रुकुम–डोल्पा गाडी चल्न थाल्यो

 पुस २२, २०७५ आइतबार ११:५०:३७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जाजरकोट–डोल्पा सडक अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, गोतामकोटदेखि डोल्पा सदरमुकाम दुनैसम्म गाडी चल्न थालेका छन् । गोतामकोटबाट गाडी चढेका यात्रु झण्डै ५ घण्टापछि दुनै पुग्ने गरेका छन् ।  

सडकका विभिन्न ठाउँमा पर्ने खोला र ठूलीभेरी नदीको कारण गोतामकोटदेखि दुनैसम्म चल्ने एउटै गाडी भने गोतामकोटबाट सिधै दुनै पुग्दैन । गाडी फेर्दे यात्रुहरु गोतामकोटबाट डोल्पाको दुनैसम्म पुग्ने गरेका छन् । अघिल्लो वर्ष गोतामकोटदेखि डोल्पाको हरियापानीसम्म मात्रै गाडी चल्ने गरेको भए पनि यो वर्षदेखि भने दुनैसम्म नै गाडी चल्न थालेका हुन् । 

गोतामकोटबाट तीन वटा गाडी परिवर्तन गरेर मात्रै यात्रु दुनै पुग्ने गर्छन् । एक हजार चार सय ५० रुपैयाँ भाडा तिरेर यात्रुले गोतामकोट–दुनै यात्रा गरिरहेका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, गोतामकोटबाट डोल्पाको त्रिपूराकोट नगरपालिका हरियापानीसम्म पहिलो गाडी लाग्छ । यो खण्डमा यात्रा गर्दा एकजनाले यात्रुले सात सय भाडा तिर्नुपर्छ । यो खण्डमा रेमन यातायात प्रालिले दैनिक ६ देखि ८ वटा सम्म जीप सञ्चालन गरेको छ । 

गोतामकोटबाट ३ घण्टाको गाडी यात्रापछि हरियापानी ओर्लेर डोल्पाको खदाङ पुग्ने यात्रुले खदाङबाट डोल्पाकै त्रिपूराकोट पुग्ने अर्को गाडी चढ्नु पर्छ । तीन सय ५० रुपैयाँ प्रतियात्रु भाडा लाग्ने यस खण्ड डेढ घण्टाको बाटो हो । त्यसपछि त्रिपूराकोटबाट दुनै पुग्न एउटा यात्रुबाट यातायात व्यवसायीले ४ सय रुपैयाँ लिने गरेका छन् । झण्डै २ घण्टामा त्रिपूराकोटबाट दुनै पुग्न सकिन्छ । 

समस्या कायमै

जाजरकोट–डोल्पा सडक अन्तर्गतको सडकको पुरै ट्रयाक खोलिए पनि खोला तथा ठूली भेरी नदीमा पुल नबन्दा समस्या छ ।

धेरै ठाउँका खोला र ठूली भेरी नदीमा पुल नबनेकै कारण सर्वसाधारणलाई गाडी फेर्दै यो खण्डमा यात्रा गर्नुपर्ने बाध्यता भने कायमै छ । सडक जोडिए पनि पुल नबन्दा समस्या कायमै रहको सर्वसाधारणको गुनासो छ । सडक निर्माणसँगसँगै पुल पनि बनाउन थालिएको भए धेरै खोलाको पानीमा गाडी हिँडाल्नुपर्ने बाध्यता हुने थिएन । पुल बनाउने सुरसार अहिले पनि नथालिएकाले केही बर्वा सर्वसाधारण यात्रुले यसरी नै दुःख पाउनुपर्ने अवस्था रहेको छ । 

आठबीसकोट नगरपालिका–४, को गोतामकोटदेखि ६ नम्वर वडासम्म पुग्दा मात्रै २ वटा खोलामा पुल बनेका छैनन् । रेजेगार, उसुमखोलामा पुल नबन्दा हिउँदमा गाडी खोलामै हिँड्छन् भने वर्षामा भने गाडी वारिका वारि, पारिका पारि नै रहन्छन् । डोल्पाको हरियापानी पुगेपछि यात्रुहरु झोलुङ्गे पुलमार्फत ठूली भेरी तरेर खदाङ पुग्ने गरेका छन्  । 

खदाङबाट त्रिपुराकोट पुग्दासम्म चौगार खोला, छलगार खोला, गल्लीगार खोला तर्नुपर्छ । त्रिपुरकोटबाट दुनै पुग्दा पनि सुपपानी हुँदै रुपगारखोला तरेपछि मात्रै गन्तव्यमा पुग्न सकिन्छ । गोतामकोटबाट गाडि फेरेरै भए पनि दुनै पुगिने भएपछि यस रुट भएर त्यता जाने तथा झर्नेहरु बढेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया