अशोक सिलवालको ननस्टप लाङटाङ कथा

 असार ३, २०७५ आइतबार ११:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

भूकम्पलगत्तैको लाङटाङ, त्यसैबीचकाे अवधिमा लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको कार्यक्रम राजधानीमा सम्पन्न भएको छ ।

लाङटाङ सद्भावना दूत अशोक सिलवालको आयोजनामो नेपाल पर्यटन बोर्ड (एनटीवी)को अडिटोरियम हलमा सम्पन्न कार्यक्रममा सिलवालले उनी निर्देशित ‘घर फर्किरहेका मान्छे’ र ‘लाङटाङ अपडेट : वेकिङ एन्ड वाकिङ्’ शीर्षकका दुई वृत्तचित्र प्रदर्शनमात्र गरेनन्, भुकम्पपछि पटक पटक लाङटाङ जाँदाको रोचक र मार्मिक अनुभव पनि सुनाए ।
 
‘घर फर्किरहेका मान्छे’ शीर्षकको पहिलो वृत्तचित्रमा सिलवालले उनीसँगै लाङटाङ फर्किंदै गरेका स्थानीयको कथालाई समेटेका छन् ।

दोस्रो वृत्तचित्र ‘लाङटाङ अपडेट : वेकिङ एन्ड वाकिङ्’ भुकम्पपछि लाङटाङ ट्रेक गर्दै गरेको पहिलो विदेशी पदयात्री समुहको सांकेतिक कथा हो ।‘मृत्युबाट जीवनमा फर्केको लाङटाङको लयलाई कार्यक्रममार्फत देखाउने मेरो प्रयास हो ।

भूकम्प र हिमपहिरोको वियोगबाट उठेको यो हिमालयको कथा अरु थुप्रै गाउँ र ठाउँका लागि प्रेरणा बन्नेछ’, कथावाचन र श्रव्यदृश्यसहितको कार्यक्रमको सुरुमा निकै भावुक भएर बोल्न समेत नसकेका लाङटाङ सद्भावना दूत सिलवालले हलमा सयौं अतिथी दर्शकलाई सम्बोधन गदै भने, ‘तपाईंहरुको यो बेजोड उपस्थिति भुकम्पको भयानक त्रासदीबाट उत्रेर जीवनको उज्यालोमा फर्किएका लाङटाबासीप्रतिको सम्मान पनि हो ।’ 

एनटीभीसँगको साझेदारीमा आयोजित कार्यक्रममा काठमाडौंमा अध्ययनरत लाङटाङका विद्यार्थीहरुको पनि उल्लेख्य उपस्थिति थियो । 

‘भूकम्पले पूरै बगाएको लाङटाङ अहिले पुरानै स्वरुपमा आइसकेको छ । अझ त्यसभन्दा पनि बढी सुविधासम्पन्न भएको छ ।
पहिले बिजुली बत्ती थिएन, अहिले क्यान्जीङमा उत्पादित बिजुलीले क्यान्जीङ, सिन्धुम, मुन्डु, लाङटाङ गाउँ र गुम्बा डाँडा उज्यालिएको छ । क्यान्जीङमा वाइफाई सेवा पहिलो पटक सुरु भएको छ । 

भूकम्पमा श्रीमान गुमाएकी एकजना स्थानीयले श्रीमती गुमाएको अर्को पुरुषसँग विवाह गरेर मृत्यपछि पनि नयाँ व्यवस्थित जीवन सुरु गरेको भेटें’, सद्भावना दुत सिलवालले दर्शक अतिथिलाई सोधे, ‘के यो अँध्यारोबाट उज्यालोतिरको यात्रा होइन ?’
उनले त्यसो भन्दा हलमा उपस्थित दर्शकले निकै बेरसम्म ताली बजाएका थिए । 
 
१२ वैशाख २०७२ को विनाशकारी भुकम्प र लगत्तैको हिमपहिरोपछि मानवविहीन बनेको पर्वतीय पर्यटनको एउटा विशेष केन्द्र लाङटाङमा पैदलै पुग्ने सिलवाल पहिलो पत्रकार हुन् ।

टुर÷टे«किङ गाइड एवम प्रशिक्षक समेत रहेका सिलवालले वृत्तचित्र, आलेख, अन्तर्वार्ता आदिको माध्यमबाट भूकम्पपछिको लाङटाङको वस्तुस्थितिलाई प्रकाशमा ल्याई पदयात्रा पर्यटनमा आधारित त्यहाँको हिमाली जीवनलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।

लाङटाङ क्षेत्रको पर्यटकीय पुनस्र्थापनाको लागि अभियानकै रुपमा लागिरहँदा उनलाई समग्र लाङटाङबासीको तर्फबाट लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले लाङटाङ सद्भावना दूतको उपाधिसहित सम्मान गरेर त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय हुन अझ ठूलो जिम्मेवारी दिएको थियो ।

लाङटाङ क्षेत्रको पुनस्थापनामा विशेष योगदान पुर्याएको भन्दै टे«किङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट–नेपाल)ले पनि उनलाई पुरस्कृत गरेर अझ बढी सक्रिय रहन प्रात्साहन प्रदान गरेका थिए । 

कार्यक्रममा सिलवालको लाङटाङ प्रेम र प्रस्तुति देखेपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, कवि नवराज लम्साल, चिन्तक डम्बर खतिवडा, निट–नेपालका अध्यक्ष दीपक महत, स्थानीय तेम्बा लामा आदिले सिलवालको लाङटाङ उत्खनन् र त्यसको लोभलाग्दो फलोअपको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा लाङटाङ सद्भावना दूत अशोक सिलवालले पहिलो पटक आफुसँगै लाङटाङ गएका जनार्दन खतिवडा र बलराम न्यौपानेलाई सहयात्री सम्मान गरे । भने पहिलो पटक लाङटाङ यात्राको आयोजना गर्ने निट–नेपाल, अन्तराष्ट्रिय लाङटाङ म्याराथुन प्रतियोगिता गर्दै आएको टान र भूकम्पलगत्तै गठित लाङटाङ मेनेजमेन्ट एन्ड रिक्न्सन्ट्रक्सन कमिटीका प्रतिनिधीलाई पनि सम्मान गरेका थिए ।

लाङटाङबासीको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ४ (लाङटाङ)का वडा सदस्य फिन्जो लोप्चन, ट्रेकिङ एजेन्सिज् एशोसिएसन (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, नेपाल पवर्तिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, गुरुङ् पर्यटन समाजकी अध्यक्ष कमला गुरुङ्, पर्यटन सेवा संघका अध्यक्ष रामशरण थपलिया, नेपाल पर्यटन बोर्डका सदस्य अवधेशकुमार दाश, किपका अध्यक्ष बिमल नहर्की, टानका पूर्व अध्यक्ष रमेश धमला, पर्यटन प्रहरी इकाई प्रमुख रुपा थापा, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेश सिम्खडा, एनएमए पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, एनएमए पूर्व महासचिव ठाकुरराज पाण्डे, टानका पूर्व महासचिव मोहन लम्साललगायत अधिकांश सरोकारवाला पदाधिकारीहरुको उपस्थिति थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया