गोविन्दाले कादर खानलाई पितासमान भन्दा गोविन्दामाथि किन खनिए कादरका छोरा सर्फराज?

 पुस २०, २०७५ शुक्रबार १७:४५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

२०१८ को अन्तिम दिन डिसेम्बर ३१ बलिउडका दिग्गज अभिनेता कादर खानको लागि पनि अन्तिम दिन सावित भयो । उनी त्यही दिन यस संसारबाट बिदा भएर गएको खबर सार्वजनिक भएसँगै बलिउड जगतका कलाकारले पनि सामाजिक संजालमार्फत शोक प्रकट गरेका थिए । 

यसै क्रममा अभिनेता गोविन्दाले समेत इन्स्टाग्राममा कादर खानसँगको एक तस्बिर सेयर गर्दै कादर खान आफ्ना लागि पिता समान रहेको बताएका थिए । 

गोविन्दाको उक्त पोष्ट कादर खानका छोरा सर्फराजले देखेपछि उनी गाविन्दादेखि निकै भड्किएका छन् । सरफराजले एक मिडियासँग भनेका छन्, ‘मेरो बुवालाई सारा बलिउड उद्योगले नै वेवास्ता गरिदिएको थियो । र बुवा सधैं यो भन्दै सम्झाउनु हुन्थ्यो कि उनीहरुबाट कुनै पनि अपेक्षा नराख्नु । गोविन्दालाई यो सोध्नुहोला कि उनले मेरो बुवाको हालखबर कस्तो छ भनेर बुझ्नका लागि कति पटक फोन गरेका थिए ? उनले बुवाको निधनपछि पनि हामीलाई एक कल फोन गर्ने कोशिश समेत गरेनन् ।’ 

सरफराजले अगाडि भने, ‘बलिउडमा कैयौं व्यक्तिहरु थिए जोसँग मेरो बुवा निकट हुनुहुन्थ्यो । तर एक जनामात्रै यस्ता व्यक्ति थिए जसलाई मेरो बुवा मन पराउनु हुन्थ्यो । र वहाँ अमिताभ बच्चन हुनुहुन्छ । मैले बुवालाई तपाईँ सबैभन्दा बढी कसलाई याद गर्नुहुन्छ भनेर सोध्दासमेत अभिताभजी कै नाम लिनुहुन्थ्यो । र मलाई थाहा छ यो दुवैतिरबाट बराबर नै थियो ।’

सरफराजले बुवा कादर खानले अस्पतालमा भर्ना भएपछि पनि अमिताभ बच्चनसँग कुराकानी गरेको बताएका छन् । सामाजिक संजालमा फोटो राखेर बाहिरी दुनियालाई देखाउनकै लागि सम्मान गरेको झैं गर्छन् तर त्यो कुरा फोटोमै मात्रै सीमित हुने उनले बताएका छन् । 

साथै गोविन्दाले उनका बुवासँग अधिकांश फिल्ममा छोराको भूमिकामा अभिनय गरेको भए पनि पछिल्लो समय बुवाको हालखबर सोध्न कहिले पनि फोन नगरेको  उनले बताएका छन् ।  

अभिनेता गोविन्दा र कादर खानले ‘कुली नम्बर वान, हिरो नम्बर वान, दुल्हे राजा, राजा बाबु, आन्टी नम्बर वान लगायत २० वटाभन्दा बढी फिल्ममा एकसाथ काम गरेका छन् । 

अधिकांश फिल्ममा कादर खान गोविन्दाको पिता वा ससुरा भएर अभिनय गरेका छन् ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया