उज्यालो सहकर्मी अच्युत घिमिरे ‘बुलबुल’ यूएईमा सम्मानित

 पुस २२, २०७५ आइतबार १४:६:३२ | उमाकान्त पाण्डे

यूएई – उज्यालो रेडियो नेटवर्कका कार्यक्रम संयोजक तथा चर्चित रेडियोकर्मी अच्युत घिमिरे ‘बुलबुल’ यूएईमा सम्मानित हुनुभएको छ । रेडियोमा साहित्यिक कार्यक्रममार्फत चर्चा बटुलेका घिमिरेलाई नेपाली साहित्यमा गरेको योगदानको कदरस्वरुप यूएईमा सम्मान गरिएको हो । 

नयाँ वर्ष २०१९ को अवसरमा यूएईमा आयोजना गरिएको शुभकामना साँझ कार्यक्रममा घिमिरेलाई सम्मान गरिएको हो । यूएईमा बसेर साहित्यमा सक्रिय रहेका नेपालीहरुको सिर्जना वाचन डबलीले घिमिरेलाई सम्मान गरेको हो । 

घिमिरेलाई यूएईका लागि  नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुंयाँलले दोसल्ला ओढाएर तथा ताम्रपत्र प्रदान गरेर सम्मान गर्नुभएको हो । त्यस्तै यूएईमा नेपाली ब्यवसाय गर्दै आउनु भएका डा. दिनेश आचार्यलाई पनि डबलीले सम्मान गरेको थियो । यूएईमा नेपाली समुदाय अन्तर्गत पहिलो दर्ता भएको सस्था ‘हामी नेपाली’का अध्यक्ष डा. आचार्यलाई कार्यवाहक फुयाँलले दोसल्ला ओढाएर तथा ताम्रपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो । 

३२ महिना पहिलेबाट सञ्चालित सिर्जना वाचन डबलीको १५ औँ शृङ्खला अन्तर्गत गएको शुक्रबार दुबईमा आयोजित कार्यक्रममा सहभागी हुन घिमिरे यूएई आउनु भएको थियो । त्यसै अवसरमा उहाँलाई सम्मान गरिएको कार्यक्रम संयोजक जे सागरले जानकारी दिनुभयो ।  

बर दुबईमा रहेको एभरेस्ट क्लबमा आयोजित शुभकामना साँझ कार्यक्रम झण्डै २ सय जना नेपालीको उपस्थिति थियो । गायक राज सिग्देलको गायकी र झन्डै २ दर्जन साहित्य अनुरागी स्रस्टाहरुले आ–आफ्ना साहित्यिक रचना वाचन गर्नुभएको थियो । 

कार्यक्रममा यूएईमा रहेका विभिन्न नेपाली संघसस्थाका प्रतिनिधि, व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली दूतावास आबुधाबीका कार्यवाहक राजदूत फुयाँलसहित श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसालसमेत सहभागी हुनुहुन्थ्यो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया