जोर्डनमा पैसासँगै सीप पनि कमाएँ

 बैशाख २६, २०७५ बुधबार १३:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

अमिसा लोप्चन/ललितपुर ।

मेरो आफ्नै टेलर्स थियो । लुगा सिलाउन जानेको थिएँ । लुगा सिलाएर मेरो ज्यान पालेको थिएँ । मेरो बहिनी जोर्डनमै थिइन् । उनले नै मलाई जोर्डनको बारेमा बताएकी हुन् । ‘सिलाइ जानेका मान्छेलाई यहाँ त राम्रो हुन्छ’ उनले फोनमा भनेको यो कुराले मलाई पनि एक पटक विदेश जानुपर्‍यो भन्ने लाग्यो ।

सन् २०१४ मा जोर्डन गएको हुँ । सिलाइको काम जानेपनि त्यहाँ जानकै लागि भनेर सीप सिकेको थिइन । काममा गएको दिन नै सिलाइ आउछ भनेर सोधे । जानेको सीप आउछ भन्दिएँ । तर कम्पनीमा वरिपरी हेरें । अरुले मेसिन चलाएको देखेर म त छक्क परें ।

नेपालमा लुगा सिलाए पनि त्यस्तो मेसिन कहाँ चलाउन सक्नु । म त त्यसै आत्तिएँ । नआत्तिएको भए चलाउन सक्थें कि । त्यहाँको वातावरणले गर्दा नै मैले सुरुमा आत्मविस्वासका साथ काम गर्न सकिन । मैले जोर्डन जानकै लागि भनेर सीप नसिक्नु  त्यसको अर्को कारण हो । त्यसैले हेल्परको काम गरें । बानी नबसेसम्म त गाह्रो नै भयो तर विस्तारै सबैकाम जानियो ।

नेपालमा हुँदा त एक जनाले नै सिङ्गो लुगा तयार पारिन्थ्यो तर त्यहाँ त एक सय ५० जना भन्दा धेरैले तयार पार्दा रहेछन् । जोर्डनमा काम गर्ने तरिका देख्दा साह्रै मज्जा लाग्ने । फरक फरक देशका मानिस । फरक वातावरण, काम गर्दा खुव खुसी हुन्थ्यें । 

जोर्डनको सबैभन्दा राम्रो कुरा भनेको त्यहाँ काम गर्ने महिलाहरु एकदमै सुरक्षित छन् । मैले कहिले पनि असुरक्षित महसुस गरिन । हिजोआज त विदेशमा महिला बेचिएका, समस्यामा परेका जस्ता खबर सुन्नु पर्छ । तर जोर्डन जाने महिलाले त्यो दुव्र्यवहार सहन पर्दैन ।

कमाइ पनि राम्रो नै हुन्छ । ओभरटाइम र टार्गेट पूरा गर्न सक्यो भने कमाइ बढी हुन्छ । म तीन वर्ष तीन महिना बसेर फर्किएको हुँ । झण्डै सात लाख रुपैयाँ बचार फर्किएँ । अब विदेश जाने योजना छैन । पटक पटक अर्काको देश जानुपनि हुँदैन जस्तो लाग्छ । एकपटक दुःख गरेर अलिअलि बचाइयो भने त्यसैको सहि सदुपयोग गर्नसक्नु पर्छ । 

जोर्डनबाट फर्किए पछि अहिले सुर्वण मल्टिपल ट्रेनिङ सेन्टर प्रालिमा जोर्डन जाने महिलालाई गार्मेन्ट तालिम दिइरहेको छु । नेपाल फर्किएर आफूले सिकेका कुरा सिकाउन पाउँदा एकदमै खुसी छु ।

सिलाउन र काट्न मात्र हैन यहाँ सिक्न आउनेहरुलाई मैले भोगेका सुख दुःयहाँ सिक्न आउनेलाई मैले भोगेका अनुभव सुनाउदै व्यवहारिक कुरा पनि सिकाउँछु ।

(अमिसा लोप्चनसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया