मृत्युको मुखमा पुगेर बाँचेकी आस्था

 पुस २१, २०७५ शनिबार १२:४:५९ | जानुका दुवाडी
unn.prixa.net

श्रीमान र घरपरिवारले हेला गरेर एक्लिएकी आस्था थापालाई विदेशमा गएर धेरै कमाउने इच्छा थियो । तर धन कमाउन विदेश गएकी आस्थाले भुल्नै नसक्ने रोग लिएर फर्कनुपर्‍यो । जीवनमा धेरै हण्डर र ठक्कर भोगेकी आस्था धेरैका लागि उदाहरणीय व्यक्तित्व पनि हुनुहुन्छ । अब उहाँकै कथाव्यथा सुरु गरौँ ।

वि.सं. २०३८ सालमा भक्तपुरमा जन्मिएकी आस्थाको २०५४.सालमा विवाह भयो । विवाह पछि जीवन सुन्दर बनाउने धेरैको अपेक्षा जस्तै आस्थालाई पनि सुन्दर परिवारको अपेक्षा थियो, तर भएन त्यस्तो । विवाहपछि त झन् दुःख भोग्नुपर्‍यो र विदेसिनुपर्ने अवस्था आयो । 

विदेशबाट फर्किँदा धेरैजसोले चोट र व्यथा पनि साथमै लिएर आएका हुन्छन् । कतिले त जीवनभरीका लागि अपांगता र निको नै नहुने रोग लिएर पनि फर्किएका हुन्छन् । यस्तै भयो आस्थाको जीवनमा पनि । थापाले जीवनमा  सामान्य चोट मात्र लिएर आउनुभएन, गम्भीर राेग क्यान्सर पनि सँगै लिएर फर्कनुभयो । 

काठमाडौंमा घर तर भाडामा बास

आस्थाको  १६ वर्षको उमेरमा विवाह भयो । त्यतिबेला कमै महिलाले मात्र लेखपढ गर्ने अवसर पाउँथे । घर परिवारले जे भन्यो त्यही मान्नुपथ्र्यो । बुवा आमाले भनेका कुरा परिवारमा कसैले काट्न सक्दैनथे । 

आस्थाले पनि बुवा आमाको कुरा काट्न सक्नुभएन र  १२ वर्ष जेठो केटासँग २०५४ .सालमा विवाह गर्नुभयो । श्रीमानको मूल घर नुवाकोट भए पनि काठमाडौंको बालाजुमा पनि घर थियो । परिवार यतै बस्थे । 

बिहे गरेको एक वर्षपछि छोरो जन्मियो । छोरो जन्मिएपछि झण्डै एक वर्षजति आस्था परिवारसँगै बस्नुभयो । त्यतिबेला त नयाँ घरमा सहज नै भएको थियो आस्थालाई । तर बिस्तारै परिवारसँग बेमेल हुन थाल्यो । बेमेल भएपछि उहाँको श्रीमान घर बेचेर पोखरामा गएर बस्न थाल्नुभयो । आस्था २ वर्षको छोरालाई लिएर काठमाडौंमा डेरा गरेर बस्नुभयो । 

पोखरामा बसेपछि उहाँलाई परिवारका सदस्यले वास्ता गर्न छाडे ।  उहाँलाई कोठा भाडा तिर्न पनि गाह्रो हुँदै गयो । उहाँले त्यो समयमा घर परिवार र  श्रीमानसँग फोन सम्पर्क गर्न खोज्नुभयो । तर सम्पर्क हुन सकेन । न त उहाँलाई घर परिवार र श्रीमानले नै फोन गरे । 

गाह्रोमा झन गाह्रो र अप्ठ्यारोमा झन साह्रो भनेजस्तै त्यही समयमा उहाँको हात  आगोले पोल्यो । त्यहीबेला टाइफाइड भयो । हात पोलेर भएको दुखाईभन्दा  चिसो भूइँमा निसास्सिएर बस्नुपरेको दुःख उहाँले अहिलेसम्म पनि बिर्सन सक्नुभएको छैन ।  त्यतिबेला उहाँको आर्थिक अवस्था यतिकै त कमजोर थियो, झन् त्यसमा पनि उपचार र औषधिमा खर्च गर्नुपर्ने अवस्था आएपछि  त कैयौँ दिन भोकभोकै पनि  बस्नुपर्‍यो ।

यी सबै कुरा आस्थाकी आमाले थाहा पाउनुभयो अनि आफूसँगै भक्तपुर लगेर आस्थालाई राख्नुभयो ।  यो  २०६० सालतिरको कुरा थियो । त्यतिबेला द्वन्द्वका कारण युवाहरु विदेश पलायन हुने क्रम तीव्र थियो । देशमा रोजगारी पाउनु त परै जाओस्, ज्यानको समेत के हुन्छ भन्ने टुङ्गो थिएन । त्यसमा पनि  एकल र बिरामी महिलाको निम्ति त झनै अप्ठ्यारो अवस्था थियो ।  

कित्लीमा चिया बेच्ने वृद्धलाई देखेर केही गर्ने हौसला मिल्यो

आस्थाले काठमाडौंको एउटा इन्स्टिच्यूटमा सफा गर्ने काम पाउनुभयो । काम गर्न जाने क्रममा बसन्तपुरमा एक जना बुढा मान्छेले बिहान–बिहान कित्लीमा चिया बेच्ने गरेको देख्नुहुन्थ्यो ।  एकदिन चिया खाने निहुँले उहाँ त्यहाँ पुग्नुभयो । चियासँगै ती वृद्धसँग कुरा पनि भयो । ती बुबाको छोरा बुहारी द्वन्द्वमा मारिएको कुरा आस्थाले त्यतिबेला नै थाहा  पाउनुभयो । 

कुराकानीकै क्रममा आस्थाले बाबुआमा नभएका दुई नातिनातिनालाई ती बुवाले कित्लीमा चिया बेचेर पालनपोषण गरेको कुरा पनि थाहा पाउनुभयो । यस्तो बुढो मानिसले आफ्ना नाति–नातिनीका लागि दुःख गरेको, उनीहरुका सपना पूरा गर्नको लागि मेहनत गरेको देखेर उहाँमा पनि जोश र जीवनप्रतिको आशा पलायो । 

त्यतिबेला इन्स्टिच्यूटमा महिनाभरी काम गरेर आउने ३ हजार रुपैयाँले गुजारा चलाउन त निकै गाह्रो थियो । तर पनि केही नपाउनुभन्दा त अलिकति भए पनि पैसा हुने र मन भुलाउने बाटो भएको हुँदा केही समय जसोतसो कट्यो । ती बुवासँग पनि उहाँको बेलाबेला कुरा भइरहन्थ्यो र उहाँका कुराले उर्जा दिइरहन्थ्यो ।  

विदेशको यात्रा

२०६९ सालतिर  आस्थाले चिनेको एकजना दुर्गा नाम गरेकी साथी दुबईबाट आएकी थिइन् । केही समय विदेश बसेर आएकी उनी फेरि जाने विचारमा थिइन् ।

उनलाई देखेर र उनको कुरा सुनेर आस्थालाई पनि विदेश जान मन लाग्यो । जेजस्तो भए पनि एकपटक विदेशमा गएर दुःख गर्न पाए केही हुन्छ कि भन्ने महत्वाकांक्षा पलायो । त्यतिबेलासम्म छोरा स्कुल जाने भइसकेको थियो ।  छोरालाई पढाउनका लागि पनि विदेश जानुपर्ने उहाँको बाध्यता थियो । 

विदेशको बारेमा त्यति धेरै थाहा पनि थिएन । विदेश गएपछि पैसा कमाइन्छ र जीवन सहज हुन्छ भन्ने उहाँलाई लागेको थियो त्यतिखेर । जसोतसो दुबई त पुग्नुभयो तर श्रम स्वीकृति नलिइकन दलालमार्फत गएकाले धेरै दुःख भोग्नुपर्‍यो ।  

उहाँ भन्नुहुन्छ, ‘सरकारले महिलाको लागि विदेश जाने ढोका बन्द गरेकोले बाध्यताले गर्दा झ्यालबाट हाम फालेकी थिएँ अर्थात चोरबाटो विदेश गएको थिएँ, त्यसैले दुःख पाएँ ।’ 

क्लिनिकको काम भनेर दलालले विदेश पठाए पनि आस्थाले घरेलु कामदारको रुपमा काम गर्नुपर्यो । त्यहाँ उहाँले पहिलो महिनाको तलब पनि दलाललाई खुवाउनुपर्यो । उहाँले विदेश सोचेभन्दा धेरै फरक पाउनुभयो । ‘हुन त आफ्नै आँगनमा पनि नेपाली चेली बेचिएका छन् । ठगिएका छन् ।  पराइएको आँगनमा त्यो कुनै नौलो कुरा नै भएन’, आस्था भन्नुहुन्छ ।

‘परदेशमा बस्दा आमाको काख सम्झेँ’ 

आस्थाले परदेशको ठाउँमा सबैभन्दा बढी आमाको काख सम्झनुभयो । आमाको काखमा त भोकै सुत्दा पनि निद्रा लाग्थ्यो । आस्था भन्नुहुन्छ, ‘झ्यालबाट हेर्दा देखिने झिलिमिली सहरभन्दा आमाको सुन्दरता नै झलझली देखें । त्यहाँ मैले बच्चा हेर्ने, खाना पकाउने, लगायतका काम गर्थेँ । यातनाको त कुरै छाडिदिनुस् । भनेर साध्य नै छैन । एकदमै नारकीय जीवन जिउनुपर्‍यो ।’

ऋण काढेर विदेश जानुभएको थियो आस्था ।  जेनतेन त्यो ठाउँमा एक वर्ष कटाएपछि आस्थाले नयाँ ठाउँमा काम गर्न थाल्नुभयो । काम राम्रै होला जस्तो लागेर  नेपाल फर्कनुभएन  । 

क्यान्सरका कारण स्तन काटेर फाल्नुपर्‍यो, तर पनि हिम्मत हारिनन् 

उहाँले अर्को ठाउँमा काम गरेर लगभग एक  वर्षमा सबै ऋण तिरिसक्नुभएको थियो ।  दुःखै भए पनि केही हदसम्म जीवनमा अब केही राम्रो हुन्छ कि भन्ने आसा पलाउन थालेको थियो । विस्तारै आफ्नो भाविष्यका सुन्दर सपनाहरु देख्न थाल्नुभएको थियो ।

तर अचानक उहाँको स्तनमा गिर्खाहरु देखिए । सुरुमा त सामान्य होला भन्ने लाग्यो तर गिर्खाहरु दिन प्रतिदिन बढ्दै जान थालेपछि भने उहाँ डराउनुभयो । बिरानो ठाउँमा राम्ररी उपचार गराउन त्यति सहज थिएन ।

त्यसपछि उहाँ केही दिनको लागि नेपाल आउनुभयो र स्वास्थ्य जाँच गराउनुभयो । एक दुई ठाउँमा देखाउँदा रोगको वास्तविकता पत्ता लागेन क्यान्सर हो कि भन्ने शंका मात्र गरियो । तर पछि विस्तारै समस्या झन बल्झिन थालेपछि भरतपुर क्यानसर अस्पताल चितवनमा देखाउँदा क्यान्सर भइसकेको रहेछ भन्ने थाहा भयो र २०७३ सालमा स्तन नै काटेर फाल्नुपर्यो । कपाल झर्‍यो । त्यसपछि भने उहाँको विदेश जानसक्ने स्थिति पनि रहेन । 

उहाँका जीवनमा भर्खरै देखिन थालेका आशाका केही किरणहरु फेरि निराशाको घना र कालो बादलमा परिणत भए । विदेशमा कमाएको अलिकति पैसा पनि सकियो । सँगै आस्थाका जीवनका सबै आशाहरु सकिए । 

सानै छँदा बुवा गुमाउनुभएकी आस्थाको सात महिनाअघि दाइ पनि बित्नुभयो । बेला बेला ढाडस दिने दाइ पनि गुमाएपछि आस्थालाई लाग्छ, जीवनमा भोग्नुपर्ने पीडा र देख्नुपर्ने नराम्रो अब बाँकी के नै होला र ? 

समयले आस्थालाई कयाँं चोटी हार्न बाध्य बनायो । तर  उहाँले हिम्मत भने हार्नुभएन । उहाँको कसैसँग धेरै गुनासो पनि छैन, तर सुरुमै जाँच गरेको भए स्तन काटेर फाल्नु पर्दैनथियो कि भन्ने पछुतो बाहेक ।

तन गले पनि मन गलेको छैन, काम गर्ने इच्छा मरेको छैन

अहिले १९ वर्षीय छोरासँगै जोरपाटीमा बस्ने आस्थालाई तीन÷तीन महिनामा स्वास्थ्य जाँच गर्नुपर्छ । आफ्नै शरीरले बेलाबेला चुनौती दिन्छ । धेरैबेर उभिन वा काम गर्न गाह्रो हुन्छ तर पनि उहाँको जोश र कामप्रतिको लगाव भने मरेको छैन । 

अहिले उहाँ बेलाबेला विदेशमा भएका साथीहरुले गर्ने सहयोग र आफू बुढेशकालको सहारा बन्नु पर्ने आमाको वृद्धभत्ताले उपचार र दिन गुजारा गरिरहनु भएको छ ।  छोरालाई आफ्नै सहारमा बाँच्न सक्ने बनाउनु उहाँको अबको लक्ष्य हो । र छोरा नै अबको आशा पनि । 

उहाँ निको नहुने रोग र परिस्थितिसँग हारेर बस्नु भएको पनि छैन र दिनचर्या घरायसी टाकनटुकनमा मात्रै पनि सीमित छैन । सामाजिक काममा पनि उत्तिकै सक्रिय आस्था महिला बालबालिका र समाजको सकारात्मक परिवर्तनका लागि अहोरात्र क्रियाशील हुनुहुन्छ । आशाले संघर्ष गर्नु,  पीडा व्यथाहरु पन्छाएर प्राप्त अवसरको सदुपयोग गर्नुलाई नै आफ्नो जीवनको मूल मन्त्र मान्नुभएको छ ।

आस्थाले जीवनमा भोगेका धेरै कुरा बिर्सनु भएको छ । केही कुरा बिर्सनै नसक्ने छन । उहाँको बिर्सनै नसक्ने र कुराकानी गर्दा दोहर्याइरहने वाक्य हो, ‘म मृत्युको मुखमा पुगेर पनि बाँचेको मान्छे ।’  


 

अन्तिम अपडेट: चैत ९, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया