उत्पादन बिक्रीमा कमी आउने र ब्राण्ड खस्कने भन्दै कर्मचारीलाई समेत सचेत गराएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया