सुन्तलाले गाउँ नै पहेँलो (फोटो फिचर)

 पुस २१, २०७५ शनिबार १४:५८:५५ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको बागचौर नगरपालिका ८ र ९ कोटमौलाका गाउँहरु यतिखेर सुन्तलाले पुरै पहेँलै भएका छन् ।

बर्सेनि सुन्तला बेचेर लाखौँको आम्दानी गर्ने यहाँका किसानहरुका प्रायः सबैका घर, बारी, काल्नाहरु पहेँलै भएका सुन्तलाका बोटहरुले भरिभराउ छन् । किसानहरुले बोटबाटै धमाधम सुन्तला बिक्री गरिरहेका छन् । गएको वर्ष ३५ करोड बढीको सुन्तला बिक्री भएको सल्यानमा यस वर्ष पनि त्यही हाराहारीमा सुन्तला बिक्री हुने अनुमान छ ।

सुन्तलाको अवलोकन र बोटबाटै टिपेर लैजान भनेर व्यापारी र अन्य मानिस गरी एक सय भन्दा बढी मानिसहरु दैनिक रुपमा कोटमौला पुग्ने गरेको सुन्तला खेती कृषक अंगेश्वर डाँगीले बताउनुभयो । यहाँका किसानको मुख्य पेशा नै सुन्तला खेती भएको वडा नम्बर ९ का वडा अध्यक्ष मोहन चन्दले बताउनुभयो ।

बोटमै पुगेर सुन्तला टिपेर लैजान्छन् व्यापारी

सल्यानको कोटमौलाको सुन्तला देशका प्रमुख शहरसम्म पुग्छन । प्रमुख शहरहरुमा सल्यान सुन्तलाको ब्राण्ड बनेको यहाँको सुन्तला काठमाडौँ, नारायणगढ, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, धनगढीलगायतका शहरहरुमा नियात हुने गरेको छ ।

आफूले बर्सेनि दुई हजार क्वीन्टल बढी सुन्तला बोटमै पुगेर लैजाने गरेको धनगढीका व्यापारी लोकेन्द्र रोकायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले मैले प्रतिकेजी ४५ देखि ६० रुपैयाँसम्मका दरले किसानकै बोटमा गएर लगिरहेको छु । मंसिर र पुसको पहिलो सातासम्म अलि सस्तो पर्छ । माघ लागेपछि अलि महंगो हुन्छ ।

आफूजस्तै दर्जन बढी व्यापारी सुन्ताला किन्न किसानको बारीमै पुग्ने गरेको उहाँले बताउनुभयो । सुन्तलाको व्यावसायिक खेती गरिरहेका भरतनाथ योगीले सुन्तलाको बजारीकरणमा कुनै समस्या नरहेको बताउनुभयो ।

‘मेरो बगैँचामा हरेका ९ सय बोटमध्ये ८ सय बोट फलेका छन्’, उहाँले भन्नुभयोे, ‘तर म कहिले पनि बजार खोज्दै बेच्न गएन, व्यापारी नै बारीमै आउँछन् । अन्यत्रको तुलनामा सल्यान कोटमौलाको सुन्तला गुलियो हुने भएकोले यहाँको सुन्तलाको माग अत्याधिक रहेको छ ।’ 

सल्यानका कोटमौला, थारमारे, पिपलनेटा, मार्के, खलंगा, सेजवाल टाकुरा, हिवल्चा, फालावाङ्ग, कोटमौला, कोटवारा, भल्चौर, जीमाली, दमाचौरलगायतका साविकका १३ गाविस सुन्तला उत्पादनका पकेट क्षेत्र भएपनि जिल्लाभर सुन्तला खेती हुने गरेको छ । सल्यानमा उत्पादित सुन्तला झण्डै ८० प्रतिशत जिल्ला बाहिरका बजारमा निकासी हुने गर्छ भने बाँकी स्थानीय बजारमा खपत हुने गरेको छ । 

कोही पनि जाँदैनन् विदेश र कालापहाड

सल्यानको कोटमौलामा व्यावसायिक रुपले सुन्तला खेती गरिरहेका किसाहरुलाई सुन्तला आम्दानीको राम्रो श्रोत बनेको छ । प्रत्येक किसानले १० लाखदेखि ३५ लाखसम्म आम्दानी गर्ने गरेको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताउनुभयो ।

 

‘हिउँदमा बिक्री गर्न र अन्य मौसममा सुन्तलाको गोडमेलमै यहाँका किसानको दिनचर्या बित्छ’, मेयर बुढाथोकीले भन्नुभयो, ‘अन्य गाउँमा विवाह र मलामी जाँदा पुरुष भेटिँदैनन् । यहाँ त सबै घरमै हुँदा सजिलो छ ।’ 

नगरपालिकाले अहिले सुन्तला उत्पादक किसानको विवरण राख्ने तयारी गरेको उहाँले बताउनुभयो । किसानको लागत राखेपछि नगरपालिकाबाट दिइने सेवा, वृत्ति विकास, दिगो व्यवस्थापन, करलगायतको व्यवस्थापन गर्न सहज हुने उहाँले बताउनुभयो । कोटमौलामा सुन्तला महोत्सव लगाउने कुरा भएको भए पनि प्राविधिक व्यवस्थापनको कारण यसवर्ष गर्न नसकिएको उहाँले बताउनुभयो ।

कसरी पुग्ने कोटमौला ?

दाङको तुलसिपुरबाट झण्डै ८० किलोमिटर राप्ती राजमार्ग अन्र्तरगत दाङ रुकुम खण्डको यात्रा गरेपछि सल्यानको थारमारे र बागचौर पुगिन्छ । त्यहाँबाट सल्यानको स्थानीय शारदा खोला तरेर बागचौर कोटमौला रोल्पा सडकखण्डबाट ५ किलोमिटर पूर्व  यात्रा गरेपछि कोटमौला पुगिन्छ ।

बोटमै पुगेको कसैलाई पनि खाएर पैसा नलाग्ने तर किनेर पैसा लाग्ने गरेको सुन्तला कृषक टोपबहादुर डाँगीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया